२०८१ श्रावण १
                           

खेलकर्मीको नजरमा खेलकुद बजेट

नेपाल सरकारले खेलकुदमा छुट्याउने बजेट अपर्याप्त छ जसले गर्दा समग्र खेलकुद गतिविधिमा असर पुगिरहेको छ भन्ने भनाई खेलकुद क्षेत्रको नेतृत्व गर्नेहरु बाट सधै सुनिने गरिन्छ । तर खेलकुदको लागि भनि जति वार्षिक बजेट बिनियोजन हुन्छ, त्यो कति खर्च गर्न सकिरहेको छ भन्ने तर्फ पनि ध्यान दिनु जरुरी देखिन्छ । समग्र राष्ट्रिय बजेटकै पूंजीगत खर्च पनि सन्तोषजनक नभएको धेरै वर्ष भईसकेको छ । खेलकुदमा बिनियोजित बजेट अधिकतम रुपमा खर्च गर्न नसक्नुका कारण खोज्नुपर्ने बेला आएको छ । राष्ट्रिय खेलकुद परिषदले दक्ष र तालिमप्राप्त जनशक्तिको भर्ना नलिएको पनि लामो समय भईसकेको छ । कुनैपनि संगठनमा पूर्व निर्धारित लक्ष्य प्राप्तिका निम्ति आसेपासे, नातावाद र कृपावाद बाट नियुक्त गरिएका कर्मचारीहरुको कार्य गराई र बुझाई पनि बाधक तत्व हो ।

मुलुकका अरू क्षेत्रमा जस्तै खेलकुदमा पनि राजनीतिक हस्तक्षेप चुलिएको छ, जसका कारण प्रतिभा पलायन बढ्दो छ । कतिपय खेलकर्मीले सधैं अवसर पाइरहने तर कतिपय खेलकर्मी प्रतिभावान् भईकन पनि ओझेलमा पर्ने गरेका उदाहरण प्रशस्त छन् जसले गर्दा समग्र खेल क्षेत्रको मनोबल घट्दै गएको छ । केही समयपहिले देखि अत्यन्तै सक्षम, सफल र करियरको उच्चतम बिन्दुमा रहेका ख्याति प्राप्त थुप्रै राष्ट्रिय फुटबल खेलाडी नेपालमा भविष्य सुनिश्चित नदेखेर अस्ट्रेलिया पलायन भईरहेका छन् ।

अर्कातिर, नेपाली खेलकुदले नैतिकतावान् र इमानदार खेलकुदकर्मीको अभाव झेलिरहेको छ । कतिपय व्यक्ति सदाबहार रूपमै खेल क्षेत्रमा स्थापित छन् । कतिसम्म भने, एउटै व्यक्तिले धेरै वटा खेलकुद संस्थाको नेतृत्वमा हैकम जमाइरहेको देख्न सकिन्छ । नियम, विधानले अवरोध गरेको अवस्थामा एउटा संघमा नेतृत्व गरिरहेको व्यक्तिलाई एकरत्ति ज्ञानै नभएको अर्को संघको नेतृत्वमा पनि हामीले देखेका छौं । आफू नेतृत्वमा पुगिसकेपछि विभिन्न बखेडा झिकी त्यसैमा टाँसिइरहने स्वभावले नेपाली खेलकुदमा धेरै सक्षम व्यक्तिले अवसर पाउन सकेका छैनन्, चाकडी र चाप्लुसी बढ्दै गएको छ । त्यस्ता व्यक्तिले खेल र खेलाडीको उन्नतिभन्दा आफ्नो फाइदालाई प्राथमिकतामा राख्दा नेपालको खेल क्षेत्र अन्य पेसा–व्यवसायभन्दा पछाडि त परेको छ नै, आम जनताले दिने मानसम्मान, इज्जतमा पनि कमी हुँदै गएको छ ।

नेपालको खेलकुद गतिविधिको विकास, प्रवद्र्धन र सहयोगका लागि बजेट विनियोजन महत्वपूर्ण पाटो हो । आर्थिक वर्ष २०८१/८२ का लागि युवा तथा खेलकुद मन्त्रालयलाई ३ अर्ब ५० करोड बजेट विनियोजन भएको छ र यो चालु आ.व. भन्दा ६३ करोड ४१ लाखले बृद्दि भएको हो । यसपालि खेलकुदमा छुट्याईएको बजेट पर्याप्त नभएतापनि सन्तोषजनक नै मान्नु पर्दछ ।

नेपालमा क्रिकेटको बढ्दो लोकप्रियता र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा हालैका दिनहरूमा प्राप्त सफलतालाई हेर्दा यसपालिको बजेटमा सरकारले क्रिकेटलाई विशेष प्राथमिकता दिएको देखिन्छ । गौतम बुद्द अन्तराष्ट्रिय रंगशाला, त्रिवि क्रिकेट मैदानसहित विभिन्न ठाउँका क्रिकेट रंगशालाको पूर्वाधार निर्माणमा बजेट छुट्याइएको छ । पछिल्लो समय क्रिकेट खेलमा पाईरहेको सफलता र यसमा बढीरहेको क्रेजलाई मध्यनजर गर्दै क्रिकेट खेल लगायतको पूर्वाधार विकासमा एक अर्व ३० करोड बजेट विनियोजन गरिएको पाईएको छ ।

यसका साथै सुर्खेतमा हुने १० औ राष्ट्रिय खेलकुदको लागि भनी ६० करोड विनियोजन गरिएको छ । यो बजेटमा महिला खेलाडीहरुलाई प्रोत्साहन गरिने कार्यक्रमहरु ल्याउने र नेपालको मौलिक एवं परमपरागत खेलहरु बाघचाल, डण्डीबियो जस्ता खेलहरुको प्रवर्दन गरिने कुरा उल्लेख हुन सकारात्मक पाटोहरु रहेको छ । निजी संघ-संस्था तथा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमलाई खेलकुदसंग जोड्डै लगिने कुरा पनि यो बजेटले गरेको सकारात्मक पक्ष हो ।

खेलकुदमा आएको बजेट कार्यान्वयन हुन नसकेमा खेलकुद विकासका निम्ति खेलकुदलाई बजेट भएन, पुगेन भनेर खेलकुद क्षेत्रमा नेतृत्व गर्नेहरुको बहानाबाजी मात्र हो भन्ने पुष्टि हुनेछ । आर्थिक बर्ष २०८०/८१ को बजेटमा विनियोजिट रकम पुरै खर्च हुन नसकि फ्रिज भएको अवस्था छ तसर्थ बजेट कार्यान्वयनमा बिशेष ध्यान दिई योजनबद्द तरिकाले अगाडि बढेको खण्डमा मात्र आ.व  ०८१/८२ को लागि बढेर आएको बजेट बढी भन्दा बढी कार्यान्वयन हुने अवस्था आउनेछ ।

त्यसैगरी विधालयस्तरमा खेलकुदलाई महत्व दिलाउनका निम्ति शिक्षकलाई खेलकुदको तालिम दिई विधालयमा खेलकुद प्रवर्दन गर्ने विषय पनि सराहनिय रहेको छ । नेपालमा खेलकुदलाई अतिरिक्त क्रियाकलापका रूपमा मात्र लिने गरिएको छ, जसमा परिवर्तन ल्याउनुपर्ने देखिन्छ । राष्ट्रको इज्जत, प्रतिष्ठा र गौरव भनिए पनि पढाइभन्दा खेलमा रुचि देखाउने बालबालिकालाई नकारात्मक भावले हेर्ने प्रवृत्ति यथावतै छ । यस्तो चेतनाले खेलकुदको विकास र विस्तारमा अवरोध खडा गरेको छ । खेलकुदलाई व्यावसायिक बनाउन विद्यालय–विश्वविद्यालयको पठनपाठनमा तत्काल समावेश गर्नुपर्छ जसले गर्दा धेरै खेलकर्मीले रोजगारी पाउन सक्छन् र समग्र खेलकुद क्षेत्र नै चलायमान बनाउन मद्दत पुग्नेछ ।

राजनविक्रम प्रजापति
पूर्व राष्ट्रिय बक्सिङ खेलाडी
तथा
अन्तराष्ट्रिय रेफ्रिजज

 

प्रतिक्रिया दिनुहोस्