२०८१ श्रावण १२
                           

पोइट आइडलबाट आउट भएपछि मेरो बालापन हरायो – महेन्द्र थुलुङ राई

अभिनयसहितको कविताले कविताको प्राण भर्छ । समयअनुसार प्रयोग हुन जान्नु पर्छ । कविता पनि बेच्न सकिन्छ भन्ने कुरा पोइट आइडलले सिकायो । 

कवि महेन्द्र थुलुङ राई “द पोइट आइडल” को भोटिङ राउण्ड अर्थात् उत्कृष्ट १४ बाट आउट हुने दोस्रो कवि हुनुहुन्छ । त्यसअघि रोल्पाका कवि युग सर्वनाम बाहिरिसक्नु भएको थियो । समूह B मा रहनु भएका कवि महेन्द्र सो समूहबाट आउट हुने पहिलो कवि हो । गत माघ १९ गते बिहीबार प्रसारित आइडलको ११ औँ एपिसोडबाट उहाँको यात्रा टुङ्गिएको हो आइडलको मञ्चमा । उहाँसँगको यो अन्तरवार्ता पहिले नै प्रकाशित हुनु पर्ने थियो । तर केही प्राविधिक कारणले गर्दा ढिलो गरी प्रकाशनमा आएको छ । यसका लागि हामी क्षमा चाहन्छौँ, विशेषगरी म ।

कवि महेन्द्र ताप्लेजुङका कवि लक्ष्मीप्रसाद मादेन अर्थात लेकाली कान्छा मुक्कुमसँग अन्तिम प्रतिस्पर्धामा पर्नु भएको थियो । भोटका आधारमा उहाँहरु दुबै जना रेड जोनमा परेपछि “आशु कवि राउण्ड” मा कविता लेख्नका लागि “मित्रता” शीर्षक दिइएको थियो । कविता लेखनका लागि ३० मिनेटको समय दिने गरिएको छ । सो अन्तिम प्रतिस्पर्धामा कवि महेन्द्रको कविताले १५०.५ र कवि लेकाली कान्छा मुक्कुमको कविताले १५८ अङ्क प्राप्त गरेका थिए । यसमा दुई समय पूर्णाङ्क रहने गरेको छ । जम्मा ७.५ अङ्कको अन्तरले पराजित हुनु परेको थियो कवि महेन्द्रले । यो अन्तरवार्ता तयार पार्दासम्म कवि लेकाली कान्छा मुक्कुम पनि पोइट आइडलको मञ्चबाट बाहिरिसक्नु भएको छ । उहाँ उत्कृष्ट ९ सम्म पुग्नु भएको थियो । उहाँसँगको कुराकानी आगामी आइतबार आउने नै छ ।

पोइट आइडल AP1 टेलिभिजनमा हरेक बिहीबार र शुक्रबार नेपाली समय राती ८:३० बजे प्रसारण हुँदै आएको छ । साथै यसलाई OSR रियालिटीको युट्युब च्यानलमा पनि हेर्न सकिनेछ । “डन डिरेक्टर” को रुपमा परिचित अमन प्रताप अधिकारीले पोइट आइडलको निर्देशन गरिरहनु भएको छ । आइडलमा चर्चित कविद्वय उपेन्द्र सुब्बा र विप्लव प्रतीक, रङ्गकर्मी अनुप बराल र नायिका सुरक्षा पन्त निर्णायकमा हुनुहुन्छ । त्यसैगरी आइडलको उद्घोषकमा नायक दिव्यदेव हुनुहुन्छ । गामबेँसीका कवि क्षेत्र प्रताप अधिकारीको सम्झनामा उहाँका छोरा अमन प्रतापले पोइट आइडल निर्माण गर्नुभएको हो ।

आफूले आफूलाई “अराजक” छु भन्ने कवि महेन्द्र राई कवितालाई ब्रम्हाण्डको रुपमा व्याख्या गर्नुहुन्छ । जसको कहिल्यै परिक्रमा गरेर सकिँदैन । विगत साढे दुई दशकदेखि कवितामा कलम चलाउँदै आउनु भएका कवि महेन्द्रको २०६६ सालमा “अदृश्यका प्रतिबिम्बहरु” कविता सङ्ग्रह प्रकाशित भएको थियो । त्यो नै उहाँको पहिलो र एकमात्र कृति हो । १३ वर्षको उमेरबाट कविताको यात्रामा निस्कनु भएका कवि महेन्द्रको यो यात्रा निरन्तर जारी छ । कवितासँगै उहाँ मुक्तक र हाइकुमा पनि कलम चलाउनु हुन्छ । वैदेशिक रोजगारको सिलसिलामा कुनै समय साउदी अरब र कतारमा गरी  ६ वर्ष बिताउनु भएका कवि महेन्द्रले हाल काठमाडौँमा होटल व्यवसाय सञ्चलान गर्दै आउनु भएको छ ।

उहाँको जन्म सुनसरीको धरानमा २०४१ साल भदौ ५ गते भएको थियो । माता देविका राई र पिता  बरम बहादुर राईका उहाँ कान्छो सन्तान हुनुहुन्छ । उहाँ धरानस्थित युगान्तर मासिक भित्तेपत्रिकाको संस्थापक सचिव, कतारस्थित नवोदित साहियिक वाचनालयको संस्थापक सदस्य र नवोदित साहित्यिक मोबाइल पुस्तकालयको संस्थापक संयोजक हुनुहुन्छ । त्यसैगरी आदिवासी जनजाती साहित्यकार महासंघको केन्द्रीय  सचिवालय सदस्य भएर पनि उहाँले काम गरिरहनु भएको छ । २०६८ सालमा नवोदित कृति अवार्डबाट उहाँलाई सम्मान गरिएको थियो ।

अब लागौँ यिनै कवि महेन्द्र राईसँग गरिएको कुराकानीको सम्पादित अंशतर्फ;

पोइट आइडलको  विभिन्न चरण पार गर्दै भोटिङ राउण्ड अर्थात उत्कृष्ट १४ मा पुग्दा कस्तो लागेको थियो ? 

– अब चाहिँ  म आउट हुन्छु जस्तो लागेको थियो । किनकी,भोटिङ् सित्तैमा थिएन ।आजसम्मको रियालिटी शोहरु हेर्दा, बजारको हल्ला सुन्दा, जसले धेरै खर्च गर्न सक्छ, उही विजेता हुन्छ, भन्ने एउटा सामाजिक मानसिकता व्याप्त थियो र, म गरिब छु । आफन्तहरु पनि गरिब नै छन् । गरिबको साथीहरु पनि गरिबै त हुन्छन् नि !

पोइट आइडलको समूह B बाट आउट हुने तपाईं पहिलो कवि बन्नु भएको थियो । आइडलको मञ्चबाट यति छिट्टै बाहिरिनु पर्दा कस्तो लागेको थियो ? 

– सयौँ कविहरु अगाडि नै आउट भइसक्नु भएको थियो । म त्यहाँसम्म पुगेर आउट भएँ । १२ जनालाई पो जित्न सकिनँ त । अरुलाई त जितेँ नि । भोट पुगेन होला भनेर चित्त बुझाएँ ।

पोइट आइडलको उत्कृष्ट १४ मा पुगिसकेपछि तपाईं आफूले चाहिँ अब कहाँसम्म पुगिएला भन्ने सोच्नु भएको थियो ? 

– आत्मविश्वास त उपाधि नै जितिदिन्छु भन्ने थियो । किनकी जजहरुको मैले धेरै माया पाएको थिएँ ।

तपाईंसँगै ताप्लेजुङका कवि लेकाली कान्छा मुक्कुम पनि बटम टुमा पर्नु भएको थियो । उहाँसँग अन्तिम प्रतिस्पर्धा गरिरहँदा कस्तो लागेको थियो ? 

– क्लोज क्याम्पमा बस्दा उहाँ मेरो अभिभावक जस्तो हुनुहुन्थ्यो । अन्तिम प्रतिस्पर्धामा पर्दा दुख लाग्यो । किनकी, अभिभावकसँग प्रतिस्पर्धा हैन सम्मान गर्नु पर्छ भन्ने हाम्रो सांस्कृतिक चेत छ ।

तपाईंहरु दुई जना बटम टुमा परेपछि कविता लेखनका लागि “मित्रता” शीर्षक दिइएको थियो र आधा घण्टाभित्र कविता लेखिसक्नु पर्ने थियो । विषय त सजिलै थियो । कविता लेख्न चाहिँ कत्तिको गाह्रो पर्यो ? 

– कविता लेखनमा विषय भनेको सजिलो, अप्ठ्यारो  हुँदैन । विषयको गहनताले त्यसभित्र कसरी कला भर्ने, बिम्ब खोज्ने, भावहरु उत्पन्न गराउने, प्रतीकलाई ठ्याक्कै शिर पाउ बनाउने भन्ने हुन्छ । उसो त लेखिरहेको मान्छे थिएँ त्यति गाह्रो परेन ।

पोइट आइडलको मञ्चबाट बाहिरिँदै गर्दा “म तलाउ जस्तो जमेर बस्ने मान्छे चाहिँ होइन । नदी जस्तै बग्छु” भन्नुभएको थियो । यसको मतलब भोलिका दिनमा पनि यहाँको कविता लेखन यात्रा निरन्तर रहन्छ भन्ने नै हो । अब कसरी अघि बढ्ला  तपाईंको कविता कर्म ? 

– पोइट आइडल आएपछि मात्र मैले लेख्न, अध्ययन गर्न थालेको हैन । वर्षौंको साधना, तपस्या र निरन्तरताले म त्यहाँ पुगेको हुँ । सबै नसा छोड्न सक्छु । तर कविता पढ्ने, सुन्ने र लेख्ने कर्म जीवनभर चलिरहन्छ ।

लामो समयदेखि कवितामा साधना गर्दै आउनु भएको थियो । पोइट आइडलमा आइसकेपछि कविता लेख्ने कुरामा होस् अथवा आफ्नो पहिचान फराकिलो बनाउने कुरा होस्, पोइट आइडलले कत्तिको सहयोग गरेजस्तो लाग्छ ? 

– कविता लेख्नेभन्दा पनि कविता प्रस्तुत गर्ने केही कलाहरु सिकेँ । वर्षौंअघि विदेशमा छोडिएर नबोलिकनै बसेका धेरै साथीहरुले फेरि बोलाए । मलाई नचिनेका साहित्यप्रेमीहरुले  “बल गर्नुस है” भन्दै म्यासेजहरु पठाए । ती सब पोइट आइडलले जुराइदिएको यथार्थ हो ।

पोइट आइडलको मञ्चबाट बाहिरिएपछि कविता वाचनका केही कार्यक्रममा पनि पुग्नु भयो । भोलिका दिनमा पनि  निमन्त्रणा आउलान् । के कस्तो प्रतिक्रिया पाइरहनु भएको छ पाठक/स्रोता/दर्शकहरुबाट ? 

– कार्यक्रममा पुग्नु मेरो नौलो समय हैन ।  सयौँ कार्यक्रमहरुमा मैले कविता सुनाइसकेको छु । एकल वाचनहरु पनि गरिसकेको छु । र,अझै निमन्त्रणा आउलान् । भ्याएसम्म सबैतिर पुग्छु । प्रतिक्रिया चाहिँ मिश्रित रुपमा पाएको छु । पहिलेदेखि मेरो कविता सुन्दै आउनु भएकाहरुले चाहिँ  “पोइट आइडलमा तपाईं जस्तो मान्छे जानै नहुने” भन्छन् । पोइट आइडल हेरेर चिन्नुहुनेहरुले चाहिँ  “वा ! क्या मञ्च पाउनुभयो” भन्छन् ।

तपाईं आफैँ पनि प्रवासी जीवन बिताइसकेको कवि हुनुहुन्छ । आइडलको मञ्चमा कविता लेखनका लागि विषय दिने क्रममा १० औँ एपिसोडमा प्रवास सम्बन्धि विषय परेको थियो । तपाईंलाई कत्तिको सजिलो महसुस भयो त्यसमाथि कविता लेख्न ? 

– भोगाइ, हेराइ, बुझाइ सबै अनुभव भएकोले गाह्रो त भएन । तर, म जुन बेला प्रवासमा थिएँ, त्यही बेलाको समयलाई टिपेर लेखेको थिएँ । गाह्रो त तब भयो, अरबमा अहिले सम्पन्न जीवन बाँचिरहेका साथीहरुबाट “अरब भनेको बेल्चा र खबुस” मात्र हो ? भनेर कराए । म हाँसिदिएँ ।

थोरै समय भए पनि तपाईं आइडलको क्लोज क्याम्पमा बस्नुभयो । त्यहाँको माहोल चाहिँ कस्तो थियो ? साथै त्यहाँ हुने कविहरु आफैँमा एक अर्काका प्रतिस्पर्धी पनि हुन् । छोटो समयमा उहाँहरुसँग कत्तिको घुलमिल हुने मौका जुर्यो ? 

– सुरुमा त रमाइलो भयो । नयाँ-नयाँ परिवेशको नयाँ-नयाँ कविहरु भेट्दा मन प्रफुल्ल भयो । केही दिनमा नै परिवार जस्तो भइयो । एउटै छत, एउटै मेस, एउटै सोंच, एउटै समय, आहा ! मार्स्कले कल्पना गर्नुभएको साम्यवाद जस्तै लाग्यो । भोटिङ राउण्ड सुरु भएपछि चाहिँ साथीहरु पहिला जस्तो एक-अर्कामा खुलेर नबोल्ने, पहिलाको माहोल एक्कासि हराउन थालेको थियो । किन होला ? भनेर सोच्दा त सबै साथीहरु भोट माग्न व्यस्त हुनुपर्दो रहेछ । अनि सबै मोबाइलमा व्यस्त ।  कताको नयाँ जस्तै हुनु ? हा हा हा…

पहिलो भोटिङ् राउण्डमा नै त त्यस्तो व्यस्तता थियो । अहिले झन कति व्यस्त हुनुहोला ? भनेर सोच्छु । हा हा हा…

विभिन्न तरिकाले विषय दिएर कविता लेखाउने पोइट आइडलको तरिका कस्तो लाग्यो ? 

– त्यो कविको ज्ञानको परिक्षण हो । प्रतिस्पर्धा हो त्यति त गर्नै पर्थ्यो ।

द पोइट आइडल हुँदैछ भनेर कहिले/कसरी थापा पाउनु भएको थियो  र यो समाचार पहिलोपटक सुन्दा/पढ्दा कस्तो महसुस गर्नुभएको थियो ? 

– सामाजिक सञ्जालबाट ।

पोइट आइडलमा भाग लिएर कहाँसम्म पुग्छु भन्ने सोच्नु भएको थियो  सुरुमा चाहिँ ? 

– आत्मविश्वासले मैदान छिरेपछि जित्ने हो भनेर सोच्नु पर्छ ।

पोइट आइडलमा भाग लिएर विशेष के कुरा सिक्नुभयो कवितासम्बन्धी ? 

– अभिनयसहितको कविताले कविताको प्राण भर्छ । समयअनुसार प्रयोग हुन जान्नु पर्छ । कविता पनि बेच्न सकिन्छ भन्ने कुरा पोइट आइडलले सिकायो ।

पोइट आइडललाई सम्रगमा कसरी हेर्नुहुन्छ ? यस किसिमका कार्यक्रमहरुले नेपाली कविताको क्षेत्रमा कस्तो  प्रभाव पार्ला भन्ने यहाँलाई लाग्छ ? 

– पोइट आइडल हेरेर थुप्रै भाइबहिनिहरु कविता लेख्न अग्रसर भएका छन् । मेरै छरछिमेकी भाइबहिनीहरु पनि ‘कविता कसरी लेख्ने हौ दाजै ?’ भन्दै सोध्न थालेका छन । यो शुभ सङ्केत हो ।

पोइट आइडलको यात्रा अवधिभरमा अहिले तपाईंले सबैभन्दा धेरै मिस गर्ने कुरा के हो ? 

– आयोजकले भनेका कतिपय अनुशासनहरु हामी तोड्थ्यौँ ।अनि एउटा पक्राउ परे पनि अर्कालाई बचाउँथ्यौँ । अथवा त्यसले पनि गरेको हो भनेर भन्दैन थियौँ । बच्चाको सच्चा मित्रता जस्तो । म त फेरि बालापनमा फर्केको जस्तो अनुभव गर्थें । आउट भएपछि मेरो त्यो बालापन हरायो । सम्झिरहनेछु ती सबै यादहरु ।

जाँदाजाँदै अन्त्यमा केही ? 

– पोइट आइडललाई धेरै धन्यवाद ।साभार डिजी शर्मा  

प्रतिक्रिया दिनुहोस्