२०८१ श्रावण १२
                           

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पर्सि उम्मेद्वारी दर्ता गर्ने समय तर निर्वाचन क्षेत्र बाँडफाँटको विषय अझै टुङ्गीएन

असोज २१, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पर्सि उम्मेद्वारी दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका रहेको छ तर अझै सम्म पनि गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँटको विषय टुङ्गो लागेको छैन । निर्वाचन क्षेत्र बाँडफाँटको विषय टुङ्गो लगाउनको लागि सत्तारुढ गठबन्धनका ४ दलको बैठक बालुवाटारमा जारी रहेको छ ।

निर्वाचन क्षेत्र बाँडफाँटका लागि केही दिनदेखि जारी रहेको बैठकलाई निरन्तरता दिँदै आज अन्तिम रूप दिन निर्णायक वार्ता भइरहेको छ । गढबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) भने बाहिरिएको छ । हिजोसम्मको बैठकमा भने जसपा पनि सहभागी भएको थियो । जसपा बाहिरिएसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बालुवाटार वार्तामा सहभागी भएको छ ।

कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनका आधारमा ४ दलले आज बेलुकीसम्म निर्वाचन क्षेत्र बाँडफाँट गरिसक्ने एकिकृत समाजबादीका नेता जगन्नाथ खतिवडाले बताउनुभयो । सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेताहरु सहभागी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्