२०८१ जेष्ठ ४

च्याँख्ला बेच्न थालेपछि महिलाको आम्दानी मनग्गे

सिन्धुपाल्चोकका महिलाहरुले च्याँख्ला बेचेर मनग्गे कमाउन थालेका छन् । स्वास्थ्यको निम्ति निम्ति लाभदायक मानिने मकैको च्याँख्ला बनाउन चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १२ का महिलाहरुलाई भ्याइनभ्याइ हुन थालेको छ ।

महिलाकै सहभागितामा सञ्चालित कमलको फूल बहुउद्देश्यीय सहकारी संस्थाले मेसिन उपलब्ध गराएपछि उनीहरुले च्याँख्ला बनाउन शुरु गरेका हुन् ।

उनीहरुले सुकेको मकैलाई कुटेर च्याँख्ला र पिठो बनाउँदै प्याकिङ, ब्राण्डिङ र बिक्री वितरण गर्न थालेका छन् । एक केजी च्याँख्लाको एक सय रुपैयाँ पर्ने सहकारी अध्यक्ष सीता पौडेलले बताइन् ।

बजारमा च्याँख्लाको माग उच्च रहेको उनको भनाई छ । चिनी रोगीहरुका लागि मकैको च्याँख्ला अत्यन्त उपयोगी हुने भएकाले खपत बढेको उनको निचोड छ । ‘च्याँख्ला र पिठो बनाउन गाउँकै किसानबाट मकै खरिद गर्दै आएका छौं । यसबाट उहाँहरु पनि खुसी हुनुभएको छ । गाउँलेको मकै पनि बिक्री भइरहेको छ भने महिलाका लागि गाउँमै रोजगारीको अवसर सिर्जना भएको छ’, उनले भनिन् ।

स्थानीय नेत्रकुमारी पौडेलले १५० रुपैयाँ पाथीमा मकै बिक्री हुने गरेको बताइन् । बिक्री नभएपछि गाईवस्तुलाई खुवाउँदै आएको मकैले राम्रो बजार मूल्य पाएपछि उनी दंग भएकी हुन् । सहकारीले साँगाचोक, सुकुटे, इर्खु, ठूलोसिरुबारी र कदमबासलगायत स्थानका किसानले उत्पादन गरेको मकै पनि खरिद गर्दै आएको छ ।

मकैको च्याँख्ला र पिठो बनाउने कार्यमा महिलाको मात्र सहभागिता रहेको छ । यसबाट उनीहरुको आयस्तरमा निकै सुधार देखिन थालेको छ  । जन आस्था

प्रतिक्रिया दिनुहोस्