२०८१ श्रावण १२
                           

५१ सुचक पुरा भएसंगै चौ.सा.ग.न.पा को १३ नम्बर वडा जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा हुदै

भदौ २७ — चौतारा साँगाचोकगढी नगरपालिकाको १३ वडा नम्बर सिन्धुपाल्चोक जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा हुने भएको छ । ५१ वटा सुचक पुरा भएसंगै ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा भदौ २९ गते बुधबार बालमैत्री वडा घोषणा गर्न लागिएको वडाअध्यक्ष रामप्रसाद गौतमले बताउनुभयो ।
सबै सुचकहरुमा न्युनतम ८० वा त्यो भन्दा माथीको अंक प्राप्त गरेपछि बालमैत्री वडा घोषणा हुन लागेको हो । नगरपालिकाको बार्षिक नीति तथा कार्यक्रममा २०७६ साल बाट नै नगरपालिकालाइ बालमैत्री नगर बनाउने उद्देश्य अनुसार उक्त वडा घोषणा हुन लागेको हो ।
बालमैत्री स्थानीय शासन वडा समिति वडा अध्यक्ष गौतमको नेतृत्वमा रहने व्यवस्था रहेको छ भने वडा बाल संरक्षण समितिको नेतृत्वमा सेतीदेवी माध्यामिक विद्यालयका शिक्षक हरिविक्रम नेपालको नेतृत्वमा रहेको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७८।८९ मा पनि नगरका कम्तिमा दुइवटा वडा बालमैत्री वडा घोषणा गर्ने योजना अनुसार १३ नम्बर वडा पहिलो हुने अवसर पाएको हो ।
२०७६ पछि बालबालिकामा हुने कुनै पनि प्रकारको अमानवीय घटनाहरू देखा नपरेको वडाको तथ्याङ्क छ । वडा बालसंरक्षण समितिका अनुअसार वडामा बालविबाहमा न्यूनिकरण तथा आर्थिक वर्ष २०७८÷०७९ मा कुनै पनि बालबिबाहको घटना भएको पुष्टि भएको छैन ।
खानेपानी तथा सरसफाईमा यो वडा निकै अगाडी रहेको तथा सबै सूचकाङ्क पुरा गर्न कम्तिमा एक बर्ष लाग्ने भएकाले आगमी बर्ष पूर्ण सरसफाईयुक्त वडा घोषणा गर्ने योजना रहेको अध्यक्ष गौतमले बताउनुभयो ।
त्यस्तै वडामा पानीको स्वच्छताको लागि सक्नेलाई आफ्नै स्रोतमा फिल्टर किन्न प्रोत्साहन गर्दै खानेपानी कार्यालयको सहकार्यमा ४०० थान फिल्टर वितरण समेत गरिएको छ । बालमैत्री वडा घोषणा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले गर्नुहुने भएको छ् । सोही दिन बालबालिका सम्बन्धी निबन्ध लेखन लगायतका विविध कार्यक्रम समेत गरिने गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्