२०८१ जेष्ठ ८

अन्तर्वार्ता: ‘मेरो अभिष्ट सभ्य, सुन्दर र समृद्ध मेलम्ची’

फराकिलो मनका श्याम खड्का अस्थिरजस्तो देखिँदैछ । तर, अस्थिर शब्दलाई उनी परिवर्तनसँग तुलना गर्छन् । ‘जसले जे भन्यो त्यही गर्ने र सधैँ पुरातनवादी भएर स्थिर रहने प्रवृत्ति समाज विकासको बाधक हो,’ खड्का भन्छन् ।  मेलम्ची नगरपालिकामा पूर्वमाओवादीबाट चुनाव लडेका खड्का पराजित भएपनि राजनीति गरेको छोटो समयमै लोकप्रिय भए । मेलम्चीलाई समृद्ध पार्ने सपना देखेर राजनीतिमा हामफालेका खड्का चुनावमा पराजित भएपछि केही निराशजस्तो देखियो । तर, राजनीतिलाई प्रमुख गन्तब्य बनाइरहे । माओवादी छोडेर उनी कांग्रेसतिर लागे । अहिले फेरि नेकपामा आएर मेलम्ची बनाउने सपना देख्न थालेका छन् । प्रस्तुत छ खड्कासँग जुगलखबरका लागि रामकृष्ण थापाले गरेको सम्वाद्को सम्पादित अंशः 

श्याम खड्का,
समाजसेवी, मेलम्ची नगरपालिका

आजकाल केमा ब्यस्त हुनुहुन्छ ?
मेलम्चीमै व्यस्त छु । पारिवारिक कामको अलवा केही सामाजिक काममा पनि हात हालेको छु ।

तपाइँलाई अस्थिरताको आरोप छ । कहिले कांग्रेस कहिले कम्युनिष्ट किन ?
मेरो पारिवारिक पृष्ठभूमि र चेतना कमजोर थियो । म किसानको छोरा हुँ । किसानमा राजनीतिक चेतना कम हुने नै भयो । तैपनि समाजमा केही गर्नुपर्छ भन्ने हुटहुटी ममा हिजो थियो र आज पनि त्यो ऊर्जा कायमै छ । नेपालको राजनीति सधैँ गुट र उपगुट अनि व्यक्तिस्वार्थमा चल्यो र अल्झ्यो । म स्थिर र पुरातनवादी सोचको विरोधी भएकोले माओवादीमा लागेँ । पछि गएर पार्टीहरु देशको भन्दा पनि नेतागत भएर सोच्ने प्रवृत्तिले ग्रस्त भयो । म डेढ वर्ष नेपाली कांग्रेसमा रहे । त्यहाँ रहँदा पनि मैले परिवर्तनकै पक्षमा संघर्ष गरेँ । अहिले ठूला दुई कम्युनिष्ट मिलेर नेकपा भएको छ । यसबाट परिवर्तनको मुद्दालाई सफल बनाउन सम्भव छ भन्ने मेरो निश्कर्ष हो । समय बाँकी छ, हेर्दै जाऊँ ।

कांग्रेस र कम्युनिष्टको तुलना कसरी गर्नुहुन्छ ?
मेरो अनुभव र भोगाइमा नेपाली कांग्रेस आफ्नै पार्टी परिवारको अन्तर्विरोधमा अल्झिएको छ । पार्टीभित्रको झगडाले कांग्रेस अगाडि बढ्न सकेको छैन । वैचारिक विमर्श कम छ नेपाली कांग्रेसमा । सबै वीपी विचार भन्छन् तर व्यवहारमा छैन । यता नेकपामा वैचारिक संघर्ष र विमर्श हुन्छ । पार्टीमा भन्दा सामाजिक अन्तर्विरोधमा नेकपा रहेको पाउँछु । आजकाल पार्टीभित्र दुई लाइन संघर्षभन्दा पनि पूर्वमाओवादी र पूर्वएमाले भएर राजनीतिक खिचातानी भएको पाइन्छ । यो गुटगत राजनीति अन्त्य भयो भने नेकपाको भविष्य उज्वल देख्छु म ।

नेपाली राजनीतिमा यस्तै भइरहेको छ । कांग्रेस छोडेर कम्युनिष्ट अनि कम्युनिष्ट छोडेर कांग्रेस । यसको अर्थ चाहिँ के हो ?
खासकुरा यो अवस्था आमयुवाको परिवर्तनप्रतिको आस्थाले भएको हो । यता हुन्छ कि उता हुन्छ कि भनेर भौतारिएको जस्तो लाग्छ मलाई । नेपाली कांग्रेस पुरातनवादी प्रवृत्तिले ग्रस्त भएकोले कम्युनिष्टतिर जान्छन् । त्यहाँ पनि खासै नवीन विचार र व्यवहार नपाएपछि अकर्मण्यतामा पुग्छन् । मेरै कुरा गर्नुहुन्छ भने पनि यही कुरा हो । राजनीतिले समाजको मुहार बदल्ला भनेर राजनीति गरेको हो । त्यस्तो अवस्था नदेखेपछि म कांग्रेसतिर लागेँ । केही समय त्यहाँ हेरेँ । मैले अघि नै भने कांग्रेसमा वैचारिक विमर्श छैन । बरु अहिले नेकपामा समाज परिवर्तनको एजेण्डाले प्रवेश पाएको छ । म नेकपामै रहेर मेलम्ची बनाउने काममा लाग्छु ।

तपाइँको स्वार्थ चाहिँ के हो ? राजनीतिक लाइन फेरिरहनुपर्ने के बाध्यता हो ?
मैले भनेँ नि, मेरो व्यक्तिगत स्वार्थ भनेको राजनीतिक भन्दा पनि सामाजिक हो । मैले मेलम्ची बनाउन के–के गरेँ सबै छर्लङ्गै छ । राजनीतिक पार्टी, सरकारी कार्यालय, विभिन्न संघसंस्थालाई जग्गा दान गरेर मेलम्चीलाई नमूना बनाउने योजना कार्यान्वयन गरिरहेको छु । खास गरी मेरो काम जग्गासम्बन्धी हो । जग्गामा लगाएको हदबन्दीले मेरो अभियानलाई असर गरेको छ । नेकपा सरकारले यसबारे विचार गरोस् भन्ने मेरो भनाइँ हो । मेलम्ची नगरपालिकाले पनि जग्गाबारे प्रष्ट नीति अवलम्बन गर्नुपर्छ । मेरो अभियान कुनै पार्टी, व्यक्ति वा समुहतिर लक्षित छैन । कसैको विरोधी म होइन । सबै मिलेर समाज बनाऔं भन्ने मेरो भनाइँ हो । खासगरी मेलम्चीलाई नमूना बनाऔं भन्ने मेरो अभिष्ट हो ।

मेलम्चीलाई समृद्ध पार्ने तपाइँको प्रतिवद्धता र योजना अहिले कहाँ पुग्यो ?
पूर्वमाओवादीमा रहँदा ममा छुट्टै ऊर्जा थियो । सायद त्यो समयको माग थियो । त्यसपछि पार्टी कता पुग्यो म कता पुगेँ । त्यो दिन सम्झँदा नरमाइलो महसुस हुन्छ । तैपनि माओवादी सकिएको छैन । अहिले नेकपा बनेको छ । त्यसैले म पनि नेकपामै आएँ । बीचमा मेरो आमा बित्नुभो । परिवारमा थुप्रै दुःख र झमेला आइपरे । त्यससँग जुध्दाजुध्दै समाज परिवर्तनको एजेण्डा पछाडि प¥यो । अब फेरि म नयाँ ऊर्जासहित समाजमा केही गरौं भनेर आएको छु । अभियान जारी रहन्छ । बिगतमा गरेका प्रतिवद्धता र अभियान मूर्त बन्दै गएका पनि छन् ।

के–के गर्दा मेलम्चीलाई सुन्दर नगर बनाउन सकिन्छ ?
मेलम्चीलाई सभ्य, सुन्दर र समृद्ध बनाउन थुप्रै काम गर्नुपर्ने छ । त्यो सबै पार्टी र आममेलम्चीवासीको मिहिनेतलेमात्रै सम्भव छ । तैपनि नेतृत्वकर्ताले विकासको खाका ल्याउने हो । मैले चाहिँ तत्काललाई केही योजना अघि सारेको छु । फोहर व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने, मेलम्चीमा बिगमार्ट र पार्टी प्यालेसहरु स्थापना गर्ने । पाँचसय मिटरको ताल निर्माण गरेर बोटिङ सुरुवात गर्ने । टेम्पो सेवा सुरु गर्ने, बसपार्क निर्माण गर्ने, राष्ट्रियस्तरको फुटबल ग्राउण्ड निर्माण गर्ने, गुफाडाँडामा होमस्टे सञ्चालन गर्ने । मेलम्ची नगरलाई समृद्ध बनाउने एउटा बाटो पर्यटन हो । अर्को कृषिलाई आधुनिकीकरण गरेर उद्योगको रुपमा विकास गर्ने । नदीलाई संरक्षण गर्ने, क्रसर उद्योगलाई नियन्त्रण गर्ने र ठूला उद्योगधन्दा स्थापना गर्ने ।

मेलम्ची नगरपालिकालाई के–के सुझाव दिन चाहनुहुन्छ ?
राजधानीको नजिक भएकोले सबै सडकलाई कालोपत्रे गर्नुपर्छ । मेलम्चीको पानी काठमाडौं पुर्याउन सहयोग गर्नुपर्यो । मेलम्ची बजार व्यवस्थापन र पर्यटक भित्र्याउन सबै क्षेत्रसँग सरसल्लाह गरिकन काम गर्न सुझाव दिन्छु ।

तपाइँको अबको राजनीतिक बाटो के हो ?
मेरो राजनीति अब भूगोल हो । मेलम्चीलाई बनाउने अभियानमा लाग्छु । सके मेलम्चीको मेयर नसके म बसेको वडामा राजनीतिक रुपमा लिड गर्ने र चुनावमा पनि जाने हो । पार्टीको नीति र निर्देशनलाई मान्दै म अगाडि बढ्नेछु ।
नेकपाभित्र पूर्वमाओवादी र पूर्वएमालेको अवस्था कस्तो देख्दै हुनुहुन्छ ? यो एकताको भविष्य कस्तो होला भन्ने तपाइँको विश्लेषण छ ?
कहिल्यै नमिल्ने गरी दुई ध्रुबमा रहेको ठूला कम्युनिष्ट पार्टीको एकीकरण अन्तिम चरणमा पुगिसकेको छ । यसले तलैसम्म सकारात्मक सन्देश दिएको छ । अब पूर्वमाओवादी र पूर्वएमाले भनेर राजनीति गर्नु पनि हुँदैन । केही समय यस्तो अबस्था रहेपनि कालान्तरमा यो चाँडै टुंगिएला । यदि पुरानै मानसिकतामा चले नेकपाको हालत खराब हुन पनि सक्छ ।

अन्तमा, तपाइँ केही समय रहेको नेपाली कांग्रेसका नेतालाई के भन्न चाहनुहुन्छ ?
नेपाली कांग्रेसका जिल्ला सभापति र सिंगो जिल्ला कार्यसमितिलाई म सम्झन चाहन्छु । तपाइँहरुको माया र सद्भावले मलाई धेरै कुरा सिकाएको पनि छ । राजनीतिमा व्यक्तिगत कुरा छैन । मलाई नेपाली कांग्रेसको हालको वैचारिक अवस्था ठीक लागेन म नेकपातिर समाहित भएको छु । तर, जहाँ रहेर पनि समाजको लागि काम गर्नेछु । डेढ वर्ष त्यहाँ रहँदा नेतागणले मप्रति गरेको माया र सहकार्य मेरो जीवनको एउटा अविष्मरणीय पाटो हो ।

000

प्रतिक्रिया दिनुहोस्