२०८१ श्रावण १२
                           

दर्जनौँ पर्यटकीय सम्भावनाले भरिपूर्ण बाह्रबिसे नगरपालिका

असोज १३ – बाह्रबिसे नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत पर्ने सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक नगरपालिका हो । यसको क्षेत्रफल ९६.७३ वर्ग किलोमिटर रहेको छ । विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा सिन्धुपाल्चोक जिल्लाका घोर्थली, कर्थली, बाह्रबिसे, गाती, घुमथाङ, मानेश्वारा र राम्चे गाउँ विकास समितिहरूलाई समेटेर बाह्रबिसे नगरपालिका घोषणा गरिएको हो । बाह्रविसे सिन्धुपाल्चोक जिल्ला तीन र मुलुकका २७६ मध्य एक नगरपालिका हो ।

समुन्द्र सतहदेखी ५०० मिटर देखी ४००० मिटर सम्मको उचाई भएको भु-वनोट रहेको यस नगरपालिकाको जनसंख्या २६५३५ र क्षेत्रफल १३४.८ वर्ग कि.मि रहेको छ । पूर्वमा दोलखा जिल्ला पश्चिममा सिन्धुपाल्चोककै जुगल गाउँपालिका सँग सीमा जोडीएको यस नगरको उत्तरमा भोटेकोशी गाउँपालिका र दक्षिणमा त्रिपुरासुन्दरी तथा बलेफी गाउँपालिका पर्दछन् । अनेकौँ थली थुम्की पहाड र चुचुराहरू रहेको यो नगर हिमाली नगरपालिकाको मापदण्ड अनुसार नगरपालिका भएको हो ।

नगरपालिकाको भवन रहेको केन्द्रिय क्षेत्र बाह्रबिसे बजारको रूपमा परिचित छ भने यस बजारमा पूर्ख्यौलि नेवार जातीको बाहुल्यता रहेको छ । तर समग्र नगरपालिकाको जनसंख्यामा भने तामाङ जातीको जनसंख्या अघि देखिन्छ । ब्राम्हण, क्षेत्री, तामाङ, शेर्पा, गुरूङ लगाएत अनेकौँ जातजाती र भाषाभाषिहरू यहाँ रहेका छन् भने थामी समुदाय यस नगरको आदिवाशी लोपोन्मुख जनजाती अन्तर्गत पर्दछन् ।

यस नगरपालिकामा रहेको पर्यटकीय सम्भावनाको अवस्था, विकास र विस्तारमा आधारित रहेर सहकर्मी  सुष्मा तिमिल्सिनाले बाह्रबिसे नगरपालिकाकी उपमेयर मञ्जु तामाङ सँग गर्नु भएको कुराकानी  ।

बाह्रबिसे नगरपालिकामा पर्यटनको के कस्तो सम्भावना छ ?

यस नगरपालिकामा पर्यटनको राम्रो सम्भावना रहेको छ । नेपाल चीन स्थलगत मार्ग जोडिने अरनिको राजमार्ग र दुवै तर्फ फैलिएको वडाहरूको फेदिमा रहेको भोटेकोशी नदी यसको प्राकृतिक पहिचान हो । तिब्बत नेपालका विभिन्न कालखण्डका सम्बन्धहरू सँग यसको अनेकौँ एतिहासिकता जोडिएको छ ।

अर्को भनेको यहाँ कालिका मन्दिर, विष्णु मन्दिर, सेतिदेवी मन्दिर, भिमसेन मन्दिर, बागेश्वरी मन्दिर, श्री कफेश्वर मन्दिर, सुनकोशी/क्षमादेवि मन्दिर, गोल्मा भिमसेन जस्ता दर्जनौँ धार्मिक स्थलहरू यहाँ रहेका छन् भने यहाँ कोटगाउँ/गोल्बो गुफा, खार्ङ्गे गुफा पनि रहेको छ ।

खार्ङ्गे गुफामा खडेरी पर्दा पानी माग्न जाने गरिन्थ्यो र उनीहरू फर्किदाँ पानी आउने कि‌ंबदन्ती रहेको छ । त्यस्तै बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने प्रसिद्ध तीर्थस्थल ज्याङ्दाङ पोखरी पनि छ जसलाई ‘मृत ढुंगाको सहर’ पनि भन्ने गरिन्छ । त्यहाँ असंख्य कलात्मक काला पत्थर र चट्टानी पहाड जताततै रहेका छन् ।

यी बाहेक यस नगरपालिका भित्र ३ दर्जन भन्दा बढी धार्मिक तथा पर्यटकीय स्थलहरू रहेका छन् ।                                        पर्यटकलाई आकर्षित गर्न केकस्ता योजनाहरू छन् ?

हामीले योजनाहरू बनाई रहेका छौँ । बुद्ध पार्क, घुडे र ओम पार्क लगायतका केही स्थानहरूलाई लक्षित गरेर हामीले केही योजनाहरू बनाई रहेका छौँ । तर हाम्रो यस नगरपालिकाको भौगोलिक बनावटले गर्दा बर्खा याममा बाढी पहिरोको धैरै नै डर हुने भएकोले हामीले ति योजनाहरूलाई कार्यान्वयन गर्न भने सकेका छैनौँ ।

कालिन्चोक मन्दिर जान पैदलयात्रीहरूका निम्ति पनि हामीले योजना बनाई रहेका छौँ । सडकसन्जाल सँग मात्र नभएर हामीले पैदलयात्रीहरूलाई पनि प्राथमिकतामा राखेर कामहरू गरिरहेका छौँ ।

पर्यटकीय क्षेत्रमा बाटो, होटेल र होमिस्टेको कस्तो सुविधा छ ?

यस सिजनमा यहाँको पर्यटकीय यात्रीहरूलाई गन्तव्यमा पुग्न एकदमै कठीन छ । तर हामीले कसरी हुन्छ सहजता अपनाउन खोजिरहेका छौँ ।

यहाँ होमिस्टे व्यवसाय तेत्ति फस्टाउन सकेको छैन तर होटेलको सुविधा भने छ । त्यसमा पनि पर्यटककै सेवा सुविधालाई मध्यनजर गरेर हामीले यसलाई पनि व्यवस्थित बनाउन खोजिरहेका छौँ ।

यस नगरपालिकाको सबैभन्दा चर्चित पर्यटकीय स्थल कुन होला ?

यस नगरपालिकाको सबैभन्दा चर्चित स्थल धार्मिक हिसाबले क्षमादेवी मन्दिर र कफेश्वर मन्दिर लिन सकिन्छ भने पर्यटकीय हिसाबले हेर्दा ओम पार्क र पछिल्लो समय चर्चित बन्दै गरेको ज्याङ्दाङ पोखरीलाई पनि लिन सकिन्छ ।                                                                       यहाँको विशेष खाना के होला ?

यहाँको विशेष खाना नेपालि खाना नै हो । जसमा दालभात तरकारी अचार यी नै पर्दछन् ।

पर्यटकीय क्षेत्रको विकास विस्तारको कार्यलाई कत्तिको गहन तरीकाले लिनुभएको छ ?

संसारको जुनसुकै राष्ट्रको समुन्नति, विकास र विस्तारको निम्ति नभई नहुने एउटा माध्यम अन्तर्गत् पर्यटन पनि पर्दछ । यस क्षेत्रमा पिछडिएका पर्यटकीय स्थलहरूको हामीले अध्ययन अनुसन्धान गरिरहेको छौँ । पर्यटन व्यवसायलाई पनि मध्यनजर गर्दै हामीले कामहरू गर्न खोजिरहेका छौँ ।

प्रतिक्रिया दिनुहोस्