२०८० मंसिर १४

सिन्धुको पाँचपोखरी (फोटो फिचर)

जिल्लाको पाँचपोखरी आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । जनै पूर्णिमाको अवसरमा धार्मीक पर्यटकको आउजाउ हुने गरेको पाँचपोखरी अहिले सबैजसो समयमा आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने गरेको छ । नेपालका पर्यटकीय स्थलहरू मध्ये पछिल्लो समय पाँचपोखरी लोकप्रिय गन्तब्य बनेको छ । काठमाडौंबाट तीन रात चार दिनको रोमाञ्जकारी यात्रा र अविश्मरणीय दृश्यावलोकनको संगम पाँचपोखरी पुग्नेहरु उत्साहित बनेर फर्कन्छन् ।

समुद्री सतहबाट ४१०० मिटर उचाइमा रहेको यो ठाउँलाई बौद्ध र हिन्दु धर्मावलम्बीको प्रसिद्ध धार्मिक स्थल मानिन्छ । सांस्कृतिक, धार्मिक र पर्यावरणीय महत्व बोकेर जुगल हिमालको फेदमा बसेको यो स्थान काठमाडौंको उत्तरपूर्वमा अवस्थित छ । रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा फैलिएको लाङटाङ राष्टिय निकुञ्जको प्रमुख आर्कषण मध्येको पाँचपोखरी पनि एक हो । प्रकृतिसँग लुटुपुटु गर्दै पदयात्रा गर्न रुचाउने यात्रीहरुलाई पाँचपोखरीका मनोरम दृश्यहरुले डाकिरहेका हुन्छन् । यहाँबाट मोतीझैं टल्किने हिउँले ढाकेका दोर्जे लाक्पा, फुरवी छ्याचु, जुगल हिमाल, रोल्वालिङ र लाङटाङ हिमालका श्रृङ्खलाहरु नजिकैबाट नियाल्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्