२०८१ श्रावण १
                           

नियात्रा : क्यान्कुन डायरी

पुण्यप्रसाद न्यौपाने- पश्चिमी गोलार्धको अति प्रसिद्ध पर्यटन गन्तव्य मेक्सिकोको क्यान्कुन पहिले मैले त्यति सुनेको नाम होइन । पछिल्लो पटक अमेरिका गएको बेला क्यान्कुन जाने निश्चय भएपछि त्यस ठाउँको बारेमा निकै जिज्ञासु भएर सोधखोज गर्न थालें । सुन्दै-बुझ्दै जाँदा थप बुझ्ने देख्ने उत्कण्ठा बढ्दै गयो । जाने अघिल्लो साँझसम्म उत्सुकताको पारो निरन्तर बढ्ने क्रममै थियो । अन्ततः प्रस्थान गर्ने क्षण आयो । २०२३ डिसेम्बर २४ तारिख हामी बिहान सबेरै परिवारको साथ मिनियापलिसको इगनबाट MSP international एयरपोर्ट पुग्यौं । बिहान पाँच बजेको फ्रन्टियर एयरलाइन्सको उडान टिकट थियो ।

अन्तर्राष्ट्रिय उडान भएकोले दुई तीन घण्टा अगावै एयरपोर्ट पुग्नु पर्ने । त्यसैले पौने तीन बजे नै घरबाट निस्केका थियौं हामी । यात्रा टोलीमा हामी दुई जनासहित ज्वाइँ उम्मिद, छोरी अपेक्षा, नातिनी लेया र नाति आर्हान थिए । करिब पाँच घण्टाको उडान पश्चात् विमान तोकिएकै समयमा अर्थात् करिब १० बजे क्यान्कुन एयरपोर्टमा उत्रियो । मिनियापलिस र क्यानकुन एकै टाइम जोनमा पर्छन् ।

क्यान्कुन अति नै व्यस्त अन्तर्राष्ट्रिय विमानस्थलमा पर्दछ । धेरै देशका अनेकौं एयरलाइन्सले यहाँ उडान भर्छन् । अराइभल लाउन्जमा यात्रीको भिडभाड थियो । त्यसै गर्दा अध्यागमनबाट भिसा लिन लामो लाइनमा उभिएर निकै बेर प्रतीक्षा गर्नुपर्‍यो । अमेरिकी पासपोर्ट होल्डर र अमेरिकाको भ्यालिड मल्टिपल इन्ट्री भिसा हुनेहरूलाई मेक्सिको सरकारले फ्री अन – अराइबल भिसा दिँदो रहेछ । एयरपोर्टबाट हामीले बुकिङ गरेको रोयल स्यान्ड्स होटल पुग्न करिब १५ किलोमिटर ड्राइभ गर्नु पर्थ्यो । क्यारेबियन समुद्रको किनार स्थित सो होटलमा करिब सवा १२ बजेतिर चेकइन गरियो । होटलका वरिष्ठ कर्मचारी अल्फोन्सोले हामीलाई स्वागत गर्दै होटलमा उपलब्ध विभिन्न सेवा सुविधाको बारेमा जानकारी गराए ।

हामीहरूको आग्रहमा अल्फोन्सोले व्यवहारमा ज्यादा प्रयोग हुने स्वागतम, नमस्कार, धन्यवाद जस्ता शिष्टाचारका केही साधारण स्पेनिस शब्दहरू सिकाए । स्पेनिस मेक्सिकोको राष्ट्र भाषा हो र ९० प्रतिशत मेक्सिकनहरू स्पेनिस भाषा बोल्छन् । १६ रौँ शताब्दीमा स्पेनले उपनिवेश बनाएपछि मेक्सिकोमा स्पेनिस भाषा प्रचलनमा आएको रहेछ । युकाटन प्रायद्वीपको पूर्वपट्टिको समुद्र तटमा फैलिएको ‘होटल जोन‘ मै अवस्थित छ रोयल स्यान्ड्स होटल ।

अमेरिका, क्यानडा र पश्चिम युरोपका पर्यटकलाई लक्ष्य गरेर निर्माण गरिएको क्यानकुन सिटी एक अति व्यस्त र उच्च स्तरीय पर्यटक हबको रूपमा परिचित छ । यसले छोटो अवधिमै विश्व पर्यटन बजारमा लोकप्रिय गन्तव्यको पहिचान प्राप्त गरेको हो । संसारका विभिन्न मुलुकबाट यहाँ वर्षिनी दशौँ लाख पर्यटक भित्रिन्छन् । सन् २०२२ को एकै बर्षमा क्यान्कुन भ्रमण गर्ने पर्यटकको संख्या झन्डै ९५ लाख (९.४९ मिलियन) पुगेको तथ्याङ्क रहेछ । त्यस वर्ष सबैभन्दा धेरै पर्यटक अमेरिकाबाट (छपन्न लाख) आएछन् । यसको दोस्रो ठूलो स्रोत मुलुक क्यानडा हो । अमेरिका र क्यानडालगायत चिसो मुलुकका पर्यटकहरू यहाँको न्यानो र लोभलाग्दो वातावरणबाट सम्मोहित हुँदा रहेछन् ।

क्यान्कुनको मसिनो सेतो बालुवा भएको शानदार समुद्र तट, अति मनोरम मौसम, स्वच्छ र सफा पानी पर्यटकका निम्ति भारी आकर्षणका तत्त्व हुन् । यस्तै गरी चित्ताकर्षक नीला समुद्र, स्वच्छ हावा, भरपर्दो सडक र हवाई सञ्जाल, उच्च कोटीका होटलहरू साथै पर्यटकका रुचि र चाहना अनुसारका नाइट क्लब, क्यासिनो र थरिथरिका जल क्रीडाका लागि पनि यो ठाउँ अति प्रसिद्ध छ । यी यावत कुराहरूले गर्दा नै क्यान्कुन विश्व पर्यटन बजारमा प्राथमिक सूचीमा पर्न सफल भएको हो ।

साँच्चै क्यानकुन प्रकृतिप्रेमी र साहसिक यात्रीको निमित्त स्वर्ग नै मानिन्छ । यो ऐतिहासिक र सांस्कृतिक सम्पदाले पनि धनी रहेछ । त्यहाँ प्राप्त भएका प्राचिन स्मारक र अन्य अवशेषहरूले हजारौँ वर्ष पुरानो माया सभ्यताको इतिहास र संस्कृतिको परिचय दिइरहेका छन् । कुनै समयमा मेक्सिकोको सबैभन्दा गरिब क्षेत्र क्यान्कुन आज हलचलपूर्ण आधुनिक नगर र वर्षेनी असङ्ख्य पर्यटक भित्र्याउने सम्पन्नशाली पर्यटक हब बनेको छ । ‘होटेल जोन’ क्यान्कुन सिटीको प्रमुख पर्यटकीय केन्द्र हो । पूर्वमा क्यारेबियन सागर, पश्चिममा निचुप्ते तालको बीचमा उत्तर दक्षिण फैलिएको टापुको रूपमा अवस्थित छ क्यान्कुनको होटल जोन । अहिले सुन्दा आश्चर्य लाग्छ कि यति सुन्दर र व्यस्त क्यानकुन शहर पचास वर्ष अगाडि सम्म सुनसान जस्तै रहेछ, बाहिरी दुनियाको निम्ति बेखबर ठाउँ ।

क्यानकुन सुन्दर त छँदै छ, सारै खर्चिलो पनि छ । कोजुमेल, इस्ला मुजेरस, होल्बक्स, क्यान्कुन नजिकका अन्य शहर हुन् । माया सभ्यता अध्ययनका निमित्त यी सबै ऐतिहासिक स्थलहरू अति महत्त्वपूर्ण मानिन्छन् । फरक सांस्कृतिक अनुभवको निमित्त पनि यी ठाउँहरू पर्यटकका आँखाका नानी बनेका हुन् ।
स्पेनिसहरूले कब्जा नगर्दासम्म मेक्सिकोलगायत मध्य अमेरिकी राष्ट्रहरू – ग्वाटेमाला, हन्डुरस, एल साल्भाडोर, निकारागुवा र कोष्टारिकाका मानिसहरू आफ्नै मौलिक भाषा बोल्थे । पछि स्पेनिस भाषाले ती भाषालाई विस्थापित गरेको हो । पेसो मेक्सिकन मुद्राको नाम हो । यहाँको प्रमुख खाद्यान्न मकै रहेछ । वास्तवमा मकै मेक्सिकोबाटै विश्वभर फैलिएको विश्वास गरिन्छ । टाकोज, बुरिटो, ग्वाकमोले आदि मेक्सिकोका मौलिक खाद्य परिकार हुन् । मेक्सिकन खानाको स्वाद नेपाली स्वाद सँग धेरै मिल्छ । मेक्सिकनहरूको अनुहार र जिउडाल पनि नेपाली अनुहार र जिउडाल सँग मिल्दोजुल्दो छ । त्यसैले त धेरै अमेरिकीहरू नेपालीलाई देखेर मेक्सिकन भन्ठान्छन् ।

हामी क्रिसमसको अघिल्लो दिन क्यान्कुन पुगेका थियौं । तर त्यहाँको होटल जोन क्रिसमसको स्वागतार्थ पहिले तम्तयार भएर बसेको रहेछ । विशेष किसिमले सजिसजाउ र ग्राहकले भरिभराउ छन् सबै होटल र रिसोर्टहरू । समुद्र तटमा खुट्टा टेक्ने ठाउँ छैन । बालबालिका, तरुनातरुनी, वृद्धवृद्धा सबै प्रकृतिसँग दोस्ती गाँसी रहेका छन् । लेट लन्च गरेर हामी पनि अन्य पर्यटक जसरी समुद्र तटमा बसेर त्यहाँको मनोरम प्राकृतिक वातावरणमा रमायौँ । नातिनातिनाहरूले बीच र स्विमिङपुलमा खुब मस्ती गरे । साँझ क्रिसमसको उपलक्ष्यमा होटलद्वारा पाहुनाका निमित्त आयोजित विशेष सांस्कृतिक कार्यक्रम र रात्री भोजमा सहभागी भयौं ।

० ० ० ०

दोस्रो दिन बिहान सबेरै समुद्र तटमा खाली खुट्टा हिंड्न तम्सियौं । सफा, सेतो र मसिनो बालुवाले ढाकेको समुद्र तटमा हिंड्दा बाक्लो गद्दामा हिंडेको अनुभूति भैरहेको छ । चिसो पानीका अग्ला र सेता छालहरू हिंडिरहेका यात्रुलाई प्रेमले गम्लङ्ग अँगालोमा बेर्न खोजे जसरी टाढाबाट हुत्तिएर आउँछन् र किनारामा ठोक्किएर विलीन हुन्छन् । यो उपक्रममा समुद्रको नजिक किनाराबाट हिंडिरहेका मान्छे निथ्रुक्कै भिज्छन् पनि । बिहानैदेखि समुद्र तटमा चहलपहल छ । प्रातकालीन भ्रमणमा निस्कनेहरूको लामा लामा लस्कर । स्विमिङ पुल र समुद्र किनारामा बनाइएका हट वरिपरि टन्नै आरामदायी कुर्सी । खाली कुर्सीहरूमा तौलिया र फ्लाग राखेर आफ्नो आसन सुरक्षित गर्नेहरूको सक्रियता पनि हेर्न लायक छ । राम्रो उज्यालो हुँदा नहुँदै छानीछानी सिट ओगटिसकेको देखिन्छ । त्यो पहिलो बिहान भएकोले पन्ध्र बीस मिनेट जति मात्र समुद्र किनारमा बितायौं ।

नुहाइधुवाई सकेपछि रेस्टुरेन्टमा गएर ब्रेकफास्ट गर्ने काम भयो । ब्रेकफास्टदेखि लन्च, डिनर सबै बफे सेटअपमा सजाएर राख्ने प्रबन्ध थियो । ब्रेकफास्टपछि अरू पर्यटक सरह हल्का र सजिलो पोशाकमा लेया र आर्हानलाई पनि साथै लिएर बीचतर्फ लम्कियौं । लेया र आरी स्विमिङ गर्न भनेपछि भुतुक्कै हुने । उनीहरू पानीमा झ्वाम्मझ्वाम्म हाम फालेर पौडिन थाल्छन् । हामीहरू पनि शीतल छहारी भएको ठाउँ खोजेर बस्छौँ । अनि आआफ्नै किसिमले विशाल आकाश र फराकिलो समुद्रमा काल्पनिक संसार रचना गर्दै त्यसमै विचरण गर्न निमग्न हुन्छौं ।

किनारका उपस्थित जनसमूहका गतिविधि उपर पनि बेलाबखत दृष्टि पर्दछ । दिनभरजसो स्विमिङ पुल र समुद्र तटमा मानिसहरूको अधिक आउजाउ भैरहने हुनाले मेला लागिरहेको भान हुन्छ । खाने खाइरहेका, पिउने पिइरहेका, खेल्ने खेलिरहेका र पढ्ने पढिरहेका छन् । बोटिङ, स्काई राइडिग भलिबल आदि विभिन्न खेलहरू पनि भैरहेका देख्न सक्छौँ । सनबाथ गर्नेहरूको पनि कमी छैन । उनीहरू सबै आआफ्नै रुचि र चाहना अनुसार समयको उपयोग गरिरहेका छन् । बाँकी दुनियाँ सँग बेखबर रहेर आआफ्नै सुर तालमा रमाई रहेका छन् ।

साँझपख शहर घुम्न निस्कियौं । डुल्दै केही मलहरूमा पुगियो । तत्काल आवश्यक भएका सामानहरू थोरथोरै खरिद गरियो पनि । बेलुकाको खाना एउटा इटालियन रेस्टुरेन्टमा खाएर त्यो दिनको कार्यक्रमलाई बिट मार्दै होटल फर्कियौं ।

हामी मध्ये कसैला पनि समुद्र तटको मज्जा लिन पुगेको छैन । तसर्थ अघिल्लो दिनमा भन्दा पनि छिटो अर्थात् बिहान सबेरै उठेर अरुले जसरी पुलसाइट र बीचमा राखिएका कुर्सीमा आफूलाई होटलले दिएको झण्डा र तौलिया राखेर स्थान सुरक्षित गरिन्छ । तत्पश्चात् ताजा हावाको मज्जा लिंदै र समुद्रको उर्लंदो छाल र सूर्योदयको मनोरम दृश्य अवलोकन गर्दै करिब आधा घण्टा समुद्र तटमा खाली खुट्टा हिंडिन्छ । भेटेसम्मका मानिसहरूलाई अभिवादन स्वरूप – “ओला, वेनस दियास (हेलो, गुड मार्निंङ्)” भन्न छुटाइन्न ।

समुद्रतटीय भ्रमणलाई छोट्याएर सडकमा निस्किन्छौँ । सुन्दर फूल र हरियालीयुक्त सडकका दुबैतिर सफा पैदल मार्ग, टिलिक्क टल्कने ब्रान्डेड गाडीहरू गुडिरहेका, भव्य सपिङ मलहरू, विशाल होटल र रिसोर्टहरू र पर्यटकहरूको बाक्लो उपस्थिति । यी दृश्यले क्यान्कुनको फस्टाउँदो अर्थतन्त्रको झलक प्रस्तुत गरिरहेको आभास हुन्छ । होटल फर्केर नुहाइधुवाई गरेर फ्रेस भएपछि हामी सबै ब्रेकफास्टमा सरिक हुन्छौं । ब्रेकफास्ट पछि पनि पुनः समुन्द्रले तान्छ । स्विमिङ पुल र बीचमा रमिरहेका ग्राहकका लागि बसेकै ठाउँमा खाद्य र पेय वस्तु सर्भ गर्ने विशेष प्रबन्धसमेत गरिएको छ । अघिल्लो दिन जसरी नै त्यो दिन पनि पत्तै नपाइ बित्छ ।

चौथो दिन पनि नित्य कर्म सकेपछि अघिल्ला बिहान जसरी नै समुद्र तटको पैदलै फन्को लगाउने काम सम्पन्न गरेर ब्रेकफास्ट गरिन्छ । भोलिपल्ट हाम्रो यात्रा बिट मार्ने दिन थियो । क्यान्कुन शहरको मोटामोटी जानकारी भए तापनि शहर बाहिरको जनजीवन देख्ने बुझ्ने अवसर प्राप्त भएको थिएन । शहर बाहिरको मेक्सिको देख्ने र त्यहाँको जनजीवनको सामान्य जानकारी हासिल गर्ने मेरो तीव्र इच्छा थियो । समूहमा बसेर यो कुरा राखेपछि पूर्व निर्धारित भ्रमण तालिकाबाट पहिलेको कार्यक्रमको सट्टा शहर बाहिरको मेक्सिको भ्रमण गर्ने अजेण्डा समावेश गरियो । लन्च पछि हामी तीनजना अन्जु, उम्मिदबाबु र म एउटा गाडी लिएर क्यान्कुन शहर बाहिरको यात्रामा निस्कियौं । छोरी र नातिनातिनी होटलमै बसे ।

हामी नयाँ र पुरानो क्यान्कुनको सरसर्ती तुलनात्मक अवलोकन गर्दै आफ्नो यात्रालाई अगाडि बढाउँदै जान्छौं । होटल जोनबाट बाहिर निस्कँदै गर्दा पहिलो विश्वबाट तेस्रो विश्वको सामान्य शहरमा अझ भनौँ नगरोन्मुख गाउँमा प्रवेश गरेको अनुभूति हुन्छ । सडकको रूप, अवस्था, घर पसल र वरपरका खाली जग्गा, गाडी पार्किङ स्थल, सडकमा कुदिरहेका गाडीहरू, मानिसको लवाई, ग्राहक कुरेर बसेका चिया र खाजाका पसलहरू देख्दा ती नेपाल या भारतका भन्दा फरक लाग्दैनन् ।

खाजाखाना खुवाउने रेस्टुरेन्टहरूको अगाडिबाट गाडी पास हुँदा मानिसहरू हामीलाई आफ्नो वस्तु र सेवा स्विकार्न निम्त्याइरहेका हुन्छन् । यता, हाम्रो गाडीचालक रिकार्दो (स्पेनिस भाषीले गर्ने उच्चारण) सामान्य अङ्ग्रेजी बुझ्ने र बोल्ने भएकाले हामीहरूको कुराकानी पनि चलिरहेको छ । रिकार्दो हाम्रा विभिन्न प्रश्नहरूको जवाफ क्रमशः दिइरहेका छन् ।

“नयाँ क्यान्कुन सिटीको इतिहास भनेको मुस्किलले ५० वर्ष पुरानो इतिहास हो । यसले छोटो अवधिमै आश्चर्यजनक विकास गरेको छ । खाली जग्गामा तीव्र शहरीकरण हुँदै गरेको तपाईंहरू देख्न सक्नु हुन्छ । वरिपरिका टापुमा पनि ठूलाठूला निर्माण कार्य भइरहेका छन् । शहर विस्तारको सिलसिला त्यहाँ पनि जोडतोडले चलेको छ । ठूलठूला होटल, रिसोर्ट्स र अपार्टमेन्टहरू धमाधम बनिरहेका छन् । तपाईंहरूले शहरमा सम्पन्नता देख्नुभो । तर शहर बाहिरको यथार्थ अर्कै छ । त्यहाँ गरिबी छ । रोजगारीको अभाव छ र शारीरिक श्रम गर्नेहरूले न्यून वेतनमा काम गर्नुपर्छ ।”

मेक्सिकोका धेरै ठाउँमा शान्ति सुरक्षाको स्थिति उति राम्रो छैन । विदेशी पर्यटकहरू लुटिन्छन् भन्ने मैले पढेको थिएँ । पुरानो शहर घुम्न जाने इच्छा जनाएर होटलका कर्मचारीलाई सोधपुछ गर्दा मलाई एक्लै नजान सल्लाह दिएका थिए उनीहरूले ।
सो प्रसङ्ग निकाल्दै मैले रिकार्दोलाई सोधें, “पुरानो शहरका भित्रि भागमा हामीलाई नजाने सल्लाह दिनुको कारण के होला ? त्यहाँ राम्रो सुरक्षा व्यवस्था नभएर हो ?” म उनको विचार बुझ्न चाहन्थें ।

“हो, तपाईंले ठिकै सुन्नु भयो । नयाँ क्यान्कुन सिटी बाहिर जाँदा होस गर्नु पर्छ । एक्लै दोक्लै हिंड्दा लुटिने डर हुन्छ । अपराध प्रवृत्ति भएका मानिसहरूले विदेशी देख्दा तिनलाई पछ्याउँदै अप्ठेरो ठाउँ पारेर पैसा र महँगा मालसामान लुट्न सक्छन् । यस्ता घटना बेलाबेलामा भैरहेको पनि पाइन्छ,” रिकार्दो भन्दै गए ।

यता, हाम्रो प्रश्नोत्तरको सिलसिला जारी छ । उता, गाडी पनि मध्यम गतिमा गुडिरहेकै छ । रोकिएर हेर्नुपर्ने ठाउँमा बाहेक अन्त कतै अडिंदैन ।

“स्पेनिसहरू आउनु भन्दा अगाडि हामी मेक्सिकनहरूको आफ्नै भाषा, सभ्यता र संस्कृति थिए । हाम्रो आर्थिक अवस्था पनि तुलनात्मक दृष्टि अरूहरूको भन्दा राम्रो थियो । स्पेनिसहरूको कब्जामा परेपछि हाम्रा दुर्दिन सुरु भए । उनीहरूले धेरै कुराहरू समाप्त गरिदिए ।”

“क्यानकुन सिटिका महँगा अपार्टमेन्टहरू विदेशीहरूले पनि किनिरहेका छन् । शहरका श्रमिकहरू शहर बाहिरका गाउँमा बस्छन् । धेरै खर्चिलो जनजीवन भएकोले शहरमा सर्वसाधारण बस्न सक्दैनन् । क्यान्कुनको होटल जोन बाहिर र भित्रको संसारमा आकाश जमिनको फरक छ ।”

पर्यटन, निर्माणलगायत क्षेत्रमा बेदेशी लगानी प्रशस्त रहेछ । नयाँ क्यान्कुन सिटी यात्राका लागि सुरक्षित, सुन्दर र सहज पहुँचयुक्त गन्तव्य भएकोले यो दिनानुदिन फस्टाउँदै गएको छ । रिकार्दोले भनेजस्तै साँच्चै नयाँ र पुरानो क्यान्कुनमा आकाश र धर्तीको भिन्नता रहेछ । भ्रमणको क्रममा सार्वजनिक स्थलमा राखिएका माया सभ्यता परिचायक मूर्तिकलाहरू पनि देख्छौँ ।

वास्तवमा मेक्सिकोको यो क्षेत्र (युकाटन प्रायद्विप) माया सभ्यताको केन्द्र रहेछ । हजारौँ वर्ष पहिले उत्तरमा मेक्सिकोदेखि दक्षिणमा कोष्टारिकासम्म माया सभ्यता फैलिएको थियो । यो सभ्यता संसारको एक उन्नत सभ्यतामा गणना भएको पाइन्छ । त्यस समयमा यहाँ गणित, वास्तुविज्ञान र खगोल विज्ञानको क्षेत्रमा असाधारण विकास भएको रहेछ । यहाँ पाइने पुराना स्मारक र अभिलेखहरू यसका जीवन्त सबुत हुन् ।

यात्रा सम्पन्न गरेर होटलमा फर्कंदै गर्दा हामीले रिकार्दोलाई आफूहरू नेपालबाट आएका नेपाली भएको परिचय दिन्छौँ । उनी अकमक्क पर्छन् । उनलाई नेपाल र नेपालीको बारेमा कत्ति पनि जानकारी छैन । ‘नेपाल’ भन्ने शब्द नै उनको लागि नौलो भयो । नेपाललाई हामीले भारत र चीनको बीचमा रहेको स्वतन्त्र देश भनेर चिनाउंछौँ । माउन्ट एभरेस्ट र बुद्ध जन्मेको देश भनेर पनि थोरै चर्चा गर्छौं । यतिन्जेलसम्म उनी हामीसँग धेरै खुलेर कुरा गर्ने भैसकेका छन् ।
उनी भन्छन्, “म विदेशी मुद्रा संकलन गर्छु । यो मेरो शोख हो । म विदेशी मुद्रा संकलन गर्छु भन्ने थाहा पाएपछि गाडीमा घुम्ने पाहुनाहरूले आफ्नो देशको मुद्रा दिनुहुन्छ । तपाईंहरूसँग नेपालको मुद्रा छ ? छ भने १-२ वटा दिनुहोस् न ।”

तर हामी कसैसँग पनि नेपाली मुद्रा नभएकोले उनको इच्छा पूरा गर्न सक्दैनौं । मुद्रा दिन नपाएकोमा हामीलाई नमीठो लाग्छ ।

रिकार्दो भलाद्मी र सहयोगी थिए । भाग्यले साथ दिएकैले यस्तो गाडीचालक भेटेको भन्ठान्यौं । अङ्ग्रेजी नबुझ्ने र कुरा गर्न नचाहने खालको मान्छे परेको भए हामीले यति धेरै जानकारी पाउन सक्ने अवस्था रहँदैनथ्यो । सोधेको प्रश्नको जवाफ दिएर उनले हामीलाई त्यस दिनको भ्रमणको उद्देश्य हासिल गर्न राम्ररी सघाए । होटलमा आइसकेपछि उनलाई धन्यवादसहित गाडी भाडा र टिप्स दिएर बिदा गर्छौं । उनी प्रसन्न भएर फर्कन्छन् ।

त्यो दिनको भ्रमणले विदेश जाँदा आफ्नो देश चिनाउन मद्दत गर्ने केही बस्तु साथमा लिएर हिंड्नु उचित हुन्छ भन्ने महसुस गरायो । साथमा राख्न सजिलो हुने भएकोले स्वदेशी मुद्रा लिएर हिंड्नु सबैभन्दा उत्तम हो भन्ने पनि लाग्यो । नेपालको नामै नसुनेको रिकार्दोलाई नेपाली मुद्रा दिन सकेको भए उनले नेपाल त सम्झने थिए नै त्यस माथि दैनन्दिन भेट्ने ग्राहकसँग पनि नेपालको थोरबहुत चर्चा गर्थे सायद । उनलाई नेपालको मुद्रा दिन नपाएकोमा पछिसम्म थकथकी भयो ।

साँझ होटलमा रैथाने मेक्सिकन परिकारको स्वाद चाख्दै विशुद्ध मेक्सिकन सांस्कृतिक प्रदर्शनी (कल्चरल शो) अवलोकन गरियो । मेक्सिकन खानाको स्वाद नेपाली स्वाद भन्दा फरक थिएन । अलि बढी पिरो खाँदा रहेछन् उनीहरू । डिनर पछि भोलिपल्टको चेकआउटको निम्ति तयारी गर्न छिटै कोठामा फर्कियौं ।
पाँच दिने भ्रमणको अन्तिम दिन ब्रेकफास्ट सकेर होटल चेकआउट गर्छौं । बिहानको उडान भएकोले सरासर एयरपोर्ट प्रस्थान गर्नुको विकल्प हामीसँग छैन । सबै औपचारिकता पुरा गरेर उडानको प्रतीक्षामा बस्छौँ ।

क्यानकुनमा बस्दा सम्म जाडो रत्तीभर अनुभव भएन । टिशर्ट र हाफ प्यान्ट्समा मज्जाले घुमघाम गरियो । तर मिनियापलिस भने ती दिनमा हिउँको बर्को ओढेर न्यानोपन खोज्न संघर्षरत थियो । न्यानो कपडाले पनि जाडो थेग्न हम्मेहम्मे थियो त्यहाँ । सालाखाला १०–११ डिग्री फेरेन्हाइट तापक्रम भएको अवस्थामा जहाजबाट उत्रिदा शरीरले महसुस गरेको विषम मौसमको बयान गर्न साध्य छैन ।

जेहोस्, गन्तव्यमा आइपुग्दा तन र मन दुवै हर्षले गद्गद् भए । न्यानोपन उसै अनुभूत भयो ।

प्रतिक्रिया दिनुहोस्