२०८१ बैशाख ८

कोदारी सडकमा बर्सेनि करोडौँ खर्च, तर सुध्रिएन अवस्था

सिन्धुपाल्चोक,१६ माघ

चीन जोड्ने कोदारी सडकमा चालकले ‘भगवान् भरोसा’मा लामो कन्टेनर चलाउने गर्छन् । सडकको जीर्ण अवस्था देख्दा तातोपानी नुहाउन पुगेका पर्यटकसमेत डराउनुपर्ने अवस्था छ ।

बाह्रबिसेदेखि लिपिङसम्म २६ किलोमिटर सडकको अवस्थाबारे स्थानीयले जति आवाज उठाउँछन्, उति नै जनप्रतिनिधि र व्यापारी पनि चिन्तित भएर सरकारी निकायको ढोका ढकढक्याउन पुग्छन् । तर, यो सडकप्रति सरोकार राख्ने तालुकदार निकाय सडक डिभिजन कार्यालय चरिकोटलाई न समयको पर्वाह छ न सडकको अवस्थाप्रति कुनै चिन्ता !

कोदारी सडक बनाउन सडक डिभिजनले बर्सेनि करोडौँ रुपैयाँको ठेक्का आह्वान गर्छ । थुप्रै ठेकेदार कम्पनीले यो सडक बनाउन काम गरे । तैपनि, सडकको दुरवस्था उस्तै छ । एउटा उदाहरण स्थानीयको नजरमा ताजै छ । त्यो हो कोदारीस्थित इकोरिसोर्ट साइडमा रहेको सडकको अवस्था र ठेकेदार कम्पनीले गरेको लापरबाही ।

इकोरिसोर्ट साइडमा भोटेकोसी नदीले तलतिरबाट जमिन कटान गर्दा बगिरहेको माटोको अवस्था नियन्त्रण नहुँदा गाउँ नै बगिरहेको छ । लालवीर चोक, नादुङ, थामी गाउँ, कोदारी गुम्बा र चौकीडाँडाका दुई सय घर सडकसँगै भोटेकोसी नदीमा भासिँदै  गएका छन् । नाकाको मुखैमा सडकको भासिने अवस्थाले खासाबाट सामान बोकेर आएका ठूला कन्टेनर लिपिङ क्षेत्रमा १५ दिनसम्म रोकिनुपरेको छ ।

जब वर्षात् सुरु हुन्छ तब कोदारी क्षेत्रमा सडक भासिन थाल्छ । भोटेकोसी नदीको तटमा कडा चट्टान छुने गरी पायलिङ गर्न तीन करोड बजेट छुट्याएको दुई वर्ष बित्यो । कमलजित निर्माण सेवा कन्स्ट्रक्सन पार्टीले ठेक्का लिएको छ । डिभिजन कार्यालय चरिकोटले समयमा काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्नुको साटो पायलिङ नगरेर झारो टार्ने काम गर्ने गरेको छ ।

डिभिजन प्रमुख अर्जुन सुवाल र ठेकेदार विवश नेपालको एउटै भनाइ छ, ‘पायलिङ गर्ने रिङ मेसिन ६० टन गह्रुँगो भएकोले कोदारी पुर्‍याउन सकिएको छैन ।’ दुवैले यसो भनेको एक वर्ष बित्यो । पायलिङ नगरी टालटुले पाराले भासिएको सडक भर्ने र ठेक्का सक्ने गरेकाले बर्सेनिको प्रयास निरर्थक भएको छ । फेरि पनि यस्तै प्रवृत्ति दोहोरिने स्थिति छ ।

‘मेसिन कसरी लान सकिन्छ भनेर छलफल चलिरहेको छ,’ डिभिजन प्रमुख सुवालले भने । चरिकोट डिभिजनले कोदारी सडकलाई बर्सेनि गर्ने करोडौँ लगानी बालुवामा पानी खन्याएझैँ भएको छ । सडक बिग्रेर अप्ठ्यारो परेको ठाउँमा काम नगरी पैसा पचाउन ठेकेदारले सजिलो ठाउँमा अनावश्यक खर्च गरेर बाटो बनाएको स्थानीयको गुनासो छ ।

हिउँदभर काम नगरी चुपचाप बस्ने ठेकेदार कम्पनी बर्खामा एक्स्काभेटर र लोडर लिएर सडकमा निस्कन्छन् । नदी तटमा पायल गर्ने मेसिन नल्याएर चुपचाप बसेकाले ठेकेदार कम्पनीविरुद्ध स्थानीय बोल्न थालेका छन् ।

नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला उपसभापतिसमेत रहेका भोटेकोसी लिस्तीनिवासी दोर्जे लामाले अन्तर्राष्ट्रिय मार्गको दुरवस्थाप्रति सीमावासी चिन्तित रहेको बताए । ‘सडक डभिजनको लापरबाहीले कोदारी सडक सधैँ जीर्ण अवस्थामा छ,’ लामाले भने । इकोसाइड क्षेत्र मात्रै होइन, बाह्रबिसेदेखि लिपिङसम्मका दर्जनौँ क्षेत्रमा सडकको अवस्था जीर्ण छ । भूकम्पपछि चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सिआरसिसी)ले पनि सडक सुधारमा काम गरेको थियो ।रामकृष्ण थापा

प्रतिक्रिया दिनुहोस्