२०८१ श्रावण १२
                           

सौर्य रुफटप प्रणाली प्रवर्द्धन गर्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र प्याब्सन बीच अन्तर्क्रिरया

चैत्र १६ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले सौर्य रुफटप प्रणाली प्रवर्द्धन सम्बन्धमा निजी तथा आवासीय विद्यालय संगठन, नेपाल (प्याब्सन) संग अन्तरक्रिया कार्यक्रम गरेको छ । मध्यबानेश्वर स्थित केन्द्रको कार्यालयमा सो कार्यक्रम गरेको हो ।

अन्तरक्रियामा केन्द्र तथा केन्द्र अन्तर्गतका कार्यक्रमहरु, प्याब्सन, सौर्य ऊर्जा प्रवर्द्धनमा क्रियाशील निजी क्षेत्रका कम्पनी तथा सो को छाता संगठन (सिम्यान), ऊर्जा सेवा प्रदायक कम्पनीबाट ४० जना भन्दा बढीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कार्यकारी निर्देशक नवराज ढकालले केन्द्रले हाल सञ्चालित उल्लेखित २ वटा कार्यक्रम अन्तर्गत कूल ३१ मेगावाट सौर्य रुफटप प्रणाली जडान गर्ने लक्ष्य लिएको जानकारी दिए । सो लक्ष्य हासिलको लागि प्याब्सनसंग आबद्ध करीब ७ हजार निजी तथा आवासीय विद्यालयहरु सौर्य रुफटप प्रणाली जडानको लागि सम्भावित क्षेत्रको रुपमा रहेको ढकालले बताए ।

उनका अनुसार सौर्य ऊर्जामा आधारित रुफटप प्रणालीको जडानले उद्योग व्यावसायमा दैनिक रुपमा प्रयोग हुने डिजेल खपतमा कमी ल्याउछ । उनले भने हरित ऊर्जाको उपयोगबाट कार्वन उत्सर्जन न्यूनीकरणमा सघाउ पु¥याउछ । सौर्य रुफटफ प्रणालीले दिउँसोको समयमा ऊर्जा उत्पादन गर्ने हुँदा स्टोरेज क्षमता भएका जलविद्युत आयोजनामा विद्युतको माग बढी हुने समयको लागि पानीको भण्डारण गरी विद्युत सुरक्षालाई समेत सहयोग गर्नेछ ।

यसैगरी प्याब्सनका उपाध्यक्ष कृष्ण अधिकारीले सौर्य ऊर्जाबाट उत्पादित विद्युत तथा विद्युत उत्पादनका उपकरणहरु विश्वसनीय, गुणस्तरीय र भरपर्दो हुनु आवश्यक रहेको बताए । लोडसेडिङ्ग भएको अवस्थामा विद्युतको वैकल्पिक स्रोतको रुपमा उपयोग गर्न सकिने भएकोले मन्टेश्वरी सहित लगभग १२ हजारको संख्या (हाल प्याब्सनमा आबद्ध ७ हजार सहित) मा रहेका निजी तथा आवासीय क्षेत्रहरु सौर्य रुफटप प्रणाली जडानको महत्वपूर्ण क्षेत्र बन्न सक्ने उनको भनाई थियो ।

नेपाल सौर्य विद्युत उत्पादक संघ (सिम्यान) का अध्यक्ष कृष्ण प्रसाद पराजुलीले कम्पनीले प्रदान गर्ने सेवामा शत प्रतिशत ग्यारेन्टी प्रदान गर्ने बताए । पराजुलीले नेपालका सौर्य ऊर्जा कम्पनीहरु ग्राहकले चाहेजस्तो सेवा प्रदान गर्न सक्षम रहेको जानकारी दिए ।

कार्यक्रममा केन्द्रका निर्देशक डा. नारायण प्रसाद अधिकारीले विश्व परिवेशमा जलवायु परिवर्तनबाट सिर्जित समस्यालाई न्यूनीकरण गर्न नवीकरणीय ऊर्जाको महत्व उल्लेखनीय रहेको बताए । साथै हालको नीतिगत व्यवस्थालाई सरलीकृत गर्दै प्याब्सनमा आबद्ध ७ हजार निजी तथा आवासीय विद्यालयहरुमा सौर्य रुफटप प्रणाली को प्रवर्द्धनमा जोड दिइने उनले बताए ।

केन्द्र र जर्मन सरकारको सहयोगमा सञ्चालित ग्रामीण तथा अर्धशहरी क्षेत्रको लागि सौर्य ऊर्जा प्रवर्द्धन आयोजना एवं केन्द्र र बेलायत सरकारको सहयोगमा सञ्चालित नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम अन्तर्गत डिजेल खपत भइरहेका उद्योग तथा निजी व्यवसायहरुमा हरित गृह ग्यास उत्सर्जन न्यूनीकरण गर्नको लागि सौर्य रुफटप प्रणाली जडान गर्ने कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्