२०८१ जेष्ठ ६

तातोपानी नाका चाँडै खुल्छ (अन्तर्वार्ता)

मित्रराष्ट्र चीनसँग जोडिएको उत्तरी नाका तातोपानी देशको एउटा महत्वपूर्ण व्यापारिक केन्द्र होे । मल्लकालीन समयमा सातौं शताब्दीतिरै नेपाल–तिब्बतबीच पैदलमार्ग भएर प्राचीन व्यापार हुने गरेको इतिहास छ । दशौंदेखि अठारौं शताब्दीसम्म नेपाल–तिब्बत कनेक्टिभिटी साल्ट र सिल्क रोडको रुपमा रहेको थियो । नेपाल–चीनको आधुनिक व्यापार प्रणाली अरनिको राजमार्ग सञ्चालनमा आएपछि सुरु भएको हो । काठमाडौं– लिपिङ ११५ किलोमिटर अरनिको राजमार्ग ६० को दशकमा सुरु भएर सात वर्षमा निर्माण सम्पन्न भएको थियो ।
यहाँ प्रस्तुत अन्तर्वार्ताका दुई मुख्यपात्र, प्रतिनिधिसभा क्षेत्र नं. १ का सांसद माधव सापकोटा ‘सुवोध’ र सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेत (होमबहादुर) तातोपानी नाकाबाट आयात–निर्यात दुवै सुचालु गराउन लागिरहेका छन् । दुवै युवा भएकोले पनि सोच्ने र योजना बनाउने तरिका मिलेको छ । जनयुद्धबाट खारिएर आएका सापकोटा प्रतिनिधिसभामा विजयी भएसँगै नाका खुलाउनेदेखि विकास निर्माणको अनुगमन र अध्ययनमा रहेका छन् । सापकोटाले आफ्नो सबै समय र ध्यान जिल्लालाई दिएका छन् । एक सफल व्यवसायी बस्नेत भद्र व्यक्तित्वको रुपमा चिनिन्छन् । उनले नाका खुलाउन नेपाल–चीनका अधिकारीसँग पटकपटक वार्ता गरेर ज्ञापन–पत्र बुझाएका छन् । क्षमादेवी ग्रुप स्थापना गरेर बस्नेतले पाँच सय मानिसलाई रोजगार प्रदान गरेका छन् ।

‘नाका खुलाउन समन्वयकारी भूमिका निर्वाह गर्छु’
राजकुमार बस्नेत, अध्यक्ष, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ

तातोपानी नाका नखुल्दा व्यापार–व्यवसायमा कस्तो असर परेको छ ?
भारतको बाटो भएर नेपाल सामान ल्याउन दुई महिनाभन्दा बढी लाग्छ । चीनबाट ल्हासा, खासा हुँदै काठमाडौ १० दिनमा आइपुग्छ । तातोपानीबाट सामान ल्याउँदा लागत र समय कम लाग्छ । लागत र समय कम हुँदा सामानको मूल्य कम हुन्छ । नेपाली उपभोक्तालाई फाइदा पुग्छ । व्यापारी वर्गले पुँजीको रोटेशन गर्न पाउँछन् । भारतको कोलकता र भिसकापटनमबाट एकपटक सामान आउँदा तातोपानीबाट तीनपटक सामान आइपुग्छ । यसको अर्थ व्यापारी वर्गले तीन पटक पुँजी प्रयोग गरेर नाफा कमाउन सक्छन् । उपभोक्ताले ठीक समय र कम मूल्यमा सिजनेबल सामानको उचित उपभोग गर्न पाउँछन् । ०७६ जेठ १५ बाट आयात खुलेपनि भूकम्पपछि तातोपानी नाका खुलेको छैन भन्दा फरक पर्दैन । यो ७–८ वर्षको अवधिमा तातोपानी नाकामा आश्रित व्यापारी, व्यवसायी र सर्वसाधारणको आर्थिक हैसियत डामाडोल भएको छ ।

नाका खुलाउन यहाँहरुले कस्तो भूमिका निर्वाह गरिरहनुभएको छ ?
हामी सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र हिमालय सीमापार वाणिज्य संघमा आवद्ध प्रतिनिधिले नेपाल–चीन दुवै सरकारसँग तातोपानी नाका खुलाउन पटकपटक अनुरोध गरेका छौँ । खासगरी प्रधानमन्त्री, परराष्ट्र, गृह, उद्योग वाणिज्य तथा आपूर्ति र जिल्ला प्रशासनमा पुगेर सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छौँ । सायद, यिनै दबाब र समन्वयकै कारण आंशिकरुपमा नाका सुचारु भएको हो । तर, दैनिक तीन गाडी सामान ल्याउन नाका खुलाएर अर्थ छैन । व्यवसायी पलायन भइसकेका छन् । व्यक्तिगत र संस्थागत दुवै हिसाबले चिनियाँ अधिकारी र व्यापारीसँग पनि मैले तातोपानीको अवस्थाबारे कुराकानी गरेको छु ।

कुनै राजनीतिक वा सामरिक कारणले नाका नखुलेको त होइन ?
राजनीतिक रुपमा केही त्यस्तो जटील कुरा छ भन्ने मलाई लाग्दैन । नेपाल सरकारको कूटनीतिक च्यानलमार्फत् चीन सरकारसँग कुरा गरेको मलाई थाहा छ । तर, चीनले किन नाकाबन्दीको अवस्थामा राखेको हो ? यो चाहिँ बुझ्न सकिएको छैन । सामरिक हिसाबले पनि त्यस्तो जटील केही छैन । यदि छ भनेपनि जिटुजि केही सहमति हुनुपर्छ । त्यसका लागि हामी पनि तयार हुनुपर्छ । यही कुरा हाम्रो तर्फबाट सरकारलाई जानकारी गराएका पनि छौं ।

निजी क्षेत्रलाई गर्नुपर्ने व्यवहारबारे अब बन्ने सरकारलाई के सुझाव दिनुहुन्छ ?
हामी विशाल चीन र भारतको बीचमा छौं । आयातमुखी व्यापार र त्यसको करबाट हाम्रो अर्थतन्त्र चलेको छ । व्यापार–व्यवसाय चलाउन सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नैपर्छ । त्यसो गर्दा भ्याट र करको दायरा बढ्छ । भूकम्प र कोरोना महामारीको कारण देखाएर प्रोपर्टी राख्दा पनि बैंकले व्यापारीलाई लोन दिएको छैन । चर्को व्याजदर छ । १८ प्रतिशत ब्याज तिरेर कसरी व्यापार हुन्छ ? राष्ट्र बैंक, अर्थमन्त्रालय र बैंकहरुबीच समन्वय गरेर ब्याजदरलाई सरकारले वान डिजिटमा झार्नुपर्छ ।
कोरोना महामारीले व्यापार–व्यवसायमा पारेको असर संक्षिप्तमा बताइदिनुस् ।
कोरोना महामारी सुरु भएपछि ०७६ चैत ११ बाट लकडाउन सुरु भयो । दुई वर्ष निरन्तर बन्दाबन्दी हुँदा आयात–निर्यात दुवै ठप्प भो । सबै व्यापार–व्यवसाय धराशयी भएका छन् । त्यसको असर अहिले देखापरेको छ । बजेट फ्रिज भए । बैंकमा आर्थिक तरलता थुप्रिँदै गयो । जसकारण बैंक संकटमा परेकोले ब्याजदर बढायो । अहिले १८ प्रतिशत ब्याजदर छ । रेमिटेयान्समा परेको असरले बैंकमा बिदेशी मुद्राको सञ्चिती छैन । सरकारले नयाँ तवरले आर्थिक गतिविधि नबढाउने हो भने व्यापार–व्यवसाय खस्कने क्रम अरु बढ्छ ।

‘नेपाल–चीनबीच छलफल जारी छ’
माधव सापकोटा, प्रतिनिधिसभा सदस्य, सिन्धुपाल्चोक–१

तातोपानी नाका पूर्णरुपमा नखुल्दा नेपाली पक्षलाई कस्तो असर गरेको छ ?
नेपाल र चीनको मित्रवत् सम्बन्धमा यसले केही प्रभाव पारेको छ । अर्को कुरा आर्थिक क्रियाकलापमा नोक्सानी भएकोले व्यापार घाटा बढेको छ । विशेषगरी सिन्धुपाल्चोकवासी र आसपासका मानिसको रोजगारी गुमेको छ । भूकम्पपछि बाह्रबिसे र भोटेकोसीका नागरिक कामविहीन भएकोले बिदेश पलायन हुने क्रम बढ्दो छ । तातोपानी नाका नखुल्दा सीमावासीको जीवन प्रभावित बनेको छ ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि कुनै चिनियाँ अधिकारीसँग यहाँको व्यक्तिगतरुपमा नाकाबारे छलफल भएको छ ?
प्रतिनिधिसभामा निर्वाचित भएसँगै मैले तातोपानी नाकालाई पहिलो प्राथमिकतामा राखेर कामको थालनी गरेको छु । नेपाल–चीन दुवै पक्षसँग मेरो नियमित कुराकानी र पहलकदमी जारी छ । नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा , माओवादी अध्यक्ष प्रचण्ड, निवर्तमान सभामुख अग्नि सापकोटा र अरु शीर्ष नेताहरुसँग म निर्वाचित भएको दिनदेखि नै नियमति भेटघाट र कुराकानी गरिरहेको छु । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, ल्हासा महावाणिज्य दूतावास र नेपालका लागि कार्यबाहक चिनियाँ राजदूतसँग छलफल चलिरहेको छ । चीन सरकारका आधिकारिक लाइनबाट तातोपानी नाकालाई ग्रिन सिग्नल दिएका छन् । छिट्टै आयात–निर्यात दुवै सुचारु हुने वचन उहाँहरुले दिनुभएको छ । म त्यसै क्षेत्रको जनप्रतिनिधि भएको नाताले नाकासंवद्ध व्यापारी र व्यवसायीसँग छलफल गरेर र एकापसमा जोडिएर शीर्ष नेताकहाँ डेलिगेशन जाने तयारी भइरहेको छ ।

तातोपानी नाका अनियमित हुनुमा कुनै राजनीतिक एवम् सामारिक कारण छन् कि ?
राजनीतिकभन्दा पनि भूकम्पपछि बनेको विषम् परिस्थितिले गर्दा हो । तातोपानीको केही ठाउँ र खासापटिको भूगोल राम्रो छैन । अर्को कुरा आयात खुला भएको केही समयमै कोरोना महामारी फैलियो । यस्तो अवस्थामा नाका नियमित नहुनु स्वभाविक हो । अब विस्तारै परिस्थिति सफा बन्दै गएको छ । चिनियाँ अधिकारी नाका खोल्न सकारात्मक छन् ।
अब बन्ने सरकारले नाका सञ्चालनबारे चीन पक्षसँग कूटनीतिक पहल गर्ला । यहाँ त्यही क्षेत्रको जनप्रतिनिधि भएकोले केही सुझाव छन् कि ?
सबै इस्युमा सरकारले छलफल गर्नुपर्छ । राजनीतिक कारण छन् भने पनि कूटनीतिक माध्यमबाट समस्याको समाधान खोज्नुपर्छ । हामीले आयातमात्रै होइन निर्यातलाई व्यवस्थित पारेर व्यापार घाटा घटाउनुपर्छ । अब बन्ने सरकारले उत्तरका नाका राम्रोसँग सञ्चालन गर्न पहलकदमी लिएर चीनबाट सक्दो फाइदा लिनुपर्छ । त्यस दिशातिर सरकार लाग्नेमा म विश्वस्त पनि छु ।

चीन र भारत दुवै छिमेकी मित्रराष्ट्रबाट हामीले कसरी लाभ लिन सक्छौँ ?
तातोपानी नाका राम्ररी खुल्दा मित्रराष्ट्र भारतलाई पनि फाइदा पुग्छ । सुरुङमार्ग निर्माण गर्नसके चीनमा उत्पादित सामान तातोपानी हुँदै भारत पुग्न सहज हुन्छ । यसबाट नेपालमात्रै होइन भारतले पनि फाइदा लिनसक्छ । भारत नेपालको सबैभन्दा नजिकको छिमेकी भएकोले सबै क्षेत्रबाट हामीले फाइदा लिनसक्छौं । नेपाल, भारत र चीन परस्परा जोडिँदा रणनीतिक हिसाबले पनि फाइदा छ ।

बाह्रबिसेलाई ट्रान्जिट सिटी बनाउनेबारे यहाँ छलफलमा हुनुहुन्छ । के प्रगति भइरहेको छ ?
बाह्रबिसेलाई ट्रान्जिट सिटी बनाउने हाम्रो महत्वकाँक्षी योजनामा अहिले डिपिआरको काम भइरहेको छ । नेपाल सरकारका उच्चतहका अधिकारीहरुसँग निरन्तर छलफल जारी छ । चीन सरकारका मानिससँग कुरा गरिरहेको छु । निकट भविष्यमै तपाइँहरुले यसबारे थाहा पाउनुहुनेछ । बाह्रबिसेलाई ट्रान्जिट सिटी बनाएपछि जिल्लाको शान एक स्टेप बढ्ने छ । स्थानीय आफै स्वरोजगार बन्ने बाटो तय हुन्छ । यसको बहुआयामिक महत्व रहेको छ । हामी प्रारम्भिक काममा छौं ।
प्रस्तुती–रामकृष्ण थापा

 

 

प्रतिक्रिया दिनुहोस्