२०८१ श्रावण १२
                           

घर संस्कारको जग ः न्यौपानेको सार्वजनिक भएको पुस्तक घरको शिक्षाको अंश

सिन्धुपाल्चोक ,१४ माघ
दामोदर न्यौपाने
हाम्रो चाहना हो, असल नागरिकको । असल नागरिक बनाउन सानैदेखि महत्वपूर्ण कुरा सिकाउँनुपर्छ । महत्वपूर्ण कुरा सिकाएर सानैमा राम्रो मनोवृत्ति निर्माण गर्न सघाएनौं भने परिणाम उल्टो हुन्छ । मान्छेलाई असल बनाउने मुख्य साधन भनेकै संस्कार हो ।
के हो संस्कार भनेको ? धर्मकर्म हो ? धर्मकर्म मात्र होइन । धर्म मात्रै संस्कार नभए पनि यसले संस्कारयुक्त जीवनशैली अपनाउन प्रेरित भने गर्छ । मान्छेलाई परिष्कृत बनाउन हिन्दु धर्मले गर्भाधानदेखि मृत्युसंस्कारसम्मका १६ संस्कारको परिकल्पना गरेको छ ।

मान्छेलाई संस्कारयुक्त बनाउन हिन्दु दर्शनले आश्रम व्यवस्था गरेको छ– ब्रह्मचर्याश्रम, गृहस्थाश्रम, वानप्रस्थाश्रम र सन्यासाश्रम । ब्रह्मचर्याश्रममा शिक्षाको ज्ञान गराइन्छ । गृहस्थाश्रममा अर्थ र कामसम्बन्धी क्रियाकलाप हुन्छ । सन्यासाश्रममा आफूसँग भएका सबै चीज त्याग्नुपर्ने व्यवस्था गरिएको छ । यी संस्कारमध्ये सबैभन्दा महत्वपूर्ण संस्कार दीक्षा संस्कारलाई लिइन्छ । मनुस्मृतिका अनुसार मान्छेको जन्म शूद्रका रुपमा हुन्छ । ऊ दीक्षाले नै ब्राह्मण हुने हो । ब्राह्मण, क्षत्री, वैश्य र शूद्रमा विभाजन गरेको हिन्दु दर्शनले परिकल्पना गरेको जस्तो व्यवहारमा भने भएको छैन ।
अनन्त शक्ति हुन्छ बालबालिकामा । अनुभव र ज्ञानको भने कमी हुन्छ ।

त्यही भएर बालबालिकाको अनन्त शक्तिलाई अनुभवी हातले यथोचित ज्ञान प्रदान गरी उचित दिशातिर डो¥याउनुपर्ने मान्यता हिन्दु दर्शनको छ । पूर्वीयमा दर्शनमा आधारित वाङ्मयले यही लेखेका छन् । उचित दिशातिर डो¥याउन धर्ममा आधारित शिक्षा प्रणाली विकास गरेका छन् । हिन्दु शिक्षा प्रणालीले जन्म र मृत्युको चक्रबाट मुक्ति प्राप्त गर्नु, जीवनका लक्ष्य प्राप्ति गर्नु, ऋणबाट मुक्त हुनु, ज्ञान र अनुभवमा जोड, चित्तवृत्तिको निरोध, चरित्रनिर्माण, व्यक्तित्व विकास, नागरिक तथा सामाजिक कर्तव्यपालनसम्बन्धी भावनामा जोड, सामाजिक कुशलताको उन्नति र राष्ट्रिय संस्कृतिको संरक्षण तथा प्रचार जस्ता उद्देश्य प्राप्ति गर्ने लक्ष्य राखेको छ । परमपिता परमेश्वरको प्राप्ति नै हिन्दु दर्शनको मूल्य हो । यो आस्तिक दर्शन हो ।

हिन्दु दर्शनले योगका माध्यमबाट मनका विकार हटाउने परिकल्पना गरेको छ । यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाविध गरी आठ किसिमका चरण छन् योगमा । यी समाधिबाट अविद्या नष्ट भई यथार्थ ज्ञान प्राप्ति हुने विश्वास छ । यथार्थ ज्ञान नै सत्य हो र सत्य नै मोक्ष प्राप्तिको बाटो हो भनेको छ हिन्दु दर्शनले । यर्थाथ ज्ञान सत्य हो र सत्यका सञ्चालक ईश्वर, पुरूष, तत्व, आत्मा, परात्मा र ब्रह्म हुन् । हिन्दु शिक्षामा आदत, दिनचर्या, खानपान, वेशभूषा र आचार–व्यवहारलाई विद्यार्थीले पालना गर्नुपर्ने नियम छ ।
बौद्ध दर्शनले पनि संस्कारयुक्त मान्छे बनाउन विधिविधान तय गरेको छ । बुद्धको उपदेश नै बुद्ध धर्मको दर्शन हो । बुद्ध धर्म धर्माेपदेश हो । बुद्ध दर्शनलाई चार आर्यसत्यमा विभाजन गरिएको छ ।

पहिलो आर्यसत्यअनुसार जन्मनु दुःख हो । बुढेसकाल दुःख हो । मरण दुःख हो । शोक गर्नु दुःख हो । अलाप विलाप गर्नु दुःख हो । पीडा दुःख हो । चिन्तित हुनु दुःख हो । इच्छापूर्ति नहुनु दुःख हो । प्रियजनसँगको बिछोड दुःख हो । अप्रियजनसँगको भेट पनि दुःख हो । सारांशमा शरीर नै दुःख हो । बुद्धले भन्नुभएको छ– भिक्षुहरुले चिरकालसम्म आमा मरेको दुःख सहेका छन् । बाबु मरेको दुःख सहेका छन् । पुत्र मरेको दुःख सहेका छन् । कुटुम्ब मरेको दुःख सहेका छन् । सम्पत्ति विनाशको दुःख सहेका छन् । रोगी भएको दुःख सहेका छन् । यी सबै प्रकारका दुःख सहनेले संसारमा बारम्बार जन्म लिएर दुःख सहिरहेका छन् । आँसु बगाएका छन् । अनुभव सँगालेका छन् । बुद्धले बारम्बार दुःखको कुरा गरेर संसारको प्रथम सत्य दुःख भएको उपदेश दिनुभएको छ ।

दोस्रो आर्यसत्यमा भनिएको छ– दुःखको उत्पत्ति हुनाको कारण छ । संसारमा कुनै पनि घटना बिनाकारण घट्दैन । दुःखका कारणले संसार बन्धनमा बाँधिएका छन् । दुःखका बन्धनका कारण नै दुःख समुदाय हुन् । दुःख समुदायमा अविधा, संस्कार, विज्ञान, नामरुप, षडायतन, स्पर्श, वेदना, तृष्णा, उपदान, भव, जाति र बुढेसकाल गरी बाह्र अङ्ग छन् । जन्म–मरणको चक्रलाई नै दुःखको कारण भनिएको छ, दोस्रो आर्यसत्यमा ।
तेस्रो आर्यसत्यलाई अनुभवको अन्तिम अवस्था भनिएको छ । अन्तिम अवस्था निर्वाण हो । शरीर धारण क्रिया समाप्त हुनु निर्वाण प्राप्त हुनु हो । निर्वाण प्राप्त गर्न राग, द्वेष र मोह समाप्त हुनुपर्छ । यी तीन नै मानिसका ठूला शत्रु हुन् । निर्वाण प्राप्त भनेको अशेष लाभ हो । परम शान्ति हो । परम सुख हो । परम शिव हो । मानिसको लक्ष्य नै निर्वाण हो भनेर तेस्रो आर्यसत्यमा चर्चा गरिएको छ ।

यस्तै, चौथो आर्यसत्यमा निर्वाण प्राप्तिको बाटो बताइएको छ । दुःख उत्पन्न हुने कारण नाश गर्नु नै निर्वाणको बाटो हो । निर्वाण प्राप्त गर्न आठओटा मार्ग बताइएको छ । अष्टाङ्गिक मार्गमा सम्यक (ठीक) दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक व्यायाम (प्रयत्न), सम्यक स्मृति र सम्यक समाधि बताइएको छ । अष्टाङ्गमार्गलाई बुद्ध दर्शनको श्रेष्ठ दर्शन मानिएको छ । सबैलाई समान दृष्टिले हेर्नु, शुभकार्यमा लाग्नु, इन्द्रियलाई वशमा राखेर मनलाई एकचित्त पार्न सक्नु नै बुद्ध दर्शनको निचोड हो ।

बुद्ध दर्शन पढ्ने विद्यार्थीले यी बाह्र अङ्गलाई पूरा गरी निर्वाण प्राप्त गर्न भूमिका खेल्नुपर्छ । बौद्ध शिक्षामा पब्बज्जा संस्कार, उपसम्पदा संस्कार, लोकभाषालाई प्रोत्साहन, सार्वजनिक प्रारम्भिक शिक्षा, शिक्षाको जनतन्त्रीय आधार, जनतन्त्रीय सङ्गठन र संगठित शैक्षिक संस्थाको विकास जस्ता उद्देश्य छन् । यीमध्ये उपसम्पदा संस्कार उत्तीर्ण गरेको व्यक्ति बौद्ध मठको स्थायी सदस्य बन्न सक्छ । उपसम्पदा संस्कार सम्पन्न गरेपछि आठओटा आदेश पालना गर्नुपर्छ विद्यार्थीले । आठ आदेशमा रूखको फेदमा बस्नु, साधारण वस्त्र धारण गर्नु, सात्विक भोजन ग्रहण गर्नु, भोजनका लागि भिक्षा माग्नु, औषधिका रुपमा गोमूत्र सेवन गर्नु, चोरी र जीवहत्या नगर्नु, अलौकिक शक्तिको दाबा नगर्नु र यौन सम्बन्ध नराख्नु पर्छन् ।
इस्लाम धर्मले पनि असल संस्कारकै परिकल्पना गरेको छ । मुस्लिम धर्मभित्र पाँच ओटा खम्बा छन्– सफाया, सलात वा नमाज, सियाम वा रोजा, हज र जकता । बिहान, मध्यान्ह, उत्तरमध्यान्ह, सूर्यास्तको समय र राति ओछ्यानमा जानुअघि गरी दिनको पाँच पटक नमाज पढ्छन् मुसलमान । नमाज पढ्दा मुसलमान मक्कातिर फर्केर पढ्छन् । शुक्रबार धार्मिक गुरूले प्रवचन दिन्छन् । त्यो दिन पढिने नमाजलाई जुम्मा भनिन्छ । मुसलमानको मुख्य धर्मग्रन्थ कुरान र हादिथ हो । यिनै ग्रन्थको आधारमा शिक्षा दिइन्छ ।

इसाई धर्मले दस ओटा सिद्धान्त पालना गर्नुपर्ने व्यवस्था गरेको छ ः
– जिससभन्दा अर्काे तिम्रो ईश्वर छैन ।
– तिमीले आनो प्रतिबिम्ब राम्रो बनाऊ, नबिगार ।
– ईश्वरको नाम ठीकसँग लेऊ, नबिगार ।
– शुद्धता र पवित्रता याद गर ।
– तिम्रा आमाबाबुको सम्मान गर ।
– तिमी हत्या नगर
– परस्त्रीगमन वा परपुरूष गमन नगर ।
– चोरी नगर ।
– तिम्रा छिमेकीविरूद्ध झुटो बयान नदेऊ ।
– तिम्रो छिमेकीको घर, श्रीमती, नोकर, धनदौलत र कुनै पनि चीजमा लोभ नगर ।

यी दस सिद्धान्तको पालना गर्ने नै सच्चा इसाई हो । इसाई शिक्षाप्रणालीले ईश्वरको भक्तिमा राखिराख्ने र मान्छेको विश्वासलाई ईश्वरमा लगाइरहन सहयोग पुग्ने उद्देश्य राखेको छ । आध्यात्मिक रुपबाट अघि बढ्न निर्देशन दिन्छ । परिपक्व हुन निर्देशन दिन्छ ।
जुनसुकै धर्मले पनि सत्कार्यमा लाग्न, संस्कारी जीवन जिउन अनेक नियममा बाँधेको छ मान्छेलाई ।

धर्मले मात्र होइन, संस्कृतिले पनि संस्कारी जीवन जिउन प्रेरित गर्छ । संस्कृति जीवन हो । जिउने शैली हो । बाँच्ने शैली अपनाउने क्रममा हाम्रा पुर्खाले संस्कृति निर्माण गरे । संस्कृति भनेकै मान्छेको मनोविज्ञान हो । मान्छेको मनमा गढेको हुन्छ संस्कृति । यस अर्थमा संस्कृतिमा संस्कार नहुने भन्ने कुरै भएन ।

समग्रमा असल बन्ने अभ्यास गर्नु नै संस्कार हो । मान्छे, मान्छे जस्तो बन्ने तत्व नै संस्कार हो । मान्छे परिष्कृत गर्ने प्रक्रिया नै संस्कार हो । शील–स्वभावको शुद्धीकरण गर्नु संस्कार हो । दुर्गुण हटाएर सद्गुण भर्नु नै संस्कार हो । व्यक्तित्व चम्काउनु संस्कार हो । व्यक्तित्व टल्काउनु अनि गुणवान् बनाउनु संस्कार हो । व्यवहार गर्ने तरिका जान्नु नै संस्कार हो । बफादार, कर्तव्यनिष्ठ, सत्यनिष्ठ, इमानदार बन्ने अभ्यास नै संस्कार हो । व्यक्तिलाई मूल्यवान् बनाउँछ संस्कारले । संस्कार मनोवैज्ञानिक प्रशिक्षण हो । यसले व्यक्तिको चरित्रलाई अन्तिम पाइलासम्म साथ दिन्छ । मान्छेको चिन्तनलाई दीर्घ जीवन प्रदान गर्छ ।

असल मान्छे बन्न यति महत्वपूर्ण कुरा धेरैलाई संस्कार शब्द नै गह्रुङ्गो लाग्दै गएको छ अचेल । धेरैलाई भ्रम छ, संस्कार भनेको पुरानो कुरा हो; आधुनिक जमानामा कसले संस्कारको कुरा गरोस् !

तर, संस्कार पुरानो कुरा होइन । परापूर्वकालदेखि चल्दै आएको भने सत्य हो । हामीले शिक्षामा संस्कार छुटाइदिएका छौं । त्यही भएर हामीलाई मान्छे जस्तो बन्न ज्यादै मुस्किल भइराखेको छ । अबको शिक्षा संस्कारयुक्त हुनैपर्छ । संस्कारयुक्त शिक्षा भनेको पनि पुरानो शिक्षा होइन । आधुनिक शिक्षामा नै खोज्न सकिन्छ यो । संस्कारयुक्त शिक्षा भनेको मान्छेलाई मान्छे जस्तो बनाउने शिक्षा हो । विवेकवान् नागरिक बनाउने शिक्षा नै त हो, संस्कारयुक्त शिक्षा ।

संस्कारयुक्त शिक्षा दिन शिक्षामा यी तीन तत्व हुनैपर्छ भन्छ पूर्वीय दर्शनमा आधारित अध्यात्मले–
सत्यम्, शिवम्, सुन्दरम् ।

यिनै तीन तत्वमा भेटिन्छन् मान्छेलाई मान्छे जस्तो बनाउने तत्वहरु । यी तीन तत्वसहितको व्यक्तित्व भएको नागरिक उत्पादन गर्न शिक्षामा पनि सत्यम, शिवम्, सुन्दरम हुनुपर्छ । सत्यम् भनेको सत्यकुरा, शिवम् भनेको सेवा र सुन्दरम् भनेको नयाँ तरिकाले काम गर्ने । नयाँ तरिकाले खोज्ने । नयाँ दृष्टिकोण निर्माण गर्ने । आविष्कार गर्ने ।

के शिक्षामा हामीले यो अभ्यास गरेका छौं ?

सत्यम्, शिवम्, सुन्दरम्ले युक्त भएको व्यक्तित्व निर्माण गर्न शिक्षामा यी तत्वसहित स्कुलले शिक्षा दिनुपर्ने हुन्छ । व्यवहारमा यी तत्वसहित अभिभावकले व्यावहारिक ज्ञान दिनुपर्छ घरमा । तर, स्कुलले शिक्षामा यस्तो प्रयास गरेका छन् ? परिवारले व्यवहार गर्दा यी तत्वमा ख्याल गरिएको छ ?

यी प्रश्नको गहन उत्तर खोजी गर्नुपर्ने हुन्छ ।

हामीले कस्तो वातावरणमा हुर्कायौं हाम्रा बालबालिका ? स्कुलले कस्तो शिक्षा दिए ? अहिलेको हाम्रो समाज सरसर्ती हेर्दा यी प्रश्नको सीधा उत्तर हो– न अभिभावकले राम्रो वातावरणमा हुर्काएका छन्, न स्कुलले राम्रो शिक्षा नै दिएका छन् । केही प्रयास भएका छन् । तर, पर्याप्त छैनन् । शिक्षा कस्तो हुनुपथ्र्याे र हामीले कस्तो शिक्षा दियौं ? बालबालिकालाई कस्तो वातावरणमा हुर्काउनुपथ्र्याे र हामीले कस्तो वातावरणमा हुर्काएका छौं ? यी सवालमा लामो समयदेखि बहस केन्द्रित गरिराखेको छु । यही बालकेन्द्रित अभियानका क्रममा अनेकन् अनुभव सँगाल्ने मौका मिलेको छ ।(न्यौपानेको शनिवार सार्वजनिक भएको पुस्तक घरको शिक्षाको अंश )

प्रतिक्रिया दिनुहोस्