२०८१ जेष्ठ ६

मैले देखे भोगेको मदन भण्डारी

मैले देखे भोगेको मदन भण्डारी
किशोर श्रेष्ठ -पञ्चायती शासनको उत्कर्षको बेला,२०४६ साल भदौको एक दिन सुनकोशी छापाखानाबाट दृष्टि साप्ताहिकका सम्पादक तथा कवि नारायण ढकाल अफगानिस्तान जाने भन्दै अकस्मात हराउनुभयो । लामो समय उहाँको पत्तो भएन । खासमा उहाँ सिराहा जानुभएको रहेछ । एकदिन आउनुभयो र धारावाहिक खवरसहित आउनुभयो-खवर थियो,”नेकपा मालेको चौथो महाधिवेशनबाट नयाँ नेतृत्व छानिएको ।” अनि क्रमशः लेखहरु आउन थाले राजमोति र अभिमन्युको नाममा । त्यति नै बेला सोभियत संघलाई कसरी हेर्ने भन्नेवारे पनि विक्रम नेपाली (गोपाल शाक्य समूह) बाट बहस छेडिन थाल्यो किनकि त्यतिखेर त्यहाँको कम्युनिस्ट पार्टीका महासचिव मिखाइल गोर्वाचेभको पेरेस्त्रोइका र ग्लास्तनोस्तवाला उदारवादी हावा जो उत्कर्षमा थियो ।

त्यसैगरी चीनको थ्यानआनमेन चोकलाई पनि स्वतन्त्रता र प्रजातन्त्रका नाममा विद्यार्थीहरुको धर्नाले तनाव थप्दै थियो । हाम्रै टीमका अग्रज रघु पन्तलाई समेत चीनको तरङ्गले नछुने कुरै भएन । त्यसैले उहाँ त्यस्तै स्वतन्त्रताको पक्षमा लेख्न थाल्नुभयो । यसरी पार्टीको आधिकारिक पत्रिका दृष्टि पार्टी लाइनभन्दा अलि बाहिर जाने हो कि भन्ने त्रास उत्पन्न भयो । र, दृष्टिभित्रकै यौटा टीम नवयुग नामक बुलेटिन निकाल्ने काममा खटियो । त्यसमा पर्दा पछाडिबाट सँलग्न हुनुहुँदो रहेछ,मदन भण्डारी ।

नवयुग त निकाल्यौँ भूमिगत रुपमा तर बजारमा लान र प्रशासनको आँखामा बैधानिकताको धुलो छ्याप्न सम्पादक,प्रकाशकको नाम राख्नैपर्थ्यो । त्यसैले नेकपा मालेको फुल फर्म (नेत्रकमल पाठक,मानेडाँडा लेकथुम भन्ने नाम र थरसहित) जुराएर नक्कली काम गरियो । फागुन ७ देखि त आन्दोलन शुरु भैहाल्यो । २०४६ सालको परिवर्तनलगत्तै मदन भण्डारी एकदिन सुनकोशी छापाखाना,कालीमाटीको कार्यालयमा खुसुक्क प्रकट हुनुभयो । त्यतिबेलासम्म हामीले उहाँलाई मदन भण्डारी नै हो भनेर चिनिसकेको अवस्था थिएन । मोटोमोटो ज्यान,हँसिलो,मीठो बोल्ने,त्यस्तो पात्रलाई पार्टीको ठूलै नेता भनेर त अनुमान लगायौँ तर महासचिव नै भनेर खुलिसक्नुभएको थिएन । पार्टी प्रवक्ताको रुपमा उहाँका बोली व्यवहारबाट जो कोही प्रभावित नहुने कुरै भएन । कति नै थिए र त्योबेला पार्टीनिकट पत्रकार र पार्टीका आफ्ना अखबार !

कति नै थिए र संकटको घडीमा काँध थाप्ने गरी प्रकट हुने बफादार,अनुशासित बुध्दिजीवी र कलमजीवी सिपाहीहरु !

एक नम्बर वरियताको नेता भैकन पनि सबैसङ्ग बस्ने,खाने,मन माझ्ने,घमण्ड नगर्ने,ठूलो नपल्टिने,राम्रो लवाइखुवाइ नगर्ने मानिसलाई प्रवक्ताको रुपमा छेउमै पाउनु ७०० रुपैयाँ तलबको भरमा काम गर्ने हाम्रानिम्ति गर्वको बिषय थियो । विद्यार्थी राजनीति गर्ने,त्यहाँबाट बचेको समय पत्रकारितामा पनि लगाउने काममा खटिएका हामीलाई सरल र सहज नेताको साथ पाउँदा कम्युनिष्ट आदर्श भनेको यस्तो हुनुपर्छ भन्ने लाग्ने नै भयो । सुनिरहुँजस्तो लाग्ने,संस्कृत र उर्दूमा झर्रो नेपाली मिसिएको त्यस्तो बोलीको धनी मदन भण्डारी आएर सुनकोशी छापाखानामा उर्जा दिइरहनुभयो । पछि पो चिन्यौँ,यतिन्जेल हामीसङ्ग रम्ने उहाँ पार्टीको महासचिव नै हुनुहुँदो रहेछ । अब विदेशीहरुसँगको भेटघाट बाक्लिन थाले । त्यससँगै बागबजारमा पार्टी कार्यालय खुल्यो ।

त्यहाँ हाम्रो पनि जाने-आउने क्रम चल्ने नै भयो । दृष्टिको तत्कालीन व्यवस्थापनमा अनुशासन र मितव्ययिता भन्दै टीमको खाजा कटौती गरेर श्रमजीवी क्याडरलाई काममा जोताउने तर अरु नै नेताहरुलाई भने सँस्थाको खर्चबाट ओभरकोटसमेत किनिदिने साथीहरु पनि हुनुहुन्थ्यो तर हामीले यसमा कुनै गुनासो गरेनौँ । किनभने थाहा थियो,हामी जे गर्दैछौँ,पार्टीको लागि गर्दैछौं र यहाँ मदन भण्डारीजस्तो नेता पनि हुनुहुन्छ जो सादगीमा विश्वास गर्नुहुन्छ र सामूहिकतामा रमाउनुहुन्छ । त्यसले गुनासो उठ्न नदिने काम स्वतः हुने नै भयो । शीर्ष नेतृत्व गुणी हुँदा या इन्जिन दह्रो भैदिँदा रेलका डब्बाहरु उर्जारुपी कोइला कम भए पनि छुकछुक गतिमै किन नहोस् लिक नछाडी कुदिरहन्छन् भन्ने यो मीठो भोगाइ हो मेरो जीवनको ।

एकदिनको सम्झना छ,मदनले भिजिटिङ कार्ड बनाउनुपर्‍यो भन्नुभएको । नक्सालमा डेरा थियो उहाँको । सायद हामी प्रेससँग सम्बध्द रहेको र त्यो पनि पार्टीकै पृन्टिङ्ग प्रेस भएको हुनाले अखबार छपाइसहित दुबै काम एक ठाउँबाट हुने गर्दछ भन्ने लागेको थियो होला उहाँलाई,त्यसैले भिजिटिङ कार्ड बनाइदिन मलाई भन्नुभएको । तर सुनकोशी छापाखानाको व्यवस्थापक त उत्तम महतजी हुनुहुन्थ्यो । पैसाको मामिलामा उत्तिकै कडा उहाँले त्यत्तिकै किन छाप्न मान्नुहुन्थ्यो र ? जीवनमा अफसोच यही छ कि,मैले मदन कमरेडलाई त्यहीबेला उहाँको चाहनाअनुसार भिजिटिङ कार्ड छापेर दिन सकिनँ,न त मेरो सीमा र बाध्यता नै बताउन सकेँ । तर,पनि सधैँ उहाँको प्रिय भइरहेँ भन्ने कुरामा अझै पनि गर्व गर्दछु । उहाँले एउटा आशालाग्दो,भर्खर उदाएको पत्रकार हो,यसलाई उठाउनुपर्छ भनेरै मलाई नयाँ दिल्ली लिएर जानुभयो भने राजेन्द्र स्थापितलाई कलकत्ता लानुभयो ।

पश्चिम बङ्गालका मुख्यमन्त्री ज्योति बसुसँगको भेटघाट,विनोद मिश्रसँगको छलफल र भाकपा माले (लिबरेशन) को कलकत्ताको ब्रिगेड मैदानमा आयोजित आमसभालगायतका कार्यक्रमहरुमा सरिक गराउनुभयो ।

म भाकपा मार्क्सवादीका महासचिव हरकिसनसिंह सुरजितलगायत भाकपा मालेकै दिल्लीस्थित हेडक्वार्टरको भ्रमण,कम्बोडियन र भियतनामी दूतावासमा राजनीतिक मामिला हेर्ने अफिसरहरुसँगको भेटघाटमा पनि सरिक भएँ ।झिल्लुप्रसाद तिवारी,केशवलाल श्रेष्ठ पनि सँगै हुनुहुन्थ्यो । हामी पुरानो दिल्लीको एउटा धर्मशालामा बास बसेको,सँगै सादगी भोजन गरेको,हाइफाइवाला होटेल,गाडी र खाना नखोजेको-मदनको त्यस्तो सादगी जीवनको सम्झना छ मसङ्ग । त्यसरी फर्केपछि पाँचौँ महाधिवेशनको चटारो र टनकपुर (महाकाली) सन्धिको उत्कर्षवीच कन्चनपुर गएको,जुलुसमा सामेल भएको र टनकपुर बाँधको निरीक्षण गरेको,दाङ्ग हुँदै फर्केको पनि सम्झना छ । त्यतिखेर पार्टीमा अलिकति फरक मत पनि प्रकट भइसकेको स्थिति थियो । अशोक राई,सिपी मैनालीहरुको एउटा धार थियो ।

अशोक राई र मदन पूर्वमा पनि सँगै काम गर्नुभएको हुनाले एकै ठाउँमा हुनुहोला भन्ने त लाग्थ्यो तर उहाँहरुको वीचमा लाइनको हिसाबले फरकपना आइसकेको रहेछ । त्यसैले अशोक राई फरक कित्तातिर हुँदाखेरि सँगै गाडीमा लिएर आउने कि नआउने भन्ने कुरा पनि अलिअलि विवाद हुँदा मदनले हैन,त्यसो नगरौँ भनेर सँगै हिँडाउनुभएको मसङ्ग अर्को सम्झना छ । पाँचौँ महाधिवेशनको बेला प्रचारको क्रममा हामी जुटेको, खुलेको पनि सम्झना छ । प्रज्ञा भवनभित्र महाधिवेशनको हलमा रघु पन्त सामाजिक जनवादको लाइन लिएर आउनुभएको थियो,तर आफ्नो एक भोट पनि नहालिकन राती नै निस्केर घर जानुभयो । सिपी मैनाली, मोहनचन्द्र अधिकारी,सानु श्रेष्ठ (पूर्व बाग्मती प्रदेश सभामुख) लगायत एउटा पंक्ति मदनको लाइनको विपक्षमा थियो भने पूर्व महासचिव झलनाथ खनाल बहुदलीय जनवादलाई “दक्ष प्रजापतिको टाउको” भनिराख्नुहुन्थ्यो ।

यही सेरोफेरोमा मदनले बहुदलीय जनवादवारे ब्याख्यासहित दृष्टिलाई एउटा अन्तर्वार्ता दिनुभयो । मैले नै लिएको अन्तर्वार्ता हो त्यो । मेरो अडियो उतारपछि आफैँले आएर त्यसमा सामान्य करेक्सन गर्नुभयो र बेलुका फोन गरेर जहाँ जहाँ बहुदलीय जनवाद छ,त्यसको अगाडि “जनताको” शब्द थप्न लगाउनुभयो । मैले यसरी भीमसेन राजवाहकलाई सिसाको अक्षरमा एक एक शब्द टिप्दै तयार पार्न लगाएको “कालीदासको क नपढी जनताको बहुदलीय जनवाद बुझिन्न” शीर्षकको त्यो अन्तर्वार्ता प्रकाशन गरेको आजैजस्तो लाग्छ । पार्टीको आधिकारिक पूर्वप्रकाशन भइकन पनि प्रकाश साप्ताहिक महाधिवेशनताका सिपी मैनाली निकट भएर छापिन थाल्यो । र, मदनले नै आफ्नो अन्तर्वार्ता दृष्टि र दृष्टिको सहप्रकाशन सूर्य मासिकमा प्रकाशन हुने तयारीका वीच मोहनचन्द्र अधिकारी र सिपी मैनालीको पनि विचार लिएर सँगै छाप्नुहोला है,यसले गर्दा सन्तुलन रहन्छ,पेशागत मर्यादा देखिन्छ,एकपक्षीय होइन भन्ने पनि पुष्टि हुन्छ भन्दै मलाई निर्देशन दिनुभयो ,मैले कहिल्यै नबिर्सने प्रसङ्ग हो यो ।

विजय सैँजु र मैले नै हो नक्सालको डेरामा उहाँले घाम ताप्दै,दृष्टि पढ्दै गरेको,खैरो कोट र कालो टोपीमा सजिएको तस्बिर खिचेको,जुन फोटो अहिले पनि प्रयोग हुन्छ बेला बेला । संयोगवश २०५० को वैशाखतिर उहाँ चीन जाने कुरा चल्यो । त्यतिबेला चिनियाँ कम्युनिस्ट पार्टीको चौथो वरियताक्रममा हुनुहुन्थ्यो हु चिन्ताओ,उहाँसँग पनि भेट गर्ने कार्यक्रम बन्यो । अमृत बोहरा,सानु मिश्र,हरि पाण्डे,माधवकुमार नेपाल,केपी ओली,मुकुन्द न्यौपाने,बाचस्पति देवकोटा,योगेन्द्र साहलगायतको टिम छनोट हुँदाखेरि मदनले पत्रकारको तर्फबाट मलाई पनि राख्नुभएको थियो ।

तर पछि के कारणले हो,म त्यसमा परिनँ । उताबाट खबर भने आइराख्थे फोनमा,हामी न्युज टिप्थ्यौँ,लेख्थ्यौँ र देशवासीलाई सुसूचित गर्थ्यौ । अहिलेजस्तो इमेल,फेसबुकको जमाना कहाँ थियो र जहाँ कहिँबाट फ्याट्ट सेन्ड या पोस्ट गर्नलाई ! उताबाट फर्केपछि पोखरा हुँदै चितवन जाने कुरा भयो । जेठ १ गते उहाँ पोखरा जानुअगाडि बेलुका टेलिफोनमा अन्तिम संवाद भयो । उताबाट न्युज कसरी पठाउने त भन्ने कुरा उठ्दा उहाँले ड्राइभर अमर लामाले कार्यक्रम अवधिभर सँगै बसेर त्यसको टिपोट गर्ने र पछि फोनमा टिपाउने,अनि मैले त्यसआधारमा न्युज बनाउने भन्ने सहमति भएको थियो ।

तर,अफसोच अमर लामाबाट आउने भनिएका महासचिव र सँगठन विभाग प्रमुखका गतिविधिसम्बन्धी समाचार जेठ ३ गते दिउँसो दासढुङ्गाबाट अर्कै रुपमा,प्रधान सेनापति गडुल समशेरबाट सुन्न पर्यो । त्यसपछिका प्रसंगहरु त सबैसामु छर्लङ्गै छन् ।

उहाँ पिलग्रिम्स बुकस्टोरमा यस्तो किताब पाइन्छ,न्यूयोर्क टाइम्समा यस्तो सामग्री छापिएको छ,खोजेर ल्याइदिनु भन्नुहुन्थ्यो । ती आग्रहको लिखत मसँग सुरक्षित छ । उहाँले भनेका प्रायः सबै कामहरु मैले इमानका साथ र मनैदेखि कार्यान्वयन गर्न सकभर कोसिस गरेँजस्तो लाग्छ ।

एउटै गुनासो छ,त्यो भिजिटिङ कार्ड बनाएर लगिदिन सकिनँ । त्यसो त त्यतिखेर विदेश विभागमा बसेका र विदेशीसँग सम्बन्ध राख्ने काममा खटिएका युवा संघका उदयराज पाण्डेसहित जल्दाबल्दा साथीहरुले मैले त्यसरी भिजिटिङ्ग कार्ड बनाएर लग्दा उहाँहरुको क्षेत्राधिकारमा दखल गरेको या अन्यथा मान्ने खतरा पनि छँदै थियो ।

कारक र कारण जेसुकै होस्,यत्ति जिम्मेवारी पूरा गर्न नसकेकोमा चाहिँ मलाई खेद छ,दुःख छ । घरिघरि लाग्छ,त्यति सानो काम पनि किन गर्न सकिनँ होला !

प्रतिक्रिया दिनुहोस्