२०८१ श्रावण १२
                           

कोभिडको समयमा ‘नो खोप नो भोट अभियान’ थियो, अहिले कतै देख्नुभएको छ? : स्वास्थ्यमन्त्री निमा लामा

भाद्र १, काठमाडौं : वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले अहिले सबैले कोरोना खोप पाएको बताएका छन्। तामाङ पत्रकार संघले २८ औं तामाङ प्रसारण दिवसको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको तामाङ मिडिया अवार्ड वितरण कार्यक्रममा मन्त्री लामाले उक्त भनाई राखेका हुन्।
‘कोभिडको समयमा खोप नपाएर सामाजिक सञ्जाल नो खोप नो भोट भन्नेले भरिएको हुन्थ्यो। अहिले कतै देख्नुभएको छ, नो खोप नो भोट भनेर?’ मन्त्री लामाले प्रश्न गरे, ‘किनकि हामीले सबैजनालाई खोप दिएको छ।’ पत्रकारले निरन्तर फलोअप गरी खोपबारे चेतना फैलाएका कारण सरकारको खोप अभियान सफल भएकोसमेत मन्त्री लामाको भनाई थियो।
‘कोरोना संक्रमणबाट बच्न दुई डोज खोप लगाउनुपर्छ भनेर तपाईहरुले कलम चलाएकै कारण सरकार सफल भएको छ,’ लामाले भने, ‘वाग्मती प्रदेश दुई डोज खोप लगाउन सफल भएको छ। विद्यालय बन्द थिए। विद्यार्थी घरमा थुनिएका थिए। हामीले विद्यालय विद्यालयमा खोप कार्यक्रम चलायौ। एक विद्यालय एक नर्स कार्यक्रमले पनि यो राम्रो भयो।’
अहिले फेरि कोरोना संक्रमण बढ्न थालेको उल्लेख गर्दै मन्त्री लामाले खोप नलगाएकाहरुले बेलैमा खोप लगाउन सुझाव दिए। ‘कोरोना फेरि बढ्न थालेको छ। त्यसैले सतर्क बनौं। हामी सबैले खोप लगाऔं। प्रशस्त खोप छन्।’ उनले कोरोनाजस्ता सर्ने रोगबाटमात्र नभई नसर्ने रोगबाटसमेत बच्न पूर्वतयारी गर्नुपर्ने बताए। ‘हामीसँग सर्ने रोग र नसर्ने रोग रहेछन्। शारीरिक अभ्यास नहुँदा क्यान्सर, फिस्तुलाजस्ता रोग बढ्न थालेका छन्। यसबाट बचौ। हाम्रो पहिलो प्राथमिकता स्क्रिनिङमा लागेका छौ। पहिले रोग पत्ता लागेमा उपचार गर्न सकिन्छ। पहिलो स्टेजमा पत्ता लागेमा क्यान्सरसमेत निको हुन्छ,’ मन्त्री लामाले भने।
आदिवासी आन्दोलनको उपलब्धि जोगाउनु अहिलेको आवश्यकता
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले नेपालमा आदिवासी आन्दोलनबाट थुप्रै हकअधिकार स्थापित भएको उल्लेख गर्दै यसलाई जोगाउनु अबको आवश्यकता भएको बताए। ‘नेपाली आदिवासी आन्दोलनका प्राप्तिहरु जोगाउनु आजको आवश्यकता हो। कूनै जातिको पहिचानलाई मेटाउनु छ भने भाषा सिध्याउँछ। विश्वमा आज हरेक दिन केही केही भाषा लोप हुँदै गएको छ,’ लामाले भने, ‘त्यसैले भाषालाई जोगाउनुपर्छ।’
वाग्मती प्रदेश सरकारमा आदिवासी अनुहारका मन्त्रीहरु भएकै कारण क्लस्टर प्रतिशत बढेको उनको भनाई थियो। ‘मसँगै सामाजिक विकासमा कुमारी मोक्तान, भौतिक पूर्वाधार विकासमा कृष्ण भँडेल, उद्योग, वाणिज्य तथा आपूर्तिमा मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटनमा दिपेन्द्र श्रेष्ठ, राज्यमन्त्रीमा रजनी अमात्य जोन्छे, सन्तबहादुर चेपाङ मन्त्री मन्त्रिमण्डलमा छौं,’ उनले भने, ‘यसमा छलफल चल्दै गर्दा २४ प्रतिशत आएको थियो क्लस्टरमा। हामीले ३७ प्रतिशत पुर्या्उन सफल भएको छ। हामी इक्ट्रिमिस्ट भएर हैन। डाटामा बोलेर यस्तो भएको हो।’
यसैगरी उनले तामाङ भाषा र नेवारी भाषालाई प्रदेशमा सरकारी कामकाजको भाषा बनाउन आफूहरु लागिपर्नेसमेत बताए।
‘भाषा आयोगले वाग्मती प्रदेशमा नेपाल र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन सिफारिस गरेको छ। बजेट अधिवेशन क्लोज भएकोले भाषा आयोग बनाएर भए पनि वाग्मती प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषा बनाउने विषयमा गम्भीर छलफल चलाएको छ। सदनमा प्रवेश पाइसकेको छ। आउँदो अधिवेशनमा यसले प्रवेश पाउँछ,’ मन्त्री लामाले भने।
अहिले प्रदेशले सञ्चारमाध्यमका लागिसमेत तालिमदेखि डकुमेन्टेसनमा धेरै राम्रो काम गर्न थालेकोसमेत उनको भनाई थियो। ‘प्रदेशमामा अहिले सञ्चारमाध्यम पनि दर्ता शुरु भएको छ। अन्तरिक मामिला मन्त्रालयमा ७५० पत्रकार दर्ता भइसकेका छन्। यहाँ टेलिभिजनदेखि अनलाइन दर्ता भइसकेका छन्। यसको काम पत्रकारलाई तालिम दिने काम भइरहेको छ,’ उनले भने।
लामाले तामाङ सेलोले जुरुक्क पारे झै तामाङ पत्रकारले पनि समुदायलाई जुरुक्क पार्ने खालेको समचार लेख्न आग्रह गरे। ‘तामाङको सेलो जब आउँछ, सबै बुरुकबुरुक उफ्रन्छ। तामाङ पत्रकारले पनि तामाङ समुदायको आवाज यसरी नै उठाउनुपर्योल,’ मन्त्री लामाले भने।
दुई पत्रकारलाई तामाङ मिडिया अवार्ड
२८औँ तामाङ प्रसारण दिवसका अवसरमा तामाङ पत्रकार संघले दुई जना पत्रकारलाई ‘तामाङ मिडिया अवार्ड’बाट सम्मान गरेको छ। संघले बुधवार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा पत्रकार सञ्चकुमारी तामाङ ब्लोन (ललितपुर) र पत्रकार ईश्वर तामाङ (उदयपुर)लाई अवार्ड प्रदान गरेको हो।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले पत्रकारद्वयलाई प्रमाणपत्र, नगदसहितको पुरस्कार हस्तान्तरण गरे। सम्मानित ब्लोन लामो समयदेखि सञ्चारक्षेत्रमा आवद्ध छिन्। उनी हाल रेडियो थाहा सञ्चारमा समाचार सम्पादक रहेकी छिन्। उदयपुरका तामाङ राजधानी दैनिक लगायतका संचारमाध्यममा क्रियाशील छन्।
सम्मान प्रदान गर्नुअघि तामाङ मिडिया अवार्ड छनोट समितिका संयोजक एवं तामाङ पत्रकार संघका सल्लाहकार जगतमान दोङले पुरस्कृत हुने व्यक्तिहरुको छनोट मापदण्डबारे जानकारी गराएका थिए। कार्यक्रममा भाषा आयोगका सदस्य अमृत योञ्जन तामाङ, नेपाल तामाङ घेदुङका सहअध्यक्ष कुमारसिंह घिसिङ, अन्तर्राष्ट्रिय तामाङ परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का उपाध्यक्ष अमरध्वज लामा, तामाङ समाज उत्तर अमेरिकाका तत्कालीन अध्यक्ष लक्यान लामालगायत विभिन्न दल र संघसंस्थामा आबद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो।
तामाङ समुदायबाट पत्रकारिता गर्दै आएका पत्रकारहरु र तामाङ सञ्चारमाध्यममा आबद्धहरुले रेडियो नेपालबाट २०५१ भदौ १ गते अपराह्न ४ बजेपछि ५ मिनेट तामाङ भाषामा समाचार प्रसारण भएको दिनलाई तामाङ प्रसारण दिवसको रूपमा मनाउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्