२०८१ श्रावण १२
                           

सिन्धुपाल्चोकका निजि मेडिकल तथा फार्मेसीहरू नियम विपरित सञ्चालनमा

साउन १९,  सिन्धुपाल्चोकका निजि मेडिकल तथा फार्मेसीहरू नियमअनुसार नचलेको पाइएको छ । दर्ता अनुमति बिना र मान्यताप्राप्त स्वास्थ्यकर्मी नै नराखी औषधि बेचबिखन भइरहेको पाइएको हो । अनुगमनको क्रममा सिन्धुपाल्चोकका अधिंकास निजि मेडिकल तथा फार्मेसी कानुन बमोजिम सञ्चालन नभएको पाईएको हो । सिन्धुपाल्चोकमा सञ्चालित धेरै निजि फार्मेसी र मेडिकल स्वास्थ्य संस्थामा काम गर्ने अहेब र अनमिले सञ्चालन गरेका छन् । मेलम्ची, चौतारा, खाडीचौर,बाह्रबिसे जस्ता मुख्य बजार क्षेत्रमा दर्ता नगरि र अर्काको अनुमतिपत्र भाडामा लिएर औषधि पसल सञ्चालन हुने गरेको छ ।

नियम विपरित सञ्चालनमा रहेका औषधि पसलहरू र अनुमतिपत्र भाडामा लगाउनेहरूलाई अनुगमनमा भेट्दा समेत प्रशासनले कारबाही गर्न नसकेको स्थानीयवासी रिता सापकोटाले गुनासो गर्नुभयो । फार्मेसी व्यवसाय गर्ने व्यक्तिले नेपाल फार्मेसी परिषदले लिने लाइसेन्स परीक्षामा उत्तीर्ण हुनैपर्छ । बिना लाइसेन्स औषधि पसल सञ्चालन गरेमा ‘औषधि ऐन २०३५’ र ‘नेपाल फार्मेसी परिषद ऐन २०५७’ ले गैरकानुनी ठहर गर्दछ । तर सिन्धुपाल्चोकमा सञ्चालनमा रहेका मध्य धेरै फार्मेसीमा लाइसेन्स प्राप्त ब्यक्ति नबसी आफन्त बस्ने गरेका भेटिन्छन्् । उनीहरू आफैले डाक्टर जस्तो गरि खुलेआम औषधी बिक्री गर्ने गरेका छन् । जथाभावीवितरण हुने एन्टिबायोटिक र औषधिका कारण नागरिकको स्वास्थ्यमा खेलबाड भइरहे पनि स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकसँग कति निजि फार्मेसी र मेडिकल सञ्चालन छन् भन्ने यकिन तथ्याङ्क समेत छैन ।

स्थानीय तहका स्वास्थ्य शाखाले तथ्याङ्कसङ्कलन गरेका छैनन् भने कार्यालयले पनि खोजी नगरेको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी सेवक नेपालले बताउनुभयो । सस्तो लोकप्रियताका लागि बजार अनुगमन गर्दा हल्ला धेरै हुने तर कारबाही शून्यको अवस्था छ । मापदण्ड पुरा नगर्ने र अबैधानिक तवरले सञ्चालन गरिरहेका फार्मेसीले अनुगमन टोली पुगेको सुचना पाउने वित्तिकै सटर लगाएर भाग्ने गरेका छन्, अब भने यसलाई कडाइ गर्ने सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्