२०८१ श्रावण १२
                           

जुगल ३ मा चालु आर्थिक वर्षको काम सम्पन्न नजिक, आगामी आवको योजना संकलन

विदुर आचार्य-गुम्वा । जुगल गाउँपालिका वडा नंम्वर ३ ले आगामी आर्थिक वर्ष ०८१/ ०८२ को योजना छनौट गरेको छ । सोमबार वडा कार्यालयमा आयोजित चालु आर्थिक वर्षको समिक्षा, सार्वजनिक सुनुवाई तथा आगामी वर्षको योजना छनौट कार्यक्रम भएको हो । जुगल गाउँपालिका वडा नंम्वर ३ का स्थानीयले शिक्षा, स्वास्थ्य तथा पूर्वाधारका क्षेत्रमा विकास गर्नुपर्ने माग राखेका छन् ।

सिन्धुपाल्चोक जिल्लाको विकट हिमाली क्षेत्र गुम्वामा तुलनात्मक रुपमा विद्यार्थीको चाप कायम रहेको, विद्यालयमा पूर्ण भौतिक संरचना नभएको, विद्यालय शिक्षामा अभिभावकको चासो कम रहेको, शिक्षकहरुमा समयसापेक्ष तालिम अपर्याप्त रहेकोले उक्त विषय समेटेर आगामी वर्षको वजेट निर्माण गर्न शिक्षक तथा विद्यालय प्रतिनिधिले सुझाव पेश गरेका छन् ।

विद्यालयमा शैक्षिक सामाग्री, खेलकुदका सामाग्री, चमेनागृह, खानेपानी, शौचालय र विद्यालयमा स्वास्थ्य परीक्षणको समेत राम्रो ब्यवस्था नरहेकोले त्यसतर्फ स्थानीय सरकार केन्द्रीत रहन समेत सरोकारवालाले सुझाएका हुन् ।

गुम्वा स्वास्थ्य केन्द्र सहित तेम्वाथान स्वास्थ्य केन्द्रको स्तरबृद्धि र सेवा प्रवाहमा स्तरीयता प्रदान गर्न आगामी वजेट केन्द्रीत गर्न स्वास्थ्यकर्मीहरुको माग रहेको छ ।

वडा अन्तर्गत चालु आर्थिक वर्षमा संचालित योजनाहरु अधिकांश सम्पन्न भएका र केही योजनाहरु तत्काल सम्पन्न हुने तयारीमा रहेको उपभोक्त समिति तथा वडाका प्रतिनिधिहरुले जनाएका छन् । गाउँपालिका, प्रदेश तथा संघीय सरकार मार्फत प्रप्त २५ वटा कार्यक्रम मध्ये ६ वटा अन्तिम चरणमा र बाँकी योजनाहरु सम्पन्न भएका छन् । त्यस्तै वडा तहका ३३ मध्ये २९ योजनाहरु सम्पन्न भई भूक्तानीको चरणमा रहेका छन् ।

भौगोलिक कठिनाईका वाबजुद पनि सन्तोषजनक परिणाम प्राप्त भएको जुगल गाउँपालिका ३ का वडाअध्यक्ष लक्ष्मान दोङ वताउनुहुन्छ । कृषि क्षेत्रमा प्रशस्त सहभागिता गराउने, उत्पादनमा जोड दिने, सामुहिक रुपमा काम गरि उल्लेख्य उतपादन गर्नेलाई प्रोत्साहन तथा अनुदान वितरण गर्ने वडाको आगमी कार्यक्रम रहने वडाअध्यक्षको धारणा रहेको छ ।

वडाभर नियमित यातायात संचान हुन सक्ने गरि सडक ब्यवस्था, ठाडो खोलामा कलभर्ट निर्मााण, क्रियाशील शिक्षकहरुको लागि तालिम, जुगल ३ मा पर्ने भैरवकूण्ड भोटेकोशी गाउँपालिकाले उपयोग गरेकोले उक्त स्थानको नापी नक्सा गरी त्यसको प्रचार तथा ब्यवस्थापनलगायतका योजना रहेको छ ।

कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन सहितका विविध क्षेत्रमा वडा केन्द्रीत रहने अध्यक्ष दोङको भनाई छ । उक्त वडामा रहेका जलविद्युत आयोजनाहरुसँग सहयोगको माग गरि नियमित सडक संचालनको वातावरण निर्माण तथा शैक्षिक क्षेत्रमा सहयोगको माग समेत गरिने वडा अध्यक्षको भनाई छ ।

आवश्कताको आधारमा मुख्य मुख्य योजनाको माग गर्न स्थानीयलाई आग्रह गर्दै अध्यक्ष दोङले स्थानीय सरकारवाट संभव नरहेका योजनाहरु प्रदेश र संघिय योजना मार्फत सम्पन्न गर्ने समेत वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्