२०८१ श्रावण १२
                           

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

जेठ ७ काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत पाएको छ । नेपाली कांग्रेसका सांसदहरूको नाराबाजी र होहल्लाकै बीच सोमबार भएको मतदानबाट प्रधानमन्त्रीले विश्वासको मत पाएका हुन ।सोमबारको मतदानमा एक सय ५८ जना सांसद सहभागी भएका थिए । प्रधानमन्त्री प्रचण्डले एक सय ५७ मत प्राप्त गरे । विपक्षमा कुनै मत परेन । मत दिन्न भन्ने पक्षमा जम्मा एक मत परेको छ ।

नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र तीन जना स्वतन्त्र सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका छन् । नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीलगायतका दलले मतदानमा नै भाग लिएनन् ।

प्रचण्डले डेढ वर्षको अवधिमा आज चौथो पटक विश्वासको मत पाएको हो । सहकारीको रकम हिनामिनामा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै नेपाली कांग्रेसले संसदीय छानबिन समितिको माग राखेर निरन्तर संसद् अवरोध गर्दै आएको छ । बेल घेराउ गर्दै नाराबाजी गरिरहेका कांग्रेसका सांसदहरूलाई मर्यादापालकले घेरेपछि बल्ल प्रधानमन्त्री प्रचण्ड रोस्ट्रममा जान पाएका थिए ।

विश्वासको मत माग्दै प्रचण्डले नेपाली कांग्रेसको आजको गतिविधि इतिहासमा कलङ्कको रूपमा स्थापित हुने बताए । प्रधानमन्त्री प्रचण्डले आजको गतिविधिका कारण कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्