२०८१ श्रावण १२
                           

रोकिएका कन्टेनर भित्र्याउन मात्र तातोपानी नाका संचालनमा

भदौ २७ — उत्तरी तातोपानी नाकामा शनिबारबाट रोकिएका कन्टेनर भित्र्याउन थालिएको छ । चीनको सिगात्से, न्यालम, खासा, ल्हासामै रोकिएका दसैं र तिहार लक्षित सामग्री लोड भएका कन्टेनर ल्याउनमात्रै नाका शनिबारबाट सञ्चालनमा ल्याइएको हो । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमका अनुसार चिनियाँ सुरक्षाकर्मी र अधिकारीबाट अनौपचारिकरुपमा रोकिएका कन्टेनर पठाउनमात्रै नाका खोलिएको जानकारी आएको छ ।
चीनको स्वशासित क्षेत्र तिब्बतमा कोरोना कोभिड १९ नियन्त्रण गर्न लकडाउन गरेयता नाका फेरी ठप्प थियो । शनिबार र आइतबार गरी ८ वटा कन्टेर तातोपानी नाका भित्रिएकोमा ५ वटामा लसुन, १ खुद्रा, २ वटामा स्याउ लगायतका फालफूलजन्य सामग्री छन् ।
यहाँ आइपुगेका कन्टेनरको आवश्यक भन्सार प्रोटोकल र स्वास्थ्य मापदण्ड अपनाएर राजधानी पठाउने प्रक्रिया धमाधम भइरहेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
उद्योग वाणिज्य संघ र नेपाल हिमालय सीमापार वाणिज्य संघ, भन्सार कार्यालय र व्यवसायीले कन्टेनर भित्र्याउन दबाब दिदै आएका छन् ।
दसैंलक्षित अनुमानित अझै सयभन्दा बढी लत्ताकपडा, जुत्ता चप्पलजस्ता सामग्री बोकेको कन्टेनर खासा, न्यालम र ल्हासामै रहेको ब्यवसायीले बताएका छन् । आयात रोकिँदा बजारका सामान क्रेडिटमा रहेको र बैंकले पनि ऋण दिने छोडेकाले नाकामा काम गर्ने व्यापारी समस्यामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्