२०८१ जेष्ठ ८

जनतासँग जनप्रतिनिधि– कृषिमा भद्र क्रान्तिको जमर्को

रमेश पराजुली-चौतारा । स्थानीय तहमा जनप्रतिधि आएसँगै जनताको समस्यासँग प्रत्यक्ष जोडिरहेका छन् । चौतारा साँगाचोकगढी नगरपालिकामा कृष्णप्रसाद सापकोटा निर्वाचित भएर आएपछि आफ्नो चुनावी एजेण्डाअनुसार कृषि क्षेत्रकोे सुधारका लागि हरप्रयत्न अख्तियार गरिरहेका छन् ।

आफैंपनि ‘कृषक मेयर’का रूपमा परिचित सापकोटाले नगरभित्रका जनतालाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउने जमर्को उनको छ । कृषि उत्पादनलाई वृद्धि गर्न किसानलाई प्रविधिसँग जोड्न आवश्यक रहेको बुुझाइअनुसार कामलाई तिव्रता दिएका छन् ।
कृषि उत्पादनमा उर्वर मानिएको किसानलाई आर्षकण गर्नका लागि कृषि अनुदान कार्यक्रम ल्याएको नगरपालिकाका कृषि शाखा प्रमुख चिरञ्जीवी कट्टेल बताउँछन् ।

उनी भन्छन्, ‘नगरपालिकाको कृषि उत्पादन बढाउनको लागि अनुदानमा आधारित कृषि कार्यक्रमलाई प्राथमिकता दिएको छ । किसानले उत्पादन गरेको कृषिजन्य वस्तुको सहज बजारिकणको लागि ‘कोर्डस्टोर’को स्थापना गरेका छौं । त्यसो भएपछि उत्पादित वस्तुको बिक्री गर्नको लागि घर घरमा लग्नु पर्दैन । किसानले चौतारामा तोकिएको डिर्लरकहाँ सामान छाडेर पैसा लिएर जाने सकिने व्यवस्था गरेका छौं ।’
डिर्लरवालाले सामान बेच्न नसकेर कुहिएर खेर गएमा नगरपालिकाको त्यसको क्षतिपूर्ति दिने उनको भनाई छ । कृषि उत्पादन वृद्धिको लागि पकेट क्षेत्रको अवधारणा अघि सारेको उनले बताए ।

उनले थपे, ‘अहिले ११ वटा पकेट क्षेत्रमा काम गर्न लागेको छ । त्यसलाई व्यवस्थित गर्दै उत्पादनलाई बजार व्यवस्थापनको लागि प्रोत्साहन गर्ने लक्ष्यका साथ यो योजना अगाडि बढाएका हौं । तरकारी उत्पादन भए कलेक्सन सेन्टरकोे स्थापना, बाख्रापालन भए बिमादेखि आधुनिक खोरसम्मको व्यवस्थाको व्यवस्था पनि हुन्छ ।’

नगरपालिकाको जमर्को

पछिल्लो समय नगरपालिकाको किसानलाई प्रविधिमैत्री बनाउन मिनिटिलर वितरण अनुदान कार्यक्रमतर्फ कृषक, कृषक समुह, कृषि सहकारी व्यवसायिक फर्मलाई ६६ ओटा मिनिटिलर वितरण गरेको छ ।मकैको विउ उत्पादनको लागि पकेट क्षेत्र तोकि अनुदान, उत्पादनमा आधारित अनुदान, कृषक, कृषक समुह र कृषि सहकारीहरूलाई ५६० ओटा प्लाष्टिक टनेल, १६ ओटा आईरन टनेल र १११ थान ब्याट्री स्प्रेयर, १६ ओटा साना सिँचाइको लागि आवश्यक प्लाष्टिक पोखरी वितरण गरेको जनाएको छ ।

औषधी खरिद कार्यतर्फ बालीनालीमा लाग्ने विभिन्न प्रकारका रोग, किरा नियन्त्रण गर्न ६ किसिमका जैविक तथा रासायनिक औषधि कृषकहरूलाई ७५ प्रतिशत अनुदान, २० वटा साना सिंचाई तथा पोखरी निर्माण कार्य सम्झौता गरी कार्यान्वयनको चरणमा रहेको नगरपालिकाको तथ्यांक छ ।घुम्तिकोष सेवा अन्तर्गत रकम उपलब्ध गराई रासायनिक मल खरिदमा सहजीकरण, माटो परीक्षण तथा घुम्ति शिविर कार्यक्रम सञ्चालन तर्फ १८२ जना कृषकहरूको माटो परीक्षण गरी कृषि चुन वितरण, ९३० कृषकहरूलाई ७.५ टन उन्नत मकैको बिउ र ४१० जनालाई ९ टन स्थानीय जातको धानको विउ वितरण समेत गरेको छ ।

११ वटा साना लिफ्ट सिंचाई र १० ओटा आकासे, पानी संकलन ट्यांकी कृषकहरूको आवश्यकतानुसार उपलब्ध, पकेट विकास प्रवर्द्धन कार्यक्रम अन्तर्गत आलु, मकै, तरकारी) फलफुल, बाख्रा र बंगुर पकेट कार्यक्रम कार्यान्वयनको प्रकृयामा रहेको छ ।सिंचाइ सुविधा विस्तारका लागि २८ वटा पोखरी निर्माण, वडा नं. ४ स्थित सेतिदेवी पञ्चकन्या मा.वि. र नगर साझेदारीमा ग्रीन हाउस निर्माण, वडा नं. ५ को चौतारा बजारमा ०८० असार १ गतेदेखि तरकारी संकलन केन्द्र सञ्चालन गर्नेगरी प्रक्रिया अगाडि बढाइएको नगर प्रमुख सापकोटाले बताए ।

उनले भने, ‘हामीले कृषि क्षेत्रको सुधारको लागि काम गरिरहेका छौं । कृषिबाट आत्मनिर्भर बनाउनु नै हाम्रो लक्ष्य हो । त्यही अनुसारको हामीले अहिले किसानलाई आवश्यक वस्तुको अनुदानमा समेत उपलब्ध गराउँदै आइरहेका छौं ।’कृषि क्षेत्रमा देखिएको विचौलिया प्रवृत्तिको अन्त्य गर्न सके स्थानीय उत्पादनलाई सहजै बजार व्यस्थापन गर्न सकिने उनको ठम्याइ छ ।

कसरी हुँदैछ बजार व्यवस्थापन ?

तर, नगरपालिकाको कृषि समस्या सुधारको प्रयास गरेपनि नजिता अझै आइसकेको छैन । सिँचाइको अभाव, युवाशक्तिको विदेश पलायनले कामदारको अभाव, प्राविधिक सेवासहित उत्पादन सामग्रीको अभाव उत्पादित वस्तुको भण्डारण तथा बिक्री वितरणमा कठिनाइ देखिएको नगरपालिकाका कर्मचारीहरू स्वीर्काछन् ।नगरभित्र उत्पादित वस्तुको बजारिकणको समस्या भएकाले त्यसको अन्त्य गर्नको लागि आफूहरु लागिरहेको कृषि शाखा प्रमुख कट्टेलले सुनाए ।उनले भने, ‘चौतारामा उत्पादन भएको वस्तुको बिक्रिका लागि विचौलियाको भन्दापनि बजारिकरणको मिडियटरको समस्या देखिएको छ । त्यसलाई अन्त्य गर्नको लागि नगरपालिकाले नै प्रामोट गरेर त्यहाँबाट बिक्रि हुनसक्छ भन्ने पार्नको लागि केही सहयोग गर्ने कुरा हो ।’किसानको भावना विपरित मौलाएको विचौलिया पद्धतिको अन्त्य गरि तत्कालीन समस्या उत्पादनलाई व्यवस्थित र आधुनिकिरण गर्ने गर्नुपर्ने जानकारहरूको बुझाइ छ ।

त्यसो त नगरप्रमुख सापकोटा पनि बजारिकणमा विचौलिया हावी भएको स्वीकाछन् ।उनी भन्छन्, ‘मैले महसुस गरेको चाहिँ विलौलिया भनियो भने विरोध गर्नुहुन्छ होला । तर, भारतिय सामान आउनाले नेपालमा उत्पादित सामानहरू उचिल मुल्य नपाएर कुहिएर जाने अवस्था छ । त्यो कुरा स्थानीय स्तरमा पनि खड्किरहेको छ ।’चौतारामा बजारिकणको लागि आवश्यक पूर्वाधार नहुनु (हाटबजार, विक्रि कक्ष, सौगात गृह, कोशेलीघर तथा सडक सञ्जाल), प्रचार प्रसार गर्न नसक्नु, उत्पादन खरीद र बिक्रिकर्ता बीचको सम्बन्धको विकास हुन नसक्नु पनि हो ।सुरक्षित भण्डारण तथा चिस्यान केन्द्र नभएका कारणले फलफूल तथा तरकारीका उद्यमीहरूले सस्तो मूल्यमा आफ्नो उत्पादन बिक्रि गर्नुपर्ने भएको हँुदा अपेक्षित लाभ प्राप्त गर्न सकेकका छैनन् ।

स्थानिय स्तरमा उत्पादित वस्तुको उपभोगमा आम उपभोक्ताको आकर्षण हुन नसक्नु, स्थानिय उत्पादनको विषयमा प्रचार प्रसार हुन नसक्नु, व्यवसायिक सोचका साथ उत्पादन नहुनु र उत्पादित वस्तुहरूको गुणस्तरले अन्य उस्तै सामानसँग प्रतिस्पर्धा गर्न नसकेको कारणले पनि समस्या भएको नगरप्रमुख सापकोटाको बुझाइ छ ।यहाँका उत्पादन भएका वस्तुहरू आन्तरिक बजारमा चौताराको मूख्य बजार, साँगाचोक, सुकुटे, स्याउले, इर्खु, जल्केनी, मेलचौर, बलेफी, भैंसे बजारमा बिक्रि वितरण हुने गरेको छ ।

नगरपालिकाभित्र मुख्यत खाद्य बालीहरूमा आलु, धान, गहुँ, मकै, कोदो, फापर, तोरी उत्पादन हुन्छन् । तरकारी तथा फलफूलहरूमा प्याज, अदुवा, बेसार, लसुन, गोलभेडा, काउली, काक्रा, सिमी, लौका, भाण्टा, च्याउ, अलैंची, कफी, सुन्तला, जुनार, कागती, लप्सी, हलुवावेदलगायको वस्तुहरूको स्थानीय उत्पादन हुने गरेको छ ।

स्थानीय उत्पादनलाई नै केन्द्रमा राखेर पकेट क्षेत्रको अवधारणालाई प्राथमिकतामा राखेको कृषि प्रमुख कट्टेल बताउँछन् ।उनी थप्छन्, ‘कुविण्डेलाई आलु पकेट क्षेत्र, डडुवालाई गोलभेडा पकेट क्षेत्र भनेजस्तै जहाँ जे उत्पादन हुन्छ त्यहाँलाई सोही अनुसारको पकेट क्षेत्रको रूपमा स्थापित गर्दैछौँ ।’विभिन्न संघसंस्थाको साझेदारीमा उत्पादन बढाउन टनेलकोे व्यवस्थापन गरेको समेत बताए । किसानलाई कृषिसँग सहजै जोड्न यान्त्रिक उपकरणलाई प्राथमिकता दिएको उनको भनाई छ ।

‘अनुदान दिएर भएपनि उत्पादन बढाउँछौँ’

त्यसो त नगरपालिकाले कृषि क्षेत्रमा हालसम्म गरेको काम, कृषि क्षेत्रमा आएको सुधार, बजार व्यवस्थापनमा देखिएको चुनौतिलगायतको बिषयमा केन्द्रित रहेर नगरप्रमुख सापकोटासँग हामीले संक्षिप्त कुराकानी गरेका छौैं ।निर्वाचिन भएर आएको एक बर्ष पूरा भइसक्यो ।

कृषि क्षेत्रमा केके कामको थालनी गर्नुभयो ?
अहिले कृषि क्षेत्रको सुधारको लागि महत्वपूर्ण योजना अघि सारेका छौं । हामीले थालेका अधिकांश योजनाहरू कार्यान्वयको चरणमा जान थालेका छन् । हामीले सुरूमा कृषि उत्पादन बढाउका लागि गाई भैसी खरिदका लागि अनुदान दिने काम ग¥यौं । बाख्रापालन कृषि बजारहरू वितरण गर्ने यस्ता काम भइरहेका छन्।

अब बजेटको तयारीमा पनि हुनुहुन्छ । कस्ता बिषयहरू समेटिन्छन् ?
बजेटमा अहिले भइरहेका कामलाई निरन्तरता दिन्छौं । त्यसका साथसाथै सिचाईंलाई पनि प्राथमितामा राखेका छौं । अहिले मिनी टिलरहरूको माग धेरै आएका छन्् । वास्तविकताको पहिचान गरेर त्यसलाई बढाउनुपर्नेछ । पकेट क्षेत्रलाई सुदृण ढंगले व्यापक रूपमा सञ्चालनको प्रयास गरिरहेका छौं ।

तरकारीको राम्रो पकेट क्षेत्रको रूपमा लिइने नगरमा कृषि क्षेत्रमा कहाँ समस्या देख्निुभयो ?
अहिले मैले महसुस गरेको चाहिँ विलौलिया भनियो भने विरोध गर्नुहुन्छ । भारतिय सामान आउनाले नेपालमा उत्पादित सामानहरू उचित मुल्य नपाएर कुहिएर जाने अवस्था पनि छ । तर, त्यस्तै स्थानीय स्तरमा पनि खड्किएको छ । हामीले संकलन केन्द्र खोलेर स्थानीय बजारमै खपत गर्ने भनेर धेरै कोसिस गरियो । त्यो कुरा चाहिँ सम्भव भएका छैनन् ।
चौतारामा चाहिँ असार १ गतेदेखि कृषिजन्यलगायतका सामाग्रीहरूलाई संकलन गरेर आवश्यकता अनुसार बजारमा वितरण गर्ने सम्झौता भएको छ । मान्छेहरूले धेरै कन्भिन्स गरेर मात्रै त्यसको सुरूआत हुँदैछ । बजारमा सकुटेलगायतका ठाउँका होटलवालाहरूसँग कुरा गर्दा सामान पाइएन भन्ने उहाँहरूको कुरा छ ।
चौतारा साँगाचोकगढी नगरपालिका दुधमा आत्मनिर्भर छ । तर, उनीहरू पाउडर दुधको प्रयोग गरिरहेका छन् । उनीहरू पिँडालु, तरूलको खोजी गर्छन् । यता, किसान बेच्न पाइएन भने गुनासो गर्छन् उता उनीहरूको पाइएन भन्ने गुनासो छ । यस्तो अन्तरविरोध देखिएकाले त्यसको अन्त्य गर्न लागिपरेका छौं । तत्कालै संकलन केन्द्र निर्माण गरेर विरण गर्ने योजनाबद्ध ढंग अघि बढ्नुपर्छ भन्ने हाम्रो प्रयास छ ।

विचौलियाको कुरा तपाईंले पनि गर्नुभयो। किसानहरूलाई उचित मुल्य दिलाउन नसक्नेको चुनौति कहाँ हुनेरहेछ ?
पहिलो कुरा त बजारमा जेजे कुराको खपत हुन्छ उनीहरूले बेमौसममा पनि सधैं उत्पादन गराएर उपलब्धि गराउन नसक्ने स्थिती छ । कतिबेला कतिसामान उत्पादन हुन्छ त्यति सामान लिइदिनुपर्ने किसानको माग हुन्छ । त्यसमा व्यापारीहरु तयार भइहाल्ने अवस्था देखिँदैन ।
दोस्रो, मुल्यको कुरा गर्दा सस्तो त केही होला । तर, उनीहरूको उत्पादन सडेर गयो र केही मुल्य कम भयो भनेपछि केही अनुदान निश्चित अवधिमा बानी पार्नुपर्छ भन्ने कुरा हामीले प्राथमिकता राखेका छौं ।

हामीले त्यो कुरा भनिरहेका पनि छौं । तर, ठ्याक्कै व्यवहारमा लागू गर्ने कुरामा चाहिँ किसानहरू बेमौसममा पनि तरकारी उत्पादन गरिदिने, भएकोलाई पनि बेच्ने, बिग्रेपनि क्षति नगरपालिकाको दिने भन्नेगरी आएको छैन । समस्या गुनासो चाहिँ बेच्ने ठाउँ छैन भन्ने तर त्यसलाई व्यवस्थित गरेर अगाडि बढ्ने कुरामा चाहिँ तयार नहुने ।

सधैंका लागि गर्ने भएपछि तरकारी व्यापारीहरूलाई चाहिन्छ । तर सधैं तरकारी उत्पादन गर्न नसक्ने यो स्थिती छ। हामीले उत्पादिन वस्तुहरूलाई अनुदान दिने, क्षति भएपनि त्यसको अनुदान दिने, विभिन्न ठाउँमा संकलन केन्द्र निर्माण गर्ने र आवश्यकता अनुसार वितरण गर्ने भन्ने आम रूपमा नै अभियान नै चलाउने भन्ने सो्चिरहेका छौं । हामीले भर्खरै सुकुटेमा पनि संकलन केन्द्र निर्माण गर्ने, साँचागोक र चौतारामा पनि गर्नेगरी योजनाबद्ध ढंगले लागेका छौं । चौतारामा त १ गतेदेखि नै सुरू हुन्छ ।

तर, नगरपालिकाले वितरण गर्ने अनुदान वास्तविक किसानको नपुग्ने आम जनगुनासो आउँछन् नि ?
तपाईंले सही प्रश्न उठाउनुभयो । हामीले सहकारीमार्फत् तरकारी संकलन गर्ने, त्यसबाट वास्तविक किसानको पहिचान पनि हुन्छ । त्यो गर्न सके वास्तविक किसानको हातमा अनुदान पनि जाने भएपछि प्रोत्साहीत पनि गर्छ भन्ने योजना बनाएका छौँ ।

किसानलाई कृषि बिमासँग पनि नगरपालिकाले जोडेको छ ?
कषिमा भन्दापनि हामीले पशुमा चाहिँ बिमा गरेका छौं । हामीले नगरपालिकाकै खर्चमा नगरभित्रका सबैको बिमा गराइदिएका हौं ।

प्रतिक्रिया दिनुहोस्