२०८१ श्रावण १२
                           

प्याज, लसुन र अर्थशास्त्र

प्याज, लसुन र अर्थशास्त्र

भरत पोखरेलभरत पोखरेल

सन २०१९ मा दक्षिण एसियामा प्याज निकै नै पिरो भयो । प्याजको मूल्यमा आएको वृद्धिले पछिल्ला सबै मूल्यको क्रमभङ्ग गर्यो । सन २०११ को जनबरी र सन २०१३ को नोभेम्बरमा पनि यस्तै स्थिति आएको थियो । सन २०११ मा दुई महिनाको अन्तरमा प्याज प्रति केजी मूल्य रु. ६४ बाट १६० पुगेको थियो भने सन २०१३ को अन्त्यतिर प्याज प्रति केजी रु. १२० पुगेको थियो । प्याजको भाउ सन २०१९ को उत्तरार्धमा यति बढ्यो कि दक्षिण एसियामा यसले निकै कोलाहल मच्चायो । भारतको उत्तर र मध्य क्षेत्रमा पहिला अध्यधिक वर्षा, पछि सुखाले प्याजखेती नास भयो । प्याजको संरक्षण हुन नसक्दा भारतभरि प्याजको मूल्यमा ३८८ प्रतिशतसम्म वृद्धि भयो । सेप्टेम्बर २०१९ मा भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लायो ।

भारतको प्याजमा आश्रित रहेको बंगलादेशमा प्याजको मूल्य पाँचगुणा बढेर किलोको टाका ५०० सम्म पुग्यो । त्यहाँकी प्रधानमन्त्री शेख हसिना वाजेदले भान्सामा प्याज वर्जित गरेको समाचार पनि आयो । प्याजको अभाव पूरा गर्न बंगलादेशले हवाईजहाजमा इजिप्ट, टर्की र पाकिस्तानबाट प्याज आयात गर्यो । हाम्रो देश नेपालमा पनि प्याज किलोको रु. २५ बाट २६० सम्म पुग्यो । प्याज किलोमा होइन पाउमा बेचिन थालियो । प्याजको मारले थला परेका उपभोक्ता सन २०२० को सुरुवातसँगै लसुनको मूल्यवृद्धिको मारमा परेका छन् । पुसको अन्तिम सातासम्म किलोको रु. १३० मा पाइने लसुन चीनबाट आउन बन्द भएपछि अहिले किलोको रु. ६०० पुगेको छ, बहाना कोरोना ।

हाम्रो जस्तो विकासशील देशमा निर्वाचन, पार्टीहरूका महाधिवेशन, बैठक पछि मूल्य वृद्धि हुने एउटा परम्परा नै बनेको छ । हालै सरकारी नेकपाको बैठक सकिएको लगत्तै लसुन लगायत आवश्यक वस्तुहरूमा मूल्यवृद्धि संयोग हो कि षडयन्त्र । पार्टीहरूको आर्थिक गतिविधि र मूल्यवृद्धिमा धनात्मक सहसम्बन्ध (पजेटिभ कोरिलेसन) को कारण के होला एउटा खोजीको विषय नै बनेको छ । हाम्रो देशमा वस्तुहरूको उत्पादन न्युन छ तर हामी राजा उपभोक्ता (किङ कन्जुमर) जस्ता भएका छौं । अमेरिकी अर्थशास्त्री एनी केस र ब्रिटिस–अमेरिकी अर्थशास्त्री एगुंस डेटोनले लेखेको मार्मिक पुस्तक डेथ्स अफ डेस्पेयरले स्वतन्त्र बजारले निश्चित आर्थिक अवधारणाको सेटबाट कसरी विशेषाधिकार प्राप्त गरेको छ भन्ने देखाउँछ । पुस्तकले पुँजीवाद अब उपयोगी रहेन, अर्थशास्त्र पनि अवांक्षित कार्यहरूमा संलग्न भएर निकम्मा बन्दै गएको व्याख्या गरेका छन् । हामीले भोगिरहेको प्याज र लसुनको मूल्य नै हालको एउटा उदाहरण होइन र ?

प्रतिक्रिया दिनुहोस्