२०८१ श्रावण १२
                           

मार्क्स, क्युबा र कोरोना

Karl Max

भरत पोखरेल

-भरत पोखरेल

मार्क्सको आज २०२ औं जन्म जयन्ती । मार्क्सवादी सिद्धान्तले लैस रुसको बोल्सेभिक पार्टीको नेतृत्वमा सन १९१७ अक्टोबर क्रान्तिको ५० वर्ष पछि विश्वमा २९ वटा समाजवादी सरकार बने । अक्टोबर क्रान्तिको १०० वर्षपछि २१ औं सताब्दीमा विश्वमा थोरैमात्र समाजवादी सरकारहरू अस्तित्वमा रहेका छन् त्यसमध्येको एउटा क्युबाको सरकार अझै समाजवादी बाटोमा बढिरहेको छ । फिडेल काष्ट्रो सत्तामा आएपछि अमेरिकाले सन १९६० बाट क्युबालाई आर्थिक प्रतिबन्ध लाउँदै आएको छ । ओबामाले क्युबा–अमेरिका सम्बन्ध केही सुधार गर्ने प्रयास गरे पनि ट्रम्पले त्यसलाई बिगारीरहेका छन् । चीनको आठौं ठूलो सहर उहानको १ करोड १० लाख जनसंख्या जत्तिनै क्युबाको जनसंख्या रहेको छ र क्युबामा डाक्टरहरूको संख्या ९५ हजार छ जहाँ १,००० जनामा एक डाक्टर अनुपात हुन्छ । सन १९६० देखि अहिलेसम्म क्युबाले ६ लाख स्वास्थ्यकर्मी १६० देशमा पठाएर सेवा दिएको छ । क्युबाका ५५ हजार स्वास्थ्यकर्मी ६७ देशहरूमा कार्यरत छन् । क्युबाका विदेशमा कामगर्ने स्वास्थ्यकर्मीहरूले क्युबालाई वार्षिक ६ बिलियन अमेरिकी डलर आम्दानी गराउँछन् ।

क्युबाका स्वास्थ्यकर्मीहरूको विश्वमा भएको स्वास्थ्य समस्यामा सहयोग गर्ने परम्परा रहिआएको छ । फिडेल काष्ट्रोले गठन गरेको सेता कोटका सेनाले समस्याग्रस्त क्षेत्रमा काम गरेका छन् । हैटीको हैजा र पश्चिम अफ्रिकाको इबोला निर्मूल पार्न क्युबाका डाक्टरहरू नै अग्रपंक्तिमा थिए । बोलिभिया, इक्वीडोर र ब्राजिलमा हजारौंको संख्यामा क्युबाली डाक्टररू कार्यरत थिए । अमेरिकाको दबाबमा सन २०१८ मा ती देशले क्युबाली डाक्टर फिर्ता पठाए । अहिले कोरोना भाइरसको बेला ती डाक्टर फेरि पठाइदिन अनुरोध गरिरहेका छन् । कोरोना संक्रमणका बेला सहयोग गर्न चिनियाँ अलिबाबाका संस्थापक ज्याकमाले क्युबा, क्यारेबियन र दक्षिण अमेरिकी २३ देशहरूलाई २० लाख मास्क, ४ लाख टेस्ट किट्स, १०४ भेन्टिलेटर पठाउन कोलम्बियाली एभिएन्का एअरलाइन्सले चीनमा सामान लोड गरी ठीक्क पारेका थियो तर अमेरिकीहरूको मुख्य शेयर रहेको सो एअरलाइन्सले अमेरिकाको दबाबमा उक्त सामग्री पु¥याउन अस्वीकार ग¥यो । क्युबाले स्वास्थ्य सेवामा भेनेजुएलालाई सहयोग गरेको भनेर अत्तो थाप्यो ।

कोराना भाइरस (कोभिड–१९) ले सबैभन्दा बढी असर गर्ने देश इटाली पनि एक हो । इटाली सरकारले क्युबाली राष्ट्रपति मिगुएल डायज–क्यानेल बर्मुडेजसँग स्वास्थ्यकर्मीको सहयोग माग्यो । मार्च २१, २०२० मा इटालीको सबैभन्दा कोरोना प्रभावित क्षेत्र लोम्बार्डीमा सहयोगका लागि ५३ डाक्टर र नर्सहरूको टोली हवानाबाट उडान गर्दै मिलानको मालपेन्सा एअरपोर्टमा ओर्लियो । क्युबाली स्वास्थ्यकर्मीहरूले लोम्बार्डीमा रातदिन खटेर काम गरे ।

विश्वमा कोरोना भाइरस (कोभिड–१९) को महाव्याधि चलिरहँदा समाजवादी देशहरू बाहेक अरु कुनै पनि देश अर्को देशको सहयोगका लागि गएका छैनन् । चीन र क्युबाका स्वास्थ्यकर्मीहरू ५९ देशहरूमा यो बेलामा कार्यरत छन् । संकटको बेलामा स्वास्थ्य समस्या समाधान गर्ने क्युबाको लामो अनुभव छ । अहिले कार्ल मार्क्सको जयन्ती मनाउने बेलामा विश्व कोरोना संकटले ग्रस्त छ । उदारवादी, नवउदारवादी विचारका व्यक्तिहरू पनि अब विश्व प्रजातान्त्रिक समाजवादको रहने भन्न थालेका छन् । पुँजीवादीहरू मार्क्स पढ्न थालेका छन् । विश्वमा मार्क्सवादी समाजवादको बहस चल्न थालेको छ । मार्क्सको सान्दर्भिकता फेरि विश्वभरि टडकारो रूपमा बढेको छ ।

(लेखकको फेसबुकबाट)

प्रतिक्रिया दिनुहोस्