२०८१ जेष्ठ ६

नागी घ्याङ र मानेखर्कका महिला श्यामा बुनेरै दैनिक २२ सय कमाउछन्

भदौ २० – पाँचपोखरी थाङ्पाल स्थित नागी घ्याङ  र मानेखर्कमा कुनै समय  प्रत्येक घरधुरीमा  श्यामा ( तान ) बुन्ने गरिन्थ्यो । अहिले दुई चार घरमा मात्र ५५ बर्ष काटेका महिला बृद्वहरुले  श्यामा बुनेर आफ्नो दैनिकी कटाउने गर्छन् । तामाङ र ह्योल्मो समुदायका महिलाहरुले प्रयोग गर्ने श्यामा कपडा यस समुदायमा एकदमै लोकप्रिय मानिन्छ । तर अहिलेका पुस्ताहरूले  बुन्न छाडे पछि श्यामा मुस्किलले मात्र  पाउन थालेको  छ ।
मानेखर्कका ५८ बर्षिया ग्याल्मु लामाले  श्यामा बुनेर दैनिक रु २२ सय   आरामले कमाई गर्नुहुन्छ ।  १६ बर्षको उमेर हुँदा श्यामा ( तान ) बुन्न थालेको उहाँले  अहिले सम्म निरन्तर यहि कामबाट घर खर्च टार्दै आउनुभएको छ । “अहिले  हामी तीन चार जना बृद्वहरुले मात्र तान बुन्ने गरेका छौ  । बजारमा यसको माग धेरै भए पनि हामिले माग अनुसार पुर्याउन सकेको छैन । बुन्नु भन्दा अगाडी नै घरमै आएर ग्राहकले अर्डर गरेर जानुहुन्छ “ उहाँले भन्नुभयो । उहाँले सुरुवातमा बुनेर बेच्दा  यसको मुल्य १८० रुपैया थियो । अहिले एउटाको हेरी हेरी  ८ सय देखि  २२ सय सम्म पर्छ  ।  उनिहरुलाई रेडिमेट मेसिनले बनाएको श्यामा गाउँ घरमा भित्र्याउँदा नरमाइलो लागेको थियो । तर हातले घरमै बुनेको जस्तो गुणस्तरीय नपाए पछि फेरि अर्डर गर्न ग्राहकहरु घरमै आएको  ग्याल्मु लामा   बताउनुहुन्छ ।

आम्दानीको राम्रो स्रोत


एक पल्टको तानमा १२ वटा श्यामा बन्छ, एक दिनमा एक जनाले एक वा दुई वटा सम्म बुन्न सकिन्छ । १२ ओटा श्यामा बुन्दा यसमा प्रयोग हुने रङ, धागोको खर्च जोडेर पनि यसमा राम्रो फाईदा हुने उद्यमी बताउछन् । त्यस्तै यस कपडा बाट श्यामा मात्र नभई झोला, थैलो जस्ता विभिन्न सामाग्री बनाउन पनि  प्रयोग गर्न सकिने स्थानीय बाबुराम लामा बताउनुहुन्छ ।  तान बुन्दा प्रयोग हुने हाते सामग्रीहरु सबै गाउँघरमै पाउने काठ, बाँस, मुडा बाट नै तयार गर्न सकिने हुँदा थोरै खर्चमै तयार गर्न सकिने उहाँको भनाई छ  ।
७३ बर्षिय नोर्चिन लामा पनि आफ्नो लामो समय देखि श्यामा बुनेको अनुभव सुनाउँदै भन्नुहुन्छ, “ पहिला भन्दा अहिले यसको मूल्य पनि धेरै राम्रो छ, यसको माग पनि राम्रो छ तर अहिलेका नयाँ पुस्ताले वेवास्ता गर्दा दुःख लाग्छ । “ उहाँ थप्नुहुन्छ , “ बल हुन्जेल सम्म तान बुनेर जिविकोपार्जन गरे तर अहिले उमेर ढल्किए पछि बुन्न सकिएन । हामी बृद्व भए सङ्गै यो तान (श्यामा) बुन्नेको संख्या  निकै कम हुँदै गयो । अबको नाति नातिनीले श्यामा भनेको के हो भनेर नि बिर्सिन्छ जस्तो लाग्छ । “
तन्नेरी अवस्थामा श्यामा बुनेर जुगल गाउँपालिकाको तेम्बाथाङ, गुम्बाथाङ सम्म बेच्न गएको उहाँले बताउनु भयो । पाँचपोखरी गाउँपालिका भित्रका गुन्सा, भोताङ, बरुवा, बासखर्कका तामाङ समुदायका महिला र युवतीले श्यामा कपडा धेरै मात्रमा प्रयोग गर्ने हुँदा  घरमै अर्डर गर्न आउँथे  । यहाँ बनेर तयार गरीएको श्यामा श्यामा लण्डन, भारत, अमेरिकामा बस्नेले  समेत अर्डर गर्ने गरेका थिए  । घरमानै बसेर राम्रो आम्दानी हुने यो कार्यलाई अहिलेको पुस्ताले पनि निरन्तरता दिए राम्रो आमदानी संगै  श्यामा ब्यबसायको संरक्षण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्