२०८१ श्रावण १२
                           

उच्च रक्तचाप नियन्त्रण कार्यक्रम र अनुसन्धान बारे जिल्ला स्तरिय अभिमुखीकरण

२२ जेठ, सिन्धुपाल्चोक । उच्च रक्तचाप नियन्त्रण कार्यक्रम र अनुसन्धान बारे जिल्ला स्तरिय अभिमुखीकरण कार्यक्रम भएको छ । यस कार्यक्रमले स्वास्थ्य सेवा प्रदायकहरूको क्षमता अभिवृद्धि गरी महिला सामुदायिक स्वास्थ्य स्वयंम सेविका हरुलाई परामर्श र हेरचाहको सम्बन्धमा परिचालन गरेर उच्च रक्तचाप नियन्त्रण गर्ने लक्ष्य रहेको बताएको छ ।
मंगलबार जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा चौतारामा आयोजित  कार्यक्रममा डाक्टर, जनप्रतिनिधि, १२ वटै पालिकाको स्वास्थ्य शाखा प्रमुख, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सरोकारवालाहरु सहभागी थिए । बागमती प्रदेशको १३ जिल्ला मध्य सिन्धुपाल्चोक उच्च रक्तचाप नियन्त्रण र अनुसन्धानका लागि छानिएको हो ।

चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटाले उच्च रक्तचाप नियन्त्रणका लागि अतुलनीय सहयोग प्राप्त हुने विश्वास लिएको बताए । धुलिखेल अस्पताल र जनस्वास्थ्य कार्यलय सिन्धुपाल्चोकको समन्वयमा एली विश्वविद्यालयकी प्रोफेसर डोराले जिल्लामा उच्च रक्तचाप नियन्त्रणका लागि तिन वर्षसम्म काम गर्ने बताएकी छिन् । जस अन्तरगत प्रत्येक स्वास्थ्य सँस्था र समुदायमा पुगेर उच्च रक्तचाप भएका मानिसलाई लक्षित गर्दै अनुसन्धान र सचेतनामुलक विभिन्न कार्यक्रम गर्ने डोराले बताइन् । उनि विगत ९ वर्षदेखि नसर्ने रोग नियन्त्रणका लागि  नेपालमा काम गर्दै आइरहेकी छिन् ।

नेपालमा उच्च रक्तचापको अवस्था बताउदै १२ प्रतिशत मात्र नियन्त्रण रहेको र ४४ प्रतिशत भने आफुलाई उच्च रक्तचाप भएको बारे अनविज्ञ रहेको धुलिखेल अस्पतालका दिनेश तिमल्सिनाले बताए । उनले उच्च रक्तचापको ब्यवस्थापन गरेमा स्वस्थ जिवन बाच्न सकिने जसका लागि नियमित औषधि सेवन, धुम्रपान तथा मद्यपान नगर्ने, स्वस्थ आहार लगायतका कुरामा ध्यान दिन जरुरी रहेको बताए ।

वागमती प्रदेश सरकारले यस वर्ष नसर्ने रोगका औषधि तथा उपकरण सप्लाइका लागि बजेट बढाइएको बागमति प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक बसन्त अधिकारीले जानकारी दिए । विभिन्न ठाउँहरुमा माग अनुसार औषधि पठाइरहेको बताउदै स्वास्थ्यका क्षेत्रमा ब्यवस्थापनका पाटोमा पनि सधै तत्पर रहने निर्देशक अधिकारीले प्रतिबद्धता ब्यक्त गरे ।

यस्तै जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजागाँइले उच्च रक्तचाप नियन्त्रण गर्ने अभियान सफल पार्न र अनुसन्धानको दायराभित्र रहेर काम गर्न प्रतिबद्ध रहेको बताइन् । यो कार्यक्रम सफल बनाउन  जिल्ला समन्वय समितिले सधै सबै स्वास्थ्य संस्था र पालिकामा समन्वयकारी भुमिका खेल्ने प्रमुख बालकृष्ण श्रेष्ठले बताए । उच्च रक्तचाप नियन्त्रणका लागि महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरेर नागरिकको दैलो सम्म पुग्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्