२०८१ श्रावण १२
                           

‘युवा संघ आम जनताको स्वयम्सेवक हो’

सानै उमेरमा राजनीति क्षेत्रमा होमिएका चौतारा साँगाचोकगढी नगरपालिका– २ (तत्कालिन बतासे– ४) मा जन्मिएका सुमित काफ्ले भर्खरै युवा संघ सिन्धुपाल्चोक क्षेत्र नं. १ को संयोजकमा चयन भएका छन् । २०६३ सालमा १४ वर्षको उमेरमा कालिकालेवी मावि बतासेको इकाई अध्यक्षबाट राजनीतिक यात्रा सुरु गरेका काफ्ले २०६६ सालमा आनन्द मावि जलविरेको इकाई अध्यक्ष, २०६७ सालमा क्रान्तिकारी पत्रकार संघ सिन्धुपाल्चोकको जिल्ला सदस्य, २०६९ जलविरे भ्याली क्याम्पस इकाई अध्यक्ष, २०७० सालमा अखिल क्रान्तिकारी सिन्धुपाल्चोकको सदस्य, २०७३ सालमा प्रेस सेण्टर नेपालको केन्द्रीय सदस्य , २०७४ सालमा सिन्धु–काठमाण्डौ सम्पर्क समितिको क्षेत्रीय कोषाध्यक्ष र २०७४ मा वाईसिएलको जिल्ला सदस्यको भूमिका निर्वाह गरिसकेका छन् । पछिल्लो समय युवा राजनीतिमा सक्रिय काफ्लेसँग वर्तमान समयमा युवाहरुको भूमिकालाई लिएर पत्रकार सुन्दर शिरीषले गरेको कुराकानी अंशः

युवा संघको सांगठनिक गतिविधिहरु कसरी अगाडि बढाउने सोच बनाउनु भएको छ ?

भर्खरै मात्र जिल्ला कमिटिले पूर्णता पाएको छ । यो सांगठानीक एकताको विशिष्ठ अवस्था समेत भएको हुँदा तत्लो तहसम्म एकतालाई पूर्णता दिनेगरी संगठन निर्माण गर्ने, युवा संघमा आवद्ध सम्पूर्ण सदस्यहरुलाई संगठको नीति र कार्ययोजनाबारे प्रशिक्षित गर्ने तत्कालको तयारी हो ।

युवा राजनीतिमा क्रियाशिल हुनुहुन्छ, अहिले युवाहरुमा देखिएको मूख्य समस्या के हो ?

खासगरी युवामा समस्या भन्दा पनि युवा आन्दोलनको प्रमुख चुनैति के हो भन्ने अहिलेको मूख्य कुरा हो । सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपाली नारालाई व्यवहारतः पूर्णता दिन युवा संघ क्रियाशिल रहन्छ । समाजमा निम्न आय रहेका वर्गहरुलाई आर्थिक तवरले माथी उठाउन स्वरोजगारमा जोड दिँदै उत्पादनमूखि वातावरण बनाउन सरकारलाई सहयोग गर्ने कार्य युवा संघले निरन्तर गर्छ । साथै राष्ट्रिय युवा संघ आम जनताको स्वयम्सेवक हो भन्ने कुराको प्रत्याभूति गराउन अनवरत लागिरहन्छ ।

युवाहरु अहिले पलायनको बाटोमा छन्, रोजगारीको निम्ति भौतारिरहेका छन्, यसलाई रोक्न युवा संगठनले कस्तो नीति अवलम्वन गर्छ ?

तपाईले भन्नु भएको कुरा ठीक हो । हाम्रा धेरै युवाहरु विभिन्न देशमा श्रम गर्न पुगेका छन् । यसको व्यवस्थापनको लागि खासगरी युवाहरुलाई उत्पादनमा जोड्ने गरी कृषि, पर्यटन, उद्योग लगायतका स्वरोगार र व्यवसायमूलक काम गर्न उत्प्रेरित गर्ने खालका कार्यक्रमहरु सञ्चालन गर्ने र त्यसलाई अभियानकै रुपमा अगाडि लैजाने गरी कार्यक्रमहरु बनाउँछौं । संविधानमा लिपिबद्ध भए अनुसार हरेक युवालाई देशभित्रै रोजगारीको सिर्जना गर्न सरकारलाई रचनात्मक दावाव दिन्छौं । साथै विकास निर्माणका कार्यहरुमा युवाहरुको सक्रिय सहभागिता गराउन राज्यका विकासका आयोजनाहरु समयमै सम्पन्न गर्ने गरी आवश्यक जनशक्ति दिन युवा संघ तयार छ । त्यसो हुँदा वेरोजगारीको समस्या हल गर्न सकिन्छ भन्ने मलाई लाग्छ ।

अहिलेको युवा वर्ग राजनैतिक शक्तिको आडमा ठेकेदारी, गुण्डागर्दीजस्ता कार्यमा संलग्न हुँदै आएका छन् भनेर आलोचना हुने गरेको छ, के यो सत्य हो ?

विल्कुल सत्य होईन । जहाँसम्म राजनीतिक आडमा भन्ने प्रश्न आयो, राष्ट्रिय युवा संघ आफैंमा एउटा राजनीतिक संगठन हो । प्रजातन्त्र प्राप्तीको आन्दोलनदेखि जनयुद्ध हुँदै २०६२/०६३ को जनआन्दोलनसम्म आईपुग्दा परिवर्तनको हरेको आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्दै युवाहरु आन्दोलनको अग्रमोर्चा सम्हाल्दै आएका छन् । तपाईले राज्यको परिवर्तनका आन्दोलनहरुको इतिहास हेर्नु भयो भने युवाहरुले आफ्नो अमूल्य बलिदानी दिएका छन् । त्यसैको जगमा टेकेर देश अहिले गणतन्त्रमा आईपुगेको छ ।
युवाले गुण्डागर्दी गर्छन् भन्ने जुन कुरा छ, कुनै एउटा अमूक घटना र कुनै समय सन्दर्भलाई बङ्याएर त्यसलाई युवासँग जोड्ने र अफवाहको रुपमा फैलाउने काम मात्र भएको हो । खासगरी हाम्रा कम्युनिष्ट पार्टी निकटका युवा साथीहरु समाजमा विकृति फैलाउने गरी त्यस्ता हुलहुज्जत र गुण्डागर्दीका कार्यमा संलग्न हुँदैनन् । ठेकेदारीको कुरा जो छ, राज्यले एउटा नीति नियमको परिधिभित्र रहेर ठेक्का आह्वान गर्छ र निश्चित प्रकृया पुर्याएर कुनै कम्पनीले ठेक्का पार्छ, यो राज्यको नियम अनुसारनै हुन्छ । त्यसमा कुनैपनि राजनीतिक हस्तक्षेत्र र आड हुन्छ भन्ने कुरा गलत हो ।

युवा संघलाई आम नागरिकले कसरी बुझ्ने ?

युवा संघ राष्ट्र निमार्णको एउटा पहरेदार हो । यसलाई राष्ट्रिय अखण्डताको पक्षमा निरन्तर लड्ने, देशको सीमा रक्षाको निम्ति पहरेदारी गर्ने र राष्ट्रमा संकट आईपर्दा स्वयम्सेवकको भूमिका निर्वाह गर्ने एउटा अब्बल युवाहरुको संगठन भनेर बुझ्नुपर्दछ । मूलतः अहिले स्रोत र साधनलाई कब्जा गरी पूजिँपति दलाल वर्गहरुले समाजमा कालोबजारी सिर्जना गरेको अवस्थामा उत्पादनका स्रोत, साधान र प्रयोगको अधिकार जनताको माझमा स्थापित गर्न सदैव क्रियाशिल हुँदै समाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको निम्ति निरन्तर प्रयत्नशील रहने संगठन हो ।

अन्त्यमा ?

तपाईको लोकप्रिय मिडियामार्फत आफ्ना विचार सम्प्रेषण गर्ने मौका दिनुभएकोमा आभार व्यक्त गर्दछु । साथै समृद्ध नेपाल निर्माण अभियानमा लामबद्ध हुन सम्पूर्ण युवाहरुलाई अपिल गदै पछिल्लो समय विश्वलाईनै चुनौति दिनेगरी कोभिड– १९ नामक कोरोना भाईरस फैलिरहेको अवस्थामा सम्पूर्ण नागरिकहरुलाई यसका प्रति सचेत रहन, आफ्नो समुदायलाई सुरक्षित राख्नको लागि जनचेतना जगाउन आग्रह गर्दछु ।

प्रतिक्रिया दिनुहोस्