२०८१ जेष्ठ ६

सञ्चारमा युवा आशा

अस्मिता क्षेत्री- नेतृत्वमा युवावर्गलाई ल्याउन हत्तपत्त हाम्रो समाज स्वीकार्दैन । त्यसका अनेक आयाम र कारण छन् । पुरातन सोचलाई चिर्दै युवा नेतृत्व अघि सार्ने हो भने परिणाममूलक काम बढाउन सकिन्छ भन्ने उदाहरण सञ्चारजगत्मा देखिन्छ । नेपाली सञ्चारमाध्यमको अनुगमन, नियमन, निरीक्षण गर्ने प्रमुख निकाय प्रेस काउन्सिल नेपालका पछिल्ला गतिविधि हेर्दा आशाका किरण स्पष्ट देखिन्छन् । समयको परिवर्तनसँगै आएका सुधार त छँदैछ, त्यसको नेतृत्वमा युवा अनुहार र कार्यशैली अहिले चर्चाको विषय बनेको छ । दुई वर्षअघि सम्म बालकृष्ण बस्नेतको परिचय एक श्रमजीवी पत्रकार र अधिवक्ताको रूपमा मात्र थियो । सनसनी र खोजी समाचारको पछि दगुरेर सञ्चारक्षेत्रमा अब्बल र कुशल पत्रकारको रूपमा चिनिनुभएका बस्नेतलाई तत्कालीन सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षको जिम्मेवारी जब दियो, त्यसपछि बहस सुरू भयो, सञ्चारमा युवा नेतृत्व र यसको परिणतिबारे ।

सिंगो सञ्चारमाध्यमको राम्रो÷नराम्रो पक्ष केलाउने अर्धन्यायिक निकायको प्रमुखमा ४३ वर्षीय पत्रकार बस्नेत पुग्नुभएको थियो । आउँदो जेठमा उहाँले पद सम्हालेको दुई वर्ष पुग्दैछ । यो बीचमा काउन्सिलको सक्रियता र त्यसले सञ्चारजगत्मा पारेको प्रभावले के देखाउँछ भने अब कुनै पनि क्षेत्रको नेतृत्वमा युवालाई निर्धक्क अघि सार्दा झन बढी परिणाम हासिल गर्न सकिन्छ । बस्नेत र उहाँनेतृत्वको युवा टीमले काउन्सिललाई चलायमान बनाएको छ । पत्रपत्रिकाको अनुगमनमा मात्र बढी केन्द्रित भई खुम्चिएको निकायबाट ऐन, कानुन र नीतिगत व्यवस्था सुधार्दै सञ्चारमाध्यमका सबै विधामा उच्च निगरानी हुन थालेको छ । कुनै अनलाइन सञ्चारमाध्यम होस् या युट्युबमार्फत समाचारजन्य सामग्री दिने च्यानल हुन्, प्रेस काउन्सिलको पत्रबाट सचेत हुने, कारबाहीको भयले संयमित हुन थाल्नु आफैँमा उपलब्धि हो ।

यो बीचमा बस्नेतले देखाउनुभएको सबैभन्दा राम्रो पक्ष भनेको समन्वयकारी र सन्तुलित भूमिका नै हो । २५ वर्षभन्दा बढी समयको पत्रकारिताबाट खारिनुभएका उहाँले नेपालका प्रायः सबै सम्पादक, प्रकाशक र विभिन्न समाचार कक्षका अगुवासँग नजिकै रहेर सहकार्य गर्नुभएको छ । कहिले साप्ताहिक, मासिक र कहिले दैनिक पत्रिकामा तथा कहिले अनलाइन तथा टीभीमा काम गरेको उहाँको अनुभव छ । त्यस्तै पत्रकारको साझा संस्था नेपाल पत्रकार महासंघको नेतृत्वदायी भूमिकामा रही देशभरका विभिन्न जिल्लाका पत्रकारको दुःख, पीडा, समस्या उहाँले नजिकैबाट बुझ्नुभएको छ । त्यस अनुभवलाई उहाँले काउन्सिलमा बसेर पूरापूर सदुपयोग गर्दै नेपाली प्रेसको समुन्नतिका लागि काम गरिरहनुभएको छ ।

झण्डै २० वर्ष कान्तिपुर दैनिक र इकान्तिपुर डट कमको प्रभावशाली भूमिकामा रहँदा बस्नेतले आफूलाई पत्रकारितामा निखार्नुभएको थियो । सँगै वकालत पेशालाई पनि जोड्दै जानुभएको थियो । सोही कारण कतिपय सन्दर्भमा विवादै विवादले झेलिएको इतिहाससमेत बोकेको काउन्सिल यो बीचमा सबैको सम्मानयोग्य निकायको रूपमा स्थापित बनेको छ । गत स्थानीय तहको निर्वाचन, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सञ्चारमाध्यमको अनुगमनमा काउन्सिलको प्रभावकारी र सन्तुलित भूमिका देखियो । पत्रकार र सञ्चारमाध्यमलाई आचारसंहिताभित्रै राख्न, युट्युबसहित सामाजिक सञ्जालबाट हुने गालीगलौज रोक्न विभिन्न सन्देशमूलक अभियान, अमुक दललाई भोट हाल्न सञ्चार संगठन स्वयंले जारी गरेको वक्तव्यलाई निस्तेजजस्ता कामले काउन्सिलको गरिमा थपेको छ ।

त्यसैगरी रोकिएका पत्रपत्रिका वर्गीकरण नतिजालाई समयमै प्रकाशन गर्ने, वर्गीकरणका मापदण्ड वैज्ञानिक र पारदर्शी बनाउने, हुबहु सार्ने अनलाइन,, पत्रपत्रिकालाई कारबाही गर्ने, बार्गेनिङ पत्रकारितालाई निरुत्साहित गर्न बस्नेतले निडर भई काम देखाइरहनुभएको छ । पत्रकारिताको आवरणमा गलत काम गर्ने पत्रकार, प्रेस पास र पँहेलो ज्याकेटको दुरुपयोग गर्नेलाई काउन्सिलले उच्च निगरानीमा राख्दै कालो सूचीमा राख्ने तहसम्मको कारबाही गर्दै आएको छ ।

आचारसंहिता उल्लंघन गर्ने सञ्चारमाध्यम र पत्रकारलाई काउन्सिलमै बोलाई कक्षा लिन लाउने कामको थालनी भएको छ । नयाँ खुल्ने अनलाइनलाई अभिमुखीकरण कक्षा लिनैपर्ने, मिल्दोजुल्दो नाममा अनलाइन चलाउन नपाइनेजस्ता कामले काउन्सिलको प्रभावकारिता बढाएको छ । प्रेस काउन्सिलको पुरानो ऐनलाई सुधार गर्न, प्रदेशस्तरका सञ्चारमाध्यमविरोधी कानुन सच्याउन, आम सञ्चारसम्बन्धी संघीय सरकारले ल्याउने विधेयकलाई सञ्चारमाध्यममैत्री बनाउन बस्नेतनेतृत्वको काउन्सिलले विभिन्न रचनात्मक सुझाव दिएको छ । छापाखाना र प्रेसको इतिहासका लागि प्रेस संग्रहालय बनाउनेदेखि अनुसन्धानमूलक पुस्तकको तयारी, सञ्चारमाध्यमको अंग्रेजी भाषामा वर्ष पुस्तकको सुरूवातले बस्नेतलाई थप चिनाएको छ ।

विश्व प्रेस काउन्सिलको केन्यामा भएको सम्मेलनमा अध्यक्ष बस्नेतले अनलाइन र पत्रकारले चलाउने सामाजिक सञ्जाललाई मर्यादित बनाउन साझा खालको आचारसंहिता बनाउन नेपालको तर्फबाट प्रस्ताव राख्नुभयो, त्यसबारे अरू देशमा समेत बहस भइरहेको छ । काउन्सिलमा पटक÷पटक राजनीतिक हस्तक्षेप हुन खोज्दा पनि बस्नेतले नहड्बडाइकन गर्नुभएको कामको सञ्चारक्षेत्रमा थप चर्चा भएको छ । काउन्सिल जस्तो स्वायत्त र अर्धन्यायिक निकायमा एउटा सरकारले गरेको नियुक्ति नयाँ सरकार आउनासाथ हटाउन खोज्ने, दलनिकट कार्यकर्ता भर्ती गर्न खोज्ने प्रयासलाई उहाँले सन्तुलित भूमिका देखाएर रोक्नुभयो । पत्रकार महासंघ, काउन्सिलका अग्रज नेतृत्व, सम्पादकहरूको समूहले बस्नेतलाई साथ दिए । अदालतको समेत समर्थन काउन्सिलले पायो । यसले काउन्सिलको समेत प्रतिष्ठा बढाएको छ ।

दोलखाको भीमेश्वर–५, विसुन्टोलमा जन्मिई हुर्कनुभएका बस्नेत पत्रकारिता करिअरमा नयाँ पुस्ताका लागि भरोशा र आशालाग्दा अनुहार बन्नुभएको छ । पत्रकारिता करिअरमा विभिन्न मानवअधिकारवादी संस्था, नेपाल बार एसोसिएशनसहितबाट पुरस्कृत र सम्मानित हुनुभएको छ । उहाँको नियुक्तिसँगै पछिल्ला सरकारले पनि सञ्चारक्षेत्रका अन्य निकायमा युवा अनुहारलाई नै नियुक्तिमा प्राथमिकता दिन थालेको छ– जुन आफैंमा सुखद पक्ष हो ।

प्रतिक्रिया दिनुहोस्