२०८१ श्रावण १
                           

वर्षौं ठप्प तातोपानी नाका गुल्जार देखिँदै

सिन्धुपाल्चोकको बाह्रबिसेबाट तातोपानी नाकासम्मको २६ किलोमिटर जीर्ण सडकले यात्रुलाई असहज बनाएको छ । सडकको दुरावस्थाले यात्रालाई सकसपूर्ण त बनाएको छ नै त्योभन्दा बढी ज्यानै जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।

एकातिर साँघुरो, कच्ची र जीर्ण सडकले दुर्घटनाको जोखिम बढ्दो छ भने अर्कोतिर जोखिम मोलेरै भएपनि तातोपानी नाका हुँदै सिमावर्ती (रमिते) लिपिङ बजार जानेको लर्को पनि उत्तिकै देखिन थालेको छ । गत भदौ १५ गतेबाट चीनले मानिस आवगमनसमेत खुला गरेपछि अहिले नेपालतर्फको तातोपानी र लिपिङ बजार गुल्जार बन्न थालेको छ ।

आठ वर्षसम्म नाका ठप्प हुँदा श्मशानघाट जस्तै शान्त र चहलपहलविहीन तातोपानी नाका पछिल्लो पटक दुईतर्फीरुमा नै खुला गर्दै नेपालीलाई चीन प्रवेशको अनुमति दिएपछि दिनप्रतिदिन चहलपहल बढ्न थालेको हो । अध्यागमन कार्यालय लिपिङका अनुसार पास (अनुमति) बनाएर दैनिक तीन सयभन्दा बढी नेपाली सीमावर्ती ( रमिते) लिपिङ बजार पुग्न थालेका छन् ।

दुई देशबीचको सम्झौता अनुसार हाललाई सिन्धुपाल्चोक जिल्लाका स्थानीयलाई मात्र चीन प्रवेशको अनुमति दिइएको कार्यालय प्रमुख रविन्द्र पोखरेलले जानकारी दिए । चाडवाड नजिकिएसँगै घरायसी सामान किनमेल गर्न स्थानीयहरु सीमावर्ती बजारमा पुग्ने गरेका हुन् ।

२०७२ साल वैशाख १२ गतेको महाभूकम्पका कारण लिपिङ र खासाका भौतिक संरचनाहरु ध्वस्तप्रायः भएका थिए । चीन सरकारले ती बजारका स्थानीयलाई स्थायीरुपमा नै अन्यत्र सारेपछि नाका बन्द भएको थियो । मानिसको आवगमनसहित दुईतर्फी रुपमा नाका सञ्चालन गर्न चीन सरकारले सिमावर्ती लिपिङमा हाललाई दुई दर्जन जति व्यवसायिक प्रयोजनका पसलहरु सञ्चालनमा ल्याएको छ । खासामा व्यवसायिक प्रयोजनका लागि भौतिक संरचनाहरु निर्माण भइरहेको बताइएको छ ।

पारीको रमिते बजार पुगेर किनमेल गर्दै फर्किएका स्थानीयहरु भने नेपालतर्फ आएपछि दिक्क मान्ने गर्छन् । भूकम्पले ध्वस्त बनाएको उताको रमिते बजार पुनर्निर्माण गर्दै चिटिक्क पारेर पुन व्यवसाय सञ्चालन हुन थालेको छ । नेपालतर्फको लिपिङ बजारको अवस्थामा कुनै सुधार भएकोे छैन ।

भूकम्पका कारण भत्किएका भौतिक संरचना, अव्यवस्थित बजार र सडकको कन्तबिजोग हालसम्म पनि जस्ताको तस्तै देखिन्छ । मानवीय चहलपहल बढ्न थालेपछि होटल लजहरु खुल्न थालेका छन् । अन्य भौतिक पूर्वधारमा भने खासै सुधार हुन सकेको देखिँदैन ।

गत बैशाख १८ गतेदेखि दुईतर्फी रुपमा नै नाका सञ्चालनमा आएपछि आयात बढ्न थालेको छ । तातोपानी भन्सार कार्यालयका अनुसार वैशाख १८ गतेभन्दा पहिले दैनिक तीनदेखि चार कन्टेनर चिनियाँ सामाग्री नेपाल भित्रिँदै आएको थियो । हाल दैनिक ३० कन्टेनर सामान नेपाल भित्रिने गरेको छ । यसबाट राजश्व संकलनमा पनि सकारात्मक प्रभाव देखिन थालेको हो ।

गत आर्थिक वर्षको छ महिनामा संकलन गरेको राजश्व बराबर यो आर्थिक वर्षको साउन र भदौ महिनामा नै संकलन भएको भन्सार कार्यालयले जनाएको छ । गत वर्षको तुलनामा यो वर्ष मासिक लक्ष्यभन्दा एक सय ७० प्रतिशतले राजश्व संकलन बढेको भन्सार प्रमुख दयानन्द केसीले जानकारी दिए । साउन र भदौमा मात्र १ अर्ब ६२ करोड राजश्व संकलन भएको छ ।

आयातमा ८० प्रतिशत फलफूलजन्य सामाग्री छन् । बाँकी इलेक्ट्रोनिकलगायत लत्ताकपडा रहेको कार्यालयले जनाएको छ । वैशाख १८ गते लसुन, बाँसबाट बनेका सामग्रीलगायतका केही कन्टेनर चीन निर्यात भए पनि त्यसयता एक कन्टेनर सामाग्री पनि निर्यात भएको छैन । चिनियाँ भूगाग खासामा बजार स्थापित नभएको र चिनियाँ पक्षबाट नेपाली सामाग्रीको माग नआएको कारण निर्यात ठप्प भएको हो ।

भूकम्पअघि वार्षिक ५ अर्ब रुपैयाँ राजश्व संकलन गर्दै आएको भन्सार कार्यालयले बढ्दो चहलपहल र आयातका कारण यो वर्ष लक्ष्यमा पुग्ने दाबी गरेको छ । यस वर्ष कार्यालयले ४ अर्ब ८० करोड राजश्व संकलनको लक्ष्य लिएको छ । आयातसँगै निर्यातमा पनि सहजता आउने हो भने यो वर्ष लक्ष्य हासिल गर्न सकिने प्रमुख केसीको भनाई छ ।

राजश्व संकलनमार्फत् राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिँदै आएको तातोपानी नाका साना तथा ठूला व्यापारीको मात्र हैनन्, सयौं मजदुरहरुको रोजिरोटीको कारण पनि बन्दै आएको छ । नाका बन्द भएसँगै यहाँबाट विस्थापित भएका साना तथा ठूला व्यापारीहरुसँगै मजदुरहरु पनि फर्कन थालेका छन् । दोभाषे नेपाली युवाहरुले रमिते लिपिङ बजारमा रोजगारी पनि पाउन थालेको बताइन्छ । यद्यपि नेपालतर्फको सडक पूर्वाधारलगायतको संरचना स्तरोन्नति र विस्तार हुन नसक्दा नाकाको भविष्यमाथि अझै प्रश्न उठ्न सक्ने स्थानीयको लख छ । त्यसो त बाह्रबिसेदेखि नाकासम्म स्ट्याण्डर्ड दुई लेनको सडक बनाउन चीन सरकार सहमत भइसकेको सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य माधव सापकोटाले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा जानुअघि नै आफ्नो नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई तातोपानी नाका क्षेत्रको सडक स्तरोन्नति र सोही रुटबाट मानसरोबर पर्यटकीय मार्गका लागि राजनीतिक र कुटनीतिक पहल गर्न ध्यानाकार्षणपत्र बुझाएको उनले बताए । चीन भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी लि छ्याङबीच प्रतिमण्डलस्तरीय वार्तापछि जारी संयुक्त वक्तव्यमा अरनिको राजमार्ग मर्मत सम्भार आयोजनाको चौथो चरणको काम गर्न चिनियाँ पक्ष तयार भएको उल्लेख छ । जसअनुसार नाकासम्म पुग्ने सडक मर्मत एवम् सम्भार हुनेमा भने आशा गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्