२०८१ श्रावण १२
                           

भूमि समस्या बारे ध्यानाकर्षण

सिन्धुपाल्चोक ,२ माघ
भूमि अधिकार तथा श्रमिक संगठन, सिन्धुपाल्चोकले भूमि सम्बन्धी समस्याहरुको निकाश दिन ध्यानाकर्षण गराएको । मंगलबार जिल्ला सदरमुकाम चौतारामा संगठनले मालपोत कार्यालय, नापी कार्यालय सँगै प्रमुख जिल्ला अधिकारी समक्ष समग्र भूमि समबन्धि समस्या वारे ध्यानाकर्षण गराएको हो ।
भूमि सम्बन्धी समस्या क्रमिक रुपमा थप हुँदै जाने क्रमको चिन्ता सहित समाधानमा केन्द्रीत हुन सरकार समक्ष संगठनले जोडदार माग गरेको छ ।

वर्षौ देखि गुठी समस्याले थलिएको गुठी पीडित किसानहरुलाई तिरो बृद्धि गरी थप मारमा परेकोमा आपत्ति जनाएको छ । किसानले तिर्न नसक्ने गरी मालपोत शुल्क बढाईएको, तिरो तिर्न स्थानीय तहमा ब्यवस्था नगरी जिल्ला सदरमुकाम सम्म आउजाउ गर्न समस्या भएको, हचुवाको भरमा घरजग्गाको मुल्यांकन गरिएको, मोही जग्गा बाँडफाँड तथा नामसारीको निवेदनको सम्वोधन गरी जग्गाधनि प्रमाण पुर्जा उपलब्ध गराउन माग गरिएको छ ।

त्यस्तै भूमिहीन तथा सुमुम्बासी र अब्यवस्थित बसोबासका आवेदन फारमहरु अविलम्ब कार्यानवयन गरिनुपर्ने, मोही पुर्जा छुट भएका मोही किसानको वास्तविक अवस्था बुझि निर्णय भए वमोजिम पुर्जा वितरण गरिनुपर्ने, फिल्डबुकमा भएका जग्गा छुट दर्ता, बाढी, पहिरो, प्रशारण लाईन, सडकआदिले क्षति पुगेका जग्गाको लगत कट्टा गरिनुपर्ने माग संगठनले गरेको छ ।

सरकारले हालै मात्र बृद्धि गरेको नक्सा प्रिन्ट प्रमाणित गरि लिँदा प्रति सिट एक सय बाट प्रति कित्ता एक सय बनाएकोमा ब्यापक जनगुनासो तथा अबैज्ञानिक निर्णय अविलम्व फिर्ता लिनुपर्ने र विभिन्न विपद्का कारण क्षति भएका आवास तथा बस्तीहरुको स्थानान्तरणमा भएको ढिलासुस्ती प्रति गम्भीर ध्यानाकर्षण गराएको संगठनका जिल्ला अध्यक्ष श्याम भूजेलले जानकारि दिनुभयो ।

ध्यानाकर्षण पत्र हस्तान्तरण सँगै भूमीहीन तथा ग्रामीण क्षेत्रका कृषकहरुलाई सरकारले अत्याचार गरेको प्रति ध्यानाकर्षणका लागि प्रमुख जिल्ला अधिकारी मार्फत नेकपा एमालेका नेता तथा बागमती प्रदेशका पूर्व मन्त्री शरेस नेपालले अनुरोध गर्नुभयो ।

जंगली जनावरले कृषि कर्म गर्ने वातावरण नै नभएको, युवा पलायनले पहाड रित्तिदै गएको परिवेश केलाउँदै नेता नेपालले सरकारले पनि गरीब तथा किसानहरुलाई मारमा पारेको औल्याउनुभयो । काठमाण्डौ उपत्यकालाई आधार मानेर निर्धारण गरिएको गुठी जग्गाको मालपोत कर पहाडी क्षेत्रमा अबैज्ञानिक हुने उहाँको तर्क छ ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी झक्क प्रसाद आचार्यले अनुदान प्रक्रिया पूरा भएका लाभग्राहीको किस्ता यथाशीघ्र पठाईने ब्यवस्था गरिएको र ज्ञापन पत्रका माग नेपाल सरकारका संम्वन्धित ठाउँमा पठाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्