२०८१ श्रावण १२
                           

कुञ्चोकका महिला ब्रान्डसहित सिस्नु उत्पादनमा

सिन्धुपाल्चोक,१७माघ
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–२ कुञ्चोकका महिला गाउँमै उत्पादन गरिएको प्रांगारिक सिस्नुको पाउडरलाई ब्रान्ड बनाएर बिक्री गर्न एकजुट भएका छन्। जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाका महिलाले खेर गइरहेको बाँझो जग्गा तथा करेसाबारीमा सिस्नु खेती गरेका छन्।
सुरुमा सिस्नु खेती गर्दा गाउँवासीले गिज्याए पनि अहिले यसले व्यावसायिक रूप लिएपछि अन्य महिला दिदीबहिनी पनि यसतर्फ आकर्षित भएको स्थानीयवासी निर्मला सुनारले बताउनुभयो। ‘अब सिस्नुको धुलो प्याकेटमा बेच्छौं। चाहिएमा हरियो सिस्नु पनि उपलब्ध गराउँछौं,’ ।
माग आएअनुसार मेलम्ची र चौतारा बजारसम्म यहाँको उत्पादन पुग्ने गरेको छ। सहकारीमा छलफल भएपछि महिलाले यसको खेती सुरु गरेका हुन्। सिस्नुलाई पाउडर, हरियो सिस्नुका साथै अनेक परिकार बनाउने गरिएको जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष रति थापा मगरले बताउनुभयो ।
सिस्नुबाट महिला समूहले अहिलेसम्म मासिक १५ हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। बजारको भने अभाव छ । अक्सफाम र महिला आत्मनिर्भरता केन्द्रले सिस्नुलाई धुलो पार्ने उपकरण उपलब्ध गराएपछि महिलाले यो खेतीलाई व्यावसायिक बनाएका हुन्।

प्रतिक्रिया दिनुहोस्