२०८० चैत्र १५

जनवरी ९ पछि पहिलेकै अवस्थामा सञ्चालन होला त तातोपानी नाका ?

दिपक खत्री — पौष २० , नयाँ सरकार गठनसँगै चीनले तीन वर्षदेखि बन्द रहेको रसुवागढी र हुम्लाको यारी नाका खोल्यो । रसुवागढी नाकाबाट नेपाली सामान चीन लैजान थालिएको छ, भने यारी नाका नेपालतर्फ सामान आयात गर्नेगरी एकतर्फी खोलिएको हो । तर व्यवसायिक हिसाबले सबैभन्दा महत्वपूर्ण मानिएको सिन्धुपाल्चोकको तातोपानी नाका तीन वर्षदेखि पूर्ण रुपमा खुलेको छैन । मन लाग्दा खोल्ने र बन्द गर्ने चिनियाँ प्रवृत्ति कायमै छ ।

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ स्थित तातोपानी नाकाबाट निर्यात ठप्प भएको सात वर्ष भयो । मितेरी पुलदेखि चीन–नेपाल दुवै तर्फको करिब ५ किलोमिटर क्षेत्र अहिले सुनसान छ  । यो नाकाबाट दैनिक तीनवटा कन्टेनर मात्रै भित्रिन्छन् । लोड अनलोड गरेर जिवन निर्वाह गर्ने मजदुरहरु एक छाक खान पनि मुस्किल पर्ने गरेको बताउछन् ।

राजधानी काठमाडौंबाट चीनको व्यापारिक बजार खासा १ सय २४ किलोमिटरको दुरीमा छ । तर चीनको जुनसुकै बजारका या कम्पनीबाट झिकाएका सामग्री भएपनि खासाबाट तातोपानी आइपुग्न कम्तीमा १२ देखि बढीमा १५ दिनसम्म लाग्छ । केरुङबाट कन्टेनर ल्याउँदा ढुवानी भाडा बढी लाग्ने र पुलमा सामान झार्दा टुटफुट भएर घाटा हुने भएकाले नेपाली व्यापारी तातोपानी नाकाबाटै सामान ल्याउन चाहन्छन् । तर, यसमा चिनियाँ पक्ष अनुदार देखिएको छ । नेपाल च्याम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ मात्रा तोकेर पठाउने भन्दा ब्यवसायी चाहेमा आवस्यक सामाग्री ल्याउन सक्ने बातावरण चीन सरकारले बनाउनुपर्ने बताउनुहुन्छ ।

श्रेष्ठको भनाईमा व्यवसायी रमेश शेर्पा पनि सहमत हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “उत्तरी नाकाको यो पोर्टलाई राज्यले ब्यवस्था गरेको त छनै चिन सरकारले पनि अनुदानमा यत्रो पोर्ट बनाउदा सहि तरीकाले चलाउन कम इज्छा देखाएको जस्तो लाग्छ । ”

तिब्बतमा कोरोना महामारीविरुद्ध लगाईएको निषेधाज्ञा अझै जारी छ । बेइजिङको शून्य कोभिड नीतिका कारण चीनमै थन्किएका व्यापारिक सामग्री ल्याउन ढिलाइ भएपछि अधिकांश नेपाली व्यापारी पेसाबाटै पलायन भएका छन् । भूकम्प, भोटेकोसीको बाढी, वर्षा र सुक्खा पहिरोसहित हिमपात, कोरोना सङ्क्रमण जस्ता अनेक कारण देखाएर नेपाललाई अप्ठेरो परेकै बेला चिनियाँ नाका बन्द भएपछि नेपाली व्यापारीले कठिनाइ बेहोर्नुपरेको छ । भूकम्पपछिको पुनर्निर्माण भइसकेको र सुख्खा बन्दरगाह पनि बनिसकेको अवस्थामा नाकालाई दोहोरो खुलाउन नेपाल सरकारले समेत पहल नगरेको नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुनबहादुर सापकोटा बताउनुहुन्छ ।
जनवरी ९ बाट चीनले शून्य कोभिड नीतिमा परिवर्तन गर्दै अन्तराष्ट्रिय सिमा नाकालाई पहिलेकै अवस्थामा सञ्चालन गर्ने आन्तरीक पत्राचार गरेपछि नेपाली व्यवसायी केही आशाबादी भने देखिएका छन् । तर तातोपानी भन्सार कार्यायल समक्ष यसको औपचारिक जानकारी कतैबाट आएको छैन ।

प्रतिक्रिया दिनुहोस्