२०८१ श्रावण १२
                           

‘तातोपानीको व्यापार विस्तार हुन्छ’ – धर्मलाल श्रेष्ठ

‘तातोपानीको व्यापार विस्तार हुन्छ’ - धर्मलाल श्रेष्ठ

संक्षिप्त कुराकानी

धर्मलाल श्रेष्ठ, सदस्य, नेपाल हिमालय सीमापार वाणिज्य संघ

तपाइँ नेकपाको जिल्ला कमिटी सदस्य पनि हुनुहुन्छ । राजनीति र व्यापार दुबै कसरी सम्भव भयो ?
म अहिले ४९ वर्षको भएँ । मेरो घर जुगलको पाङताङ हो । म सानै उमेरबाट तातोपानी नाकामा व्यापार गर्न सक्रिय भएँ । ०४५ सालबाट निरन्तर व्यापारमा छु । साथै, मैले पूर्वएमालेमा रहेर समाजमा सहयोग पनि गर्दै आएँ । राजनीतिक आस्थाको कारणले राजनीति गरेको हो । ०६७ सालमा झम्क नेपाल अध्यक्ष हुँदा म पनि जिल्ला कमिटीको सदस्य थिएँ । अहिले नेकपामा पनि जिल्ला सदस्यको जिम्मेवारीमा छु । राजनीतिमा रहेर समाजको सेवा गर्ने इच्छा छ । व्यापार त एउटा पेट पाल्ने पेशा हो ।

हिमालय सीमापार वाणिज्य संघको अवस्था कस्तो छ ?
म यो संस्थाको निर्वाचित सदस्य हुँ । नेपाल हिमालय सीमापार वाणिज्य संघले पहिलाजसरी काम गर्न सकेको छैन । चीनसँगको व्यापार सहजीकरण गर्ने काम यसले निरन्तर गरिरहेको छ । तर, भनेजस्तो गरी काम गर्न समस्याहरु छन् । तातोपानी नाका राम्ररी नचल्दा संघसंस्थाले काम गर्न पाएका छैनन् । सामान्य हिसाबले संस्था चलेको छ ।
नाका सुचारु भएको छ । खुद्रा व्यापार कहिलेबाट सुरु होला ?
यो विषय हामीले भन्न गाह्रै छ । किनकि, चीन सरकारले के गर्छ भन्नेमा भर पर्छ । तैपनि, नाका खुलाउन नेकपाका स्थायी समिति सदस्य तथा नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले रातदिन प्रयत्न गर्नुभयो र सफल पनि भयो । अब पनि उहाँले पहल गर्नुपर्छ । चीन सरकारलाई कन्भीन्स गर्नुपर्छ । मेरो विचारमा कोरोना भाइरसको नियन्त्रणपछि तातोपानी नाकामा व्यापार विस्तार हुन्छ । बिस्तारै खुद्रा व्यापार र पर्यटकका लागि नाका सहज हुन्छ ।

आजकाल व्यापार कस्तो छ ?
म चीन, इन्डोनेसिया, थाइल्याण्ड र अन्य मुलुकबाट पनि सामान आयात गर्छु । न्यू डल्लेपोखरी कालीदेवी इन्टरप्राइजेजमार्फत् लेडिज कपडा आयात गरेर रन्जना टे«ड सेन्टर ल्याएर बिक्रीवितरण गर्ने हो । राज्यलाई सक्दो कर तिर्ने हो ।

राजनीतिमा के–के जिम्मेवारी छन् ?
मैले नेकपाभित्र खेलकूदको जिम्मेवारी बहन गरेको छु । जिल्लाको उपसंयोजक भएर खेल क्षेत्रलाई अगाडि बढाउन प्रयास गरिँदै छ । राजनीतिमा रहेर सामाजिक काममा मद्दत गरेको छु । पाङताङमा रहेको एक विद्यालयमा अध्ययन गर्ने आर्थिक विपन्न भएका विद्यार्थीलाई वार्षिक २० हजार सहयोग गर्दै आएको छु । सडक, खानेपानी र अन्य सामाजिक काममा मैले सकेको सहयोग गरेको छु । रगत नपुगेका विरामी, अपांग, असहाय, विपन्न परिवार, बृद्धबृद्धालाई सहयोग गर्ने मेरो प्रवृत्ति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्