अविरल बर्षाका कारण अवरुद्ध भएको मेलम्ची नगरपालिका वडा नम्बर ११ स्थित सिमखेतमा सडक सञ्चालनमा आएको छ । मेलम्ची हेलम्बु सडक अन्तरगत पर्ने सिमखेतमा आइतबार आएको बाढीका कारण सडक अवरुद्ध भएको थियो ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ,वडा अध्यक्ष चन्द्रबहादुर तामाङ, विपद् फोकल पर्सन,इलाका प्रहरी कार्यालय मेलम्ची लगायतको टोलिले अवरुद्ध सडक अवलोकन गरेपश्चात बिहान नगरपालिकाको जेसिवि प्रयोग गरेर बाटो खुलाईएको हो ।
सडक अवरुद्ध भएका कारण यात्रुहरुमा परेको समस्यालाई मध्यनजर गर्दै बिहानैदेखिको प्रयासपछि सडक अहिले सञ्चालनमा आएको प्रमुख तामाङले बताउनुभयो । तामाङले नगरपालिकाको अन्य स्थानहरुमा पनि सडक अवरुद्ध भएका स्थानहरुमा सडक सञ्चालनका लागि तिव्र गतिमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै हेलम्बु गाउँपालिकाले हिउँदको समयमा नदि नियन्त्रका लागि गरिएको सबै प्रयास असफल भएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभएको छ । चनौटे,ग्याल्थुम र ढुंग्रे बजारमा हालिएको ग्याविन जालि समेत बाढीले बगाएपछि स्थिती तनावग्रस्त बनेको अध्यक्ष शेर्पाले बताउनुभयो ।
गाउँपालिकाको ढुंग्रे बजार देखि ग्यालथुम बजार सम्म र ग्याल्थुम बजार देखि ग्याल्थुम पुल सम्म, चनौटेको बेलिबृज देखि गणेशे बगरसम्मको सडक अवरुद्ध भएको हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लामिछानेले जानकारी दिनुभयो । तत्कालका लागि सडक सञ्चालनमा ल्याउन सक्ने स्थिति छैन हामि निरन्तर अवलोकन तथा निरिक्षणमै छौं उपाध्यक्ष लामिछानेले भन्नुभयो । खोलोको अवस्था हेरेर बस्ति संरक्षण र सडक सञ्चालनका लागि आवश्यक पहल र प्रयास गर्ने बाढी प्रभावित समेत रहनुभएकी उपाध्यक्ष लामिछानेले बताउनुभयो ।
यसैगरी पाँचपोखरी थाङपाल गाउँपालिकोको खाल्डे गेट अगाडी उतिस घारीमा खोलाले कटिङ गरेका कारण पहिरोले सडक अवरुद्ध भएको छ । त्यस्तै ड्याम साइड अगाडीको पहिरो पन्छाइएको र अहिले सडक सञ्चालनमा आएको अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । अध्यक्ष लामाले प्राकृतिक विपत्तिका कारण ठुलो क्षति ब्यहोर्नु परेको भन्दै पालिकाबासिहरुमा धैर्य गरि सुरक्षित रहन आग्रह गर्नुभएको छ ।
अध्यक्ष लामाले अवरुद्ध भएका सडकहरु सञ्चालनका लागि निरन्तर लागि परेको बताउनुभयो । कतिपय स्थानमा अवरुद्ध भएका सडक सञ्चालनमा आएको उल्लेख गर्दै लामाले खाल्डे खोला स्थित उत्तिसघारीमा भने केहि समय लाग्ने बताउनुभयो । अध्यक्ष लामाले अतिआवश्यक काम परेमा मात्र घरबाट निस्कन र यात्रा गर्न आग्रह गर्दै तत्कालको लागि खाल्डे –लागर्चे तिपेनीको सडक वैकल्पिक रुपमा प्रयोग गर्न सुझाउनुभयो ।रेडियो मेलम्ची
प्रतिक्रिया दिनुहोस्