२०८१ श्रावण १२
                           

आँखाको शल्यक्रिया सेवाका लागि सरोकारवालाहरुको बैठक

२३ जेठ, सिन्धुपाल्चोक । चौतारामा आँखाको शल्यक्रिया सेवा सञ्चालनका लागि बुधबार सरोकारवालाहरुको बैठक बसेको छ । जिल्ला सामुदायिक आँखा केन्द्र चौतारामा हाल ओपिडी सेवा मात्र भएको र शिघ्र रुपमा शल्यक्रिया सेवा पनि सुचारु गर्ने उदेश्यले बैठक बसेको हो । बैठकको सुरुमा तिलगंगा आँखा प्रतिष्ठान र नेपाल रेडक्रस सोसाइटीको समन्वयमा सञ्चालन भईरहेको जिल्ला सामुदायिक आँखा केन्द्रको गत सन २०२३ मा सम्पादन गरिएका गतिविधिको प्रस्तुती तथा समिक्षा गरिएको थियो ।

बैठकमा छलफलका क्रममा जिल्ला समामुदायिक आँखा केन्द्र फ्रेड हलोज फाउण्डेसनको सहयोगमा चलिरहेको र टिकाउन समस्या हुने बताए पछि मेयर सापकोटाले नागरिकको स्वास्थ्यको सेवाको सवाल भएकाले जसरी भएपनि दिर्घकालिन बनाउन काम गर्ने बताउनुभयो ।

सो बैठकमा जिल्ला समन्वय समिति प्रमुख बाल कृष्ण श्रेष्ठ, चौतारा साँगाचोक गढी नगरपालिका मेयर कृष्ण प्रसाद सापकोटा, उपमेयर सिता थापा, वडा अध्यक्ष शिव श्रेष्ठ, प्रहरी उपरिक्षक सन्तोष खड्का, जनस्वास्थ्य प्रमुख दुर्गा बजगाई, पत्रकार महासंघ सिन्धुपाल्चोक अध्यक्ष जिवन श्रेष्ठ , तिलगंगा आँखा प्रतिष्ठानका हरि कार्की, चौतारा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रुन्द्र भण्डारी, ब्यवस्थापन समिति अध्यक्ष टंक कार्की , आँखा केन्द्र ब्यवस्थापन समिति अध्यक्ष राजेन्द्र मान ताल्चा भँडेल र रेडक्रस चौतारा शाखा मन्त्रि कमल कक्षपति लगायतले छलफल गरेका हुन् ।

आँखा केन्द्रमा आवश्यक उपकरण आइसकेको भएपनि ठाउँको अभावले शल्यक्रिया सेवा दिन नसकेको हो । आजको बैठकमा आँखा शल्यक्रिया सेवा दिन उचित ठाउँ ब्यवस्थापन गर्ने मुख्य एजेण्डामा छलफल भएको थियो । तत्काललाई अस्थाई रुपमा चौतारा अस्पतालको भवनबाट आँखा शल्यक्रिया कक्ष स्थापना गरी सेवा दिने बैठकले निर्णय गरेको छ ।

साथै केन्द्रबाट दिइरहेको सेवालाई एकिकृत स्वास्थ्य सेवाको रुपमा लान जिल्ला समन्वय समिति, चौतारा साँगाचोक गढी नगरपालिका, तिलगंगा आँखा प्रतिष्ठान, चौतारा अस्पताल रेडक्रस सोसाइटी बीचको समन्वयमा कार्यक्रम प्रस्ताव गर्ने निर्णय गरेको छ ।

हाल केन्द्रले चौतारा, इन्द्रावती, जुगल , मेलम्ची र बाह्रविसेमा सामुदायिक आँखा केन्द्र स्थापना गरी नागरिकलाई सेवा दिइरहेको छ भने अन्य पालिकामा पनि सेवा विस्तार गर्न पहल गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्