२०८२ भाद्र १३

जयवागेश्वरी मा.विको ६० औं वार्षिकोत्सव सम्पन्न

हेलम्बु,२८पुस
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं. ३ स्थित जयवागेश्वरी मा.विको ६० औं वार्षिकोत्सव बिहिबार सम्पन्न भएको छ । वडा अध्यक्ष दीपक खड्काले वार्षिकोत्सव उद्घाटन गर्दै समाज स्थिर नरहने हुँदा शिक्षाले विभिन्न किसिमका सामाजिक परिवेशहरु परिवर्तनमा जोड दिनुपर्ने बताउनु भयो ।

विधालयको व्यवस्थित विकासात्मक योजना निर्माण तथा कार्यान्वयन गर्न आफूले सक्दो पहल गर्ने प्रतिवद्धता जनाउँदै प्रमुख अतिथि वडा अध्यक्ष खड्काले समय सापेक्ष शैक्षिक गतिशीलताका लागि बिधालयलाई आग्रह गर्नुभयो ।

हेलम्बु गाउँपालिकाका शिक्षा संयोजक नेत्रप्रसाद भट्टराईले शैक्षिक विकृति तथा कमजोरीहरुको न्यूनीकरणका लागि पहल गरिने बताउनु भयो ।शिक्षकको पेशागत दक्षतामा जोड दिदै भट्टराईले शिक्षकको समसामयिक मागहरु पूरा गर्न रचनात्मक भूमिका खेल्ने विश्वास दिलाउनु भयो।
जस्ट नेपाल फाउन्डेसनकी प्रतिनिधि दीपा अर्यालले बिधालय शिक्षण सिकाइ प्रभावकारी र गुणस्तर सुधार गर्न संस्थाले शिक्षक, बिधार्थी, प्रशासक तथा अभिभावक बीचको रचनात्मक अन्तरक्रिया एवम् विभिन्न शैक्षिक सामग्रीहरु विधालयलाई प्रदान गर्दै आएको बताउनुभयो ।

फाण्डेसनको हाम्रो समुदाय– हाम्रो विधालय, हेलम्बु परियोजना संचालनमा छ ।इसिङ आधारभूत बिधालयका प्रधानाध्यापक ध्रुव गिरीले अभिभावक र विधालयबीच असल सम्बन्ध निर्माण गरी शैक्षिक सहयोग र सहकार्य बढाउन सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गत बर्ष एस.ई.ई.मा अर्थशास्त्र विषयमा ए प्लस ल्याउने नविना खड्कालाई सम्मान पनि गरियो।विधालयका छात्रछात्राहरुको गीत तथा नृत्यले मनोरञ्जन दिनुका साथै थप आकर्षक दिएको थियो ।

विधालयका प्रधानाध्यापक रामगोपाल श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।कार्यक्रम वि.व्य.स.अध्यक्ष बुद्धिमान तामाङको सभा अध्यक्षतामा संचालन गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्