२०८० चैत्र १६

मार्क्स, लेनिन, माओ र विरोधशास्त्र

भरत पोखरेल – आज मे ५ अर्थात् मार्क्स जयन्ती । मार्क्सको उल्लेख गरेपछि कडि लेनिन र माओसम्म जोडिन्छ । मार्क्स, लेनिन र माओ बारे वर्षेनी धेरै पुस्तक प्रकाशित हुन्छन् । पुस्तक समर्थन र विरोध दुबैमा छन् । केही वर्ष यता मार्क्स, लेनिन र माओका विरोधमा “अनुसन्धान” गरिएका केही पुस्तक प्रचारमा रहेका छन् । यहाँ विरोधका तीनवटा पुस्तकको सानो चर्चामात्र गरिएको छ । मेरी ग्याबृयलको सन २०११ मा प्रकाशित पृष्ठ ७६८ को पुस्तक “लभ एण्ड क्यापिटल” विश्वमा र नेपालमा पनि निकै चर्चामा रह्यो ।
एक समय मार्क्सवादी साहित्य अनुवादका अग्रज व्यक्तिको “प्रेम र पुँजी” समीक्षा लेखोट धेरैले पढेकै हो । मार्क्सवादबाट उनको विचलनको वक्तव्य भनेर मार्क्सवादी वृत्तमा चर्चा नै चल्यो । यतिमात्र कहाँ हो र मार्क्सवादी नाम गरेको संगठनको एक सदस्यको बलात्कारी मार्क्स लेखसम्म पढियो । मार्क्सवाद विरोधीहरूलाई त ग्याबृयलको पुस्तक प्यारो हुने नै भयो । सन २००७-८ मा विश्वमा वित्तीय संकट आएपछि विश्वले फेरि मार्क्स पढ्न थाल्यो । मार्क्सको लोकप्रियता रोक्न पुँजीपतिहरूले ग्याबृयललाई लोभ्याए । लभ एण्ड क्यापिटल २०११ मा प्रकाशित भयो तर पुँजीवादी संकट झन विकराल बन्दै गयो । ग्याबृयलको सान्दर्भिकतामा ह्रास आयो ।
अमेरिका र फ्रान्समा पढेकी, एकसमय वाशिङ्टन र लन्डनमा रायटरकी सम्पादक ग्याबृयललाई आफ्नै विरादरीका मानिसहरूले यति आलोचना गरे कि ६७ वर्षको उमेरमा उदासीनतामा आयरल्यान्डमा ऊनी एकान्तबास बसेकी छिन् । मार्क्सको चरित्रको अनावश्यक चर्चाले उनको लभ एण्ड क्यापिटल सोल्जेनित्सिनको लेनिन इन जुरिच जस्तै सन्दर्भहीन हुँदै गएको छ । मार्क्स पढ्नेहरूको संख्या बढ्दै छ ।
लेनिनबारे पनि धेरै समर्थन र विरोधमा पुस्तक लेखिएका छन् । क्वीन मेरी विश्वविद्यालय, लन्डन इतिहासकी प्राध्यापक ६३ वर्षीया क्याथरिन मेरिडेलले २०१६ मा ३६८ पृष्ठको पुस्तक “लेनिन अन द ट्रेन” लेखिन । यो पुस्तकको विषयवस्तु रुसी क्रान्ति उत्कर्षमा रहेको वर्ष १९१७ मा लेनिनको यात्रा जुरिच (स्वीट्जरल्यान्ड) देखि पेत्रोगार्ड (रुस) सम्मको भएपनि रुसी क्रान्तिको इतिहास चर्चा गरिएको छ । १९१६ मा रुसमा २४३ हडताल भएका थिए १९१७ को जनवरी – फेब्रुअरी मा हजारभन्दा बढी हडताल भए ।
मेरिडेलले लेनिनलाई राजनीतिक आलोचना गरेकी छन् । उनले लेनिनलाई रुसको पार्टी फुटाएर बोल्सेभिक र मेन्सेभिक बनाएको आरोप मात्र लाएकी छैनन् स्वीट्जरल्यान्डको पार्टी समेत फुटाउन खोजेको दोषी देखाउन खोजेकी छन् । मेरिडेल मेन्सेभिक समर्थक हुन् । उनको पुस्तकको राजनीतिक-दार्शनिक आधार रुसका मेन्सेभिक नेता निकोलाइ सुखानोभ हुन् । पुस्तकमा सबैभन्दा बढी सन्दर्भ सुखानोभको पुस्तक “द रसियन रिभोल्युसन” बाट लिएको देखिन्छ । यो पुस्तक बाहिर चर्चामा रहेपनि नेपालमा यसबारे चर्चा पढिएन सुनिएन ।
माओबारे त समर्थन र विरोधमा बग्रेल्ती पुस्तक छन् । अमेरिका, पेन्सिलभानिय स्वार्थमोर कलेज संगीत र कला संकायकी सहप्राध्यापक चिनियाँ मूलकी अमेरिकी नागरिक ३७ वर्षीया लेइ एक्स औयाङको २३२ पृष्ठको २०२२ मा “म्युजिक याज माओज विपन” पुस्तक प्रकाशित भयो । यो सानो पुस्तकको मूल्य चाहिँ निकै चर्को छ; अमेरिकी डलर १४० अर्थात् आजको विनिमय दरमा नेपाली रुपैयाँ १८,३४० पर्छ ।
शीर्षक माओको समर्थन जस्तो देखिए पनि पुस्तकमा माओ र सांस्कृतिक क्रान्तिको विरोध गरिएको छ । औयाङले माओको पालामा चिनियाँ संगीत छ क्षेत्रमा सीमित रहेको लेखेकी छन् । १. चिनियाँ शास्त्रीय संगीत २. चिनियाँ कम्युनिस्ट पार्टी, माओ र चीन ३. मजदुर, किसान र सेना ४. युवा तथा बालबालिका ५. आदिवासी र जनजाति ६. अन्तर्राष्ट्रिय सम्बन्ध । यो पुस्तक संशोधनवादको नमूना उदाहरण हो । यो पुस्तकको पनि नेपालमा चर्चा चलेको थाहा भएन ।
२८ जून २०२२ मा जन मेलको फेसबुक स्टाटसमा पुस्तकको आवरण चाहिँ राखिएको छ ।आज पनि मार्क्सवाद, लेनिनवाद र माओवादबारे विश्वमा विवाद र बहस चलिरहेका छन् । पक्ष र विपक्षमा पुस्तक प्रकाशित भइरहेका छन् । माथि उल्लेख गरिएका तीनवटै पुस्तक “अनुसन्धान” को आवरणमा प्रायोजित रूपमा लेखिएको आरोप छ । संयोग हो वा सुनियोजित तीनवटै लेखक महिला छन् । मार्क्सले पुँजीवादका कमजोरीबारे बोलेका छन् किनभने ऊनी पुँजीवादको समयमा बाँचेका थिए ।
लेनिनले साम्राज्यवादको विरोध गरेर साम्यवाद ल्याएकै हुन् । माओले अर्धसामन्तवाद र अर्धउपनिवेशवाद फालेकै हुन् । मार्क्स, लेनिन र माओबारे पक्ष विपक्षमा पुस्तक प्रकाशित भइरहने छन् । एउटा गम्भीर पाठकले कुन पुस्तक पढ्ने यो जटिल समस्या हो । नेपाली पुस्तक परम्परा त्यति समृद्ध छैन, भारतीय हिन्दी पुस्तक पनि धेरै समृद्ध छैन । हिन्दी – नेपाली उल्थाले नेपाली पाठकहरूलाई दिग्भ्रमित मात्र पारेको छैन स्तरोन्नतिमा समेत अवरोध पुर्याएको छ । प्रविधिको बेजोड विकास भएको छ । आफ्ना रुचिका असल पुस्तकहरू खोजौं र पढौं ।

प्रतिक्रिया दिनुहोस्