२०८० मंसिर २२

आमाले आज लेखेको कविता

सिन्धुपाल्चोक ,७ वैशाख
जसरी सुनसान गुफामा
पानीको थोपा तप्प-तप्प झर्दा
ठूलो आवाज आउँछ नि,
बिहानै तिमीले
मलाई सम्झेर झारेको
आँसुको थोपाको आवाज
त्यसरी आयो
र, म ब्यूझिएँ ।
तिमी किन यति हतास ?
किन यति निराश ?
मलाई थाहा छ,
तिमी
तिम्रो सपनाको उचाइ
र, तिम्रो हृदयको विशालपन
मबाहेक कसैले बुझ्दैन
त्यसैले त तिमी
अरूभन्दा फरक छौ
कुनै दिन आउनेछ
यो दुनियाँ
तिमीलाई नचिनेकोमा
पछुताउनेछ !
जसरी तिमी
भरउमेर मलाई
नचिनेकोमा पछुताइरहेछौ ।
म तिमीलाई छोडेर
कतै गएको छैन
केवल तिमीबाहेक
अरूले नदेख्ने बनिदिएको मात्रै हो !
© कला अनुरागी

प्रतिक्रिया दिनुहोस्