२२ असार , सिन्धुपाल्चोक ।भोटेकोशी गाउँपालिका–४ हिन्दीमा निर्माणाधीन भोटेकोशी–१ जलविद्युत् आयोजनाको ढलान खसेर बेपत्ता भएका दुई मजदुरको १३ घण्टापछि शव फेला परेको छ ।शुक्रबार करिब २ बजे घटना भएलगत्तै उद्धारकार्य थालिए पनि बिहान चार बजे मात्रै मृत अवस्थामा उनीहरुलाई भेट्टाइएको हो । आयोजनाको डिसेन्डर कभर स्ल्याबमा च्यापिएर ज्यान गुमाउनेमा बर्दिया नगरपालिका रामजिन थारु र सुमन थारु छन् ।
उनीहरुको शव पोस्टमार्टमका लागि काभ्रेस्थित धुलिखेल अस्पताल पठाइएको जोशीले जानकारी दिए । ढलानको संरचनाभन्दा तल्लो भागमा उनीहरू फसेकाले निकाल्न अप्ठ्यारो भएको थियो । दुर्घटनामा ११ जना घाइते भएका छन् । गत बर्षको साउन महिनाबाट निर्माण सुरु गरिएको भोटेकोशी–१ जलविद्युत्को सुरुङभन्दा माथि शुक्रबार मजदुर काम गरिरहेको समयमा एक्कासी स्ल्याब भत्किएको थियो । जिल्ला प्रहरी नायव उपरीक्षक निरञ्जन भट्टराईले १३ जना फसेकामध्ये ११ जनाको उद्धार गरिएको बताए । उनले अधिकाशंको टाउको ,पेट र हातपाउमा चोट लागेको बताए ।
घाइतेमध्ये एकको अवस्था गम्भीर छ । केहीको बाह्रबिसेस्थित किस्टोन र बाह्रबिसे नगर अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई धुलिखेल रेफर गरिएको डीएसपी भट्टराईले बताए । उनका अनुसार घाइते हुनेमा दोलखाका बढी छन् । दोलखाका रामचन्द्र रिमाल, साइला थामी, गोपाल थामी, पदम थामी, विजय थामी, विशाल थामी, बर्दियाका दुर्गा थारु, रोल्पाका साशन थापा, इलामका शाकबहादुर श्रेष्ठ छन् ।
बर्दियाका लाहनु थारुको अवस्था गम्भीर भएको स्वास्थ्यकर्मीले बताएका छन् । भोटेकोशी १ आयोजनाले चीनसँग सीमा जोडिएको भोटेकोशी गापा १, ३, ४ र ५ वडाको करिब ४ दशमलव २५ हेक्टर जमिन प्रयोग गर्ने अनुमति पाएको थियो । आयोजना इलेक्ट्रिको पावर कम्पनी लिमिटेडले करिब ८ अर्बको लागतमा निर्माण गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्