२०८१ जेष्ठ ८

हिमाली कोपिला फुलाउँदै ‘रत्नराज्य’

रामकृष्ण थापा-शेर्पा बस्ती दीपुगाउँ हिमालमुनि ब्रह्मायणी नदीको मुहान क्षेत्रमा पर्छ। भूकम्पपछि धेरैले गाउँ छोडे। विकल्प नभएकाहरू त्यहीँ छन्। जुगल हिमालको फेदी दीपुगाउँमा जन्मिएकी लाक्पा डोल्मा सात वर्षकी भइन्। सहरबजारमा जन्मेको भए उनी अहिले कक्षा तीन–चारमा पढ्दै गरेकी हुन्थिन्।

पोहोरसम्म लाक्पा उतै थिइन्, वस्तु गोठालीका रूपमा। विकसित विज्ञान प्रविधिबाट टाढा रहेकी उनलाई समयले अवसर दियो। त्यसैले आज उनी शिक्षाको उज्यालोमा फुलेकी छिन्।

लाक्पा जुगल गाउँपालिका– ४ चनौटेस्थित रत्नराज्य माध्यमिक विद्यालयको कक्षा एकमा पढ्छिन्। नयाँ पत्रिकाकर्मी त्यहाँ पुग्दा उनी क्यान्टिनमा खाना खाँदै थिइन्।

उनको मुहार खुसीले भरिएको थियो। आजभोलि बोल्न धेरै सिकिसकेकी छिन्। लाक्पा बस्ने होस्टेल चीन सरकारले एक अर्ब खर्च गरेर बनाइदिएको सुविधासम्पन्न विद्यालयको हो।

जुगल हिमालकै फेदीमा रहेको अर्को विकट गाउँ तेम्बाथाङकी नौ वर्षीया पेमा डोल्मा तीन कक्षामा पढ्छिन्। लाक्पाजस्तै पेमा पनि होस्टेलमा बस्छिन्।

क्यान्टिनमै भेटिएकी पेमाले भनिन्, ‘आमाबुबा हिमालतिरै हुनुहुन्छ। न्यास्रो लाग्छ। तर, हामीजस्तै विकट ठाउँबाट आएर होस्टेलमा बस्ने साथी र गुरुवर्गले गर्दा फेरि रमाइलो पनि लागिरहेको छ।’

पेमाभन्दा लाक्पा कलिलै भएकाले दसैँ बिदामा बुबा लिन आउनुहुन्छ भन्दै अनुहार अँध्यारो बनाइन्। होस्टेलमा दुई सय बालबालिका बस्छन्। होस्टेलको सुविधा पाएपछि गोल्चे, गुम्बा, पाङताङको माथिल्लो बस्तीका बालबालिका पढ्न हिमालबाट बेँसी झरेका हुन्। दीपु, साङ्लुङ, तेम्बाथाङमा विद्यालय, बाटो, बिजुली र स्वास्थ्य सुविधा छैन।

विद्यालय प्रांगणमा भेटिएका शिक्षक पुष्प तिमल्सिना विकट गाउँका बस्तीबाट आएका बालबालिका पढाउन पाउँदा आफूलाई भाग्यमानी ठान्छन्। ‘समस्या धेरै छन्। तर, मूलभूत कुरा विकट क्षेत्रका बालबालिकाले शिक्षाको ज्योति पाएर फुल्ने मौका पाएका छन्।  हामी शिक्षक यही कुराले खुसी छौँ,’ उनले भने।

यस विद्यालयमा पाँच सयभन्दा बढी विद्यार्थी पढ्छन्। लाक्पा र पेमाजस्ता दुई सयलाई होस्टेल ल्याउन सफल विद्यालयले विकट बस्तीमा छुटेका केही बालबालिका ल्याउन अझै प्रयास गरिरहेको छ।

विद्यालय भवन र होस्टेल निकै आकर्षक छन्। होस्टेलभित्रका सुविधा, कक्षाकोठा, कम्प्युटर तथा विज्ञान प्रयोगशाला, प्रशासन, क्यान्टिन र खेलकुद मैदान सबै चिनियाँ मोडेलका छन्।

ठूलो खर्चमा बनेको विद्यालयलाई भौतिक रूपमा सधैँ उस्तै राख्न कठिन परेको शिक्षकहरू बताउँछन्। वार्षिक एक करोडभन्दा बढी खर्च हुने होस्टेलका लागि बागमती प्रदेश सरकारले ८० लाख अनुदान दिने गरेको छ। अभिभावकको आर्थिक अवस्था कमजोर छ। विद्यार्थीले शुल्क तिर्न सक्दैनन्।

विद्यालयको अन्य स्रोत नभएकाले आर्थिक भार थेग्न नसक्ने अवस्था रहेको शिक्षक हरिचन्द्र पौडेल बताउँछन्। उनले भने, ‘चिनियाँले ठूलो सहयोग गरेर फर्के। तर, यत्रो संरचना ‘गरिबलाई हात्ती’जस्तो भएको छ।’

समय ढल्कँदै जाँदा उचित मर्मतसम्भार नभएकाले विद्यालय भवन र फर्निचर भत्किन–बिग्रन थालेका छन्। विकट क्षेत्रको शैक्षिकस्तर उकास्ने हो भने सरकारले यस्ता विद्यालयका लागि स्थायी आर्थिक स्रोत थपिदिनुपर्ने आवश्यकता छ। नयाँ पत्रिका

messenger sharing button
sharethis sharing button

प्रतिक्रिया दिनुहोस्