२०८१ कार्तिक २७
                           

नेपाली डायस्पोरा र सैन्य किल्लाको आकर्षण

पुण्यप्रसाद पौडेल -सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारास्थित श्रीकृष्ण माविमा २०३४ -३५ तिर एक जना अमेरिकी स्वयंसेवक आएका थिए – लेस वर (Les Buhr) । हामीले सँगसँगै काम गरेका थियौं त्यस स्कूलमा । उनी मिनेसोटाका रहेछन् । पहिलो पटक मैले उनीबाटै मिनेसोटाको बारेमा सुन्न पाएको हो ।

“पानीको छेलोखेलो छ, यस राज्यमा । अनगिन्ती ठूला साना ताल छन् । ‘दश हजार तालको राज्य’ (Land of Ten Thousand Lakes) भनेर पनि चिनिन्छ मिनेसोटालाई । जाडोमा अचाक्ली जाडो र गर्मीमा उधुम गर्मी हुन्छ । समरमा पानी पर्नु र विन्टरमा हिउँको घुम्टीमा सजिनु यस ठाउँका थप विशेषता हुन् ।” उनले भनेका कुरा मैले सम्झेको छु ।

गत वर्षको अक्टोबर महिनाको कुरा हो । मिनेसोटामा जाडो आइसकेको थियो । वडा दशैंको मुखमा त्यहाँका नेपालीहरूको संस्था ANMN (Association of Nepalese in Minnesota) ले निकट लस्करै आइरहेका (दशैँ तिहार, छठ, ल्होसार आदि) चाडबाड उत्सव मनाउने सिलसिलामा आयोजना गरेको कार्यक्रममा मलाई आफ्नी धर्मपत्नी अन्जु सहित सहभागी हुने सुखद अवसर प्राप्त भयो ।

कार्यक्रम स्थल चास्का कम्युनिटी सेन्टरमा मानिसहरूको चहलपहल छ । उत्सवमा सहभागी हुन आउनेहरू धमाधम आइरहेका छन् । नेपाली हस्तकला, गहना र पहिरनका स्टलहरू राखिएका छन् । आगन्तुकहरूमा   स्टलका सामानहरू हेर्ने उत्सुकता देखिन्छ । उता, आयोजकहरूलाई काम भ्याई नभ्याई छ । त्यहाँको नेपाली डायस्पोरालाई चिन्ने जान्ने अभूतपूर्व मौका मिलिरहेकोमा म त्यसै दङ्ग छु । दुई खण्डमा विभाजित सो उत्सवलाई पहिले रात्रिभोज र त्यसपछि सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्नेगरी प्रबन्ध मिलाइएको छ । ANMN ले त्यै वर्ष दशैं अगाडि यस्तो कार्यक्रम आयोजना गर्ने परम्परा बसालेको रहेछ ।

सो चाडबाड उत्सवमा दुई अढाई सय नेपालीको जमघट छ । मिनेसोटाका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूले पनि उल्लेख्य उपस्थिति जनाएका छन् । रात्रिभोज पछि विविध गीत-सङ्गीत, नृत्य, र प्रहसनहरू प्रस्तुत हुन्छन् । सो कार्यक्रमको विशेष आकर्षण छन् गायक दिपेशकिशोर भट्टराई । उनले आफ्ना लोकप्रिय गीतहरूद्वारा विनोदी माहोललाई थप उल्लासमय बनाउँछन् । अन्य कलाकारले पनि आआफ्ना गीत, नृत्य र प्रहसनद्वारा दर्शकलाई भरपूर मनोरञ्जन दिन्छन् । कार्यक्रममा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको अनुभव हुन्छ ।

उत्सवको सो रमाइलो साँझमा ANMN को स्थापना र विकासमा योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम पनि समावेश छ । सम्मानित हुनेहरूमा यसका प्रथम अध्यक्ष पदम शर्मा र वहाँकी धर्मपत्नी पनि हुनुहुँदो रहेछ । संस्थाको पूर्वावस्थाको संस्मरण गर्दै पदम शर्माले भन्नुभयो :

“म ५० वर्षअगाडि रामपुर क्याम्पसको प्राध्यापकको नाताले सरकारी छात्रवृत्तिमा पिएचडी गर्न भनेर यहाँ आएको हुँ । त्यस बखत अहिले जस्तो क्षणभरमा विश्वको कुनै पनि ठाउँ र घटनाको श्रव्यदृश्य सूचना प्राप्त गर्न सकिन्नथ्यो । अनेक कोशिशको बावजूद हामी आफूलाई चाहिने आधारभूत सूचना समयमा पाउन सक्दैनथ्यौं । अमेरिका आउने निश्चित भैसक्दा पनि मलाई आफू जानलागेको ठाउँ कहाँ र कस्तो छ भन्ने सामान्य ज्ञानसम्म थिएन । कुहिरोको कागझैं थिएँ ।

त्यसबेला मिनियापलिसमा नेपालीहरू एकदमै थोरै थिए । भेटिन बहुतै धौधौ पर्थ्यो । कहींकतै भेटियो भने ठूलो उत्सवी माहौल बन्थ्यो र आपसमा मित्रता गासिन्थ्यो । स्थापना गर्नेताका ANMN को सदस्य औंलामा गन्न सकिन्थे । यस्ता कार्यक्रमहरू कल्पना भन्दा बाहिर थिए ।”

विद्यावारिधि गरेपछि पदम शर्मा नेपाल फर्किनु भएन । अमेरिकामै बस्ने निधो गरेर उतै काम गर्न थाल्नुभयो । समय क्रममा एउटा सफल रेस्टुरेन्ट व्यवसायीको परिचय पनि बनाउनुभयो । म आफै पनि वहाँको सेन्टपल स्थित ‘एभरेस्ट अन ग्र्याण्ड, नेपाली रेस्टुरेन्ट’ मा पुगेको थिएँ । ANMN को स्थापना र विकासमा वहाँको उल्लेख्य योगदान रहेछ ।

“आधा शताब्दी यता बिताएर अब म श्रीमतीसहित नेपाल फर्कन लागेको छु । झापाको पुर्खौली जग्गामा घर बनाउने काम भैरहेको छ । बाँकी जीवन उतै बिताउने सोच बनाएको छु । यद्यपि  छोराछोरी र उनीहरूको परिवार यतै भएकाले सकुन्जेलसम्म आउजाउ गरिरहनु पर्ला,” मन्तव्यकै क्रममा वहाँले भन्नुभयो ।

वहाँले बोलेका यी पछिल्ला कुरा मेरो मनमा गढेर बसेका छन् । मन्तव्यको यस अंशले अमेरिकामा बसोबास गरेका पहिलो पुस्ताका नेपालीको अवस्था, अनुभव र मनस्थितिको प्रतिनिधिमूलक चित्रण छ कि जस्तो लाग्छ मलाई ।

त्यस अवसरमा भेटिएका नेपालीसँग गफगाफमै सोधेको थिएँ, “नेपाली चाडबाड रमाइलोसँग मनाउनु हुँदोरहेछ । चाडबाड यसरी मनाइरहँदा कस्तो लाग्दछ तपाईंहरूलाई ?”

चाडपर्वमा सबैभन्दा ज्यादा आफ्नो देश र परिवारको सम्झना हुन्छ । आफ्नो समाज र परिवारको न्यास्रो मेट्न र आफ्नो संस्कृतिलाई जोगाइराख्न पनि हामी यस्ता उत्सवहरू मनाइरहन्छौं । सांस्कृतिक चाडबाड मनाउँदा सुखद अनुभूति  हुन्छ । तर अलि अप्ठेरो चाहिं के छ भने यहाँ चाडपर्व मनाउन बिदाको दिन (विकेन्ड) कुर्नुपर्छ । अरू दिन फुर्सद मिल्दैन ।” वहाँहरूको सहज जवाफ थियो ।

हो, नेपालीहरूले विदेशमा चाडपर्व मान्न दिन जुराउनु पर्दछ । दैनन्दिनको काममै यन्त्रवत चल्नुपर्ने भएकोले रुचिका अन्य काम गर्ने समय मिलाउन निकै गाह्रो पर्दछ ।

अमेरिकामा बस्ने नेपालीहरूले आफ्नो धर्म, संस्कृति अनुसार नेपाली चाडबाड विशेष महत्वकासाथ मनाउने गर्छन् । उनीहरू आफू बसेको ठाउँको धर्म, संस्कृतिप्रति पनि सहिष्णु छन् । अझ भनौं, ती प्रति सम्मान छ उनीहरूको । त्यहाँका चाडपर्व पनि रमाइलो गरी मनाउँछन् । यस अर्थमा यहाँ बसोबास गर्ने नेपालीहरूले दुवै थरि संस्कृतिलाई सँगसँगै अनुसरण गरेका छन् भन्न सकिन्छ ।

तिज, दशैं, तिहार, म्हपूजा, ल्होसार छठ आदि नेपालमा मनाइने सबै चाडपर्व उल्लासमय ढङ्गले मनाउने गर्छन् भने ह्यालोविन (Halloween), थ्यांक्स गिविङ (Thanksgiving) क्रिसमस, न्यू यर पनि उत्तिकै रमाइलो गरि मनाउँदा रहेछन् । उनीहरूले विवाह, व्रतबन्ध, न्वारन पास्नी लगायतका मौलिक नेपाली सांस्कृतिक अनुष्ठानहरू पनि सम्भव भएसम्म वैदिक विधिअनुसार नै सम्पन्न गर्ने गरेको पाइन्छ । नेपालमा जस्तै बिदाका दिनमा दर्शनार्थ मन्दिरमा जानेहरू पनि भेटिन्छन् । विशेष अवसरमा संस्थागत रूपमा नेपालका ख्याती प्राप्त कलाकारलाई निमन्त्रणा गरेर साङ्गीतिक कार्यक्रम आयोजना गर्छन् ।

मिनेसोटाको छिमेकी राज्यहरू मध्ये उत्तरतर्फ क्यानडा पश्चिममा नर्थ र साउथ डकोटा पूर्वमा विस्कनसिन र लेक सुपेरियर र दक्षिणमा आयोवा पर्दछन् । सेन्ट पल यसको राजधानी हो भने सेन्ट पल र मिनियापलिस मिनेसोटाको सबैभन्दा ठूला शहर हुन् । यी दुई शहर सँगै छन् र यीनलाई ट्विन सिटिज (जुम्ल्याहा शहर) पनि भनिन्छ । मिनेसोटा अमेरिकाको धनि राज्यमा गणना हुन्छ । आर्थिक सम्पन्नता, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवालगायत शूचांकका दृष्टिकोणबाट गरिने मूल्याङ्कनमा यस राज्यले उच्च स्थान प्राप्त गरेको छ । जुम्ल्याहा शहर बसोबास र गुणस्तरीय जीवन यापनको निमित्त कहलिएका नगर हुन् ।

नेपाललगायत दक्षिण एशियाली देशबाट विद्यार्थी भिसामा अमेरिका आउने युवायुवतीमा शुरूमा मिनेसोटाका कलेज र विश्वविद्यालयमा जाने र त्यसपछि बिस्तारै अन्य ठाउँमा फैलने ट्रेन्ड रहेछ । यहाँ कार्यरत नेपाली पेशाविदहरूका अनुसार हाल यो राज्यमा ३ हजार ३५ सय जनसंख्या नेपालीको छ ती मध्ये १ हजारजति विद्यार्थी र अन्यमा पेशाविद, व्यवसायी र तीनका परिवार छन् । पेशाकर्मीमा बढी संख्या इन्जिनियरको छ । आइटी क्षेत्रमा काम गर्नेहरू धेरै छन् । यहाँ नेपाली जनसंख्याको करीब एक प्रतिशत मात्र व्यापार–व्यवसाय गर्नेहरू भएको अनुमान छ । आम रूपमा भन्नुपर्दा नेपालीहरूले राम्रै आर्थिक हैसियत बनाएका छन् र स्थानीय समाजमा सम्मानपूर्ण स्थान हासिल गरेका छन् । मिनेसोटा धेरै जाडो ठाउँ भएकोले न्यानो ठाउँको खोजीमा अन्यत्र बसाई सर्ने प्रवृत्ति पनि देखिन्छ उनीहरूमा ।

यस पटकको अमेरिका भ्रमणको सिलसिलामा भेट भएका नेपालीहरू विशेषगरी युवाहरूसँग संवाद गर्दा अमेरिकामा बसेर उनीहरू नेपालको विषयमा कति रुचि लिन्छन्, कति अद्यावधिक सूचना राख्छन् र कस्तो प्रतिक्रिया जनाउँछन् भन्ने कुरा थाहा पाएर अचम्मित भएँ । यथार्थमा म उनीहरूको मन पढ्न, जान्न चाहन्थें । मेरो बुझाइमा त्यहाँका नेपालीहरू नेपालको राजनीति अर्थतन्त्र सामाजिक र सांस्कृतिक मुद्दाहरूमा यथेष्ट रुचि राख्छन् । नयाँनयाँ घटनाक्रमसँग आफूलाई परिचित राख्ने प्रयत्न गरिरहेका हुन्छन् उनीहरू । हरेक महत्वपूर्ण घटना र गतिविधिहरूप्रति आफ्नो दृष्टि चेतना अनुसार धारणा पनि बनाउँछन् । देशमा बसेका युवायुवतीहरू भन्दा पनि बढी उनीहरू राजनीतिक नेताका कटु आलोचक छन् । कतिपय युवाहरू सैद्धान्तिक रूपले नेपालका राजनीतिक दलका निकट पनि छन्, नभएका होइनन् । तर उनीहरूको पनि दलको सत्ता (नेतृत्व) प्रति उति धेरै आस्था र विश्वास रहेको पाइँदैन । नेपालको लोकतन्त्रलाई दलतन्त्रले खुम्च्याएको र नेतृत्वको निरंकुशताले दललाई समेत बन्दी बनाएको तर्क गर्छन् उनीहरू । नेतृत्व असक्षम र भ्रष्ट भएको कारणले देश विकास नभएको भन्ने उनीहरूको न्यारेटिभ छ ।

अमेरिकी राजनीतिप्रति नेपालीहरूको झुकावको कुरा गर्ने हो भने धेरैजसोको डेमोक्र्याटिक पार्टीप्रति झुकाव देखिन्छ । डेमोक्र्याटिक पार्टीमा उदार र लोककल्याणकारी सोच भएका कारणले उनीहरूको सो पार्टीप्रति झुकाव रहेको बुझिन्छ । आप्रवासीप्रतिको उदार व्यवहार सो पार्टीप्रति आकर्षित हुनुको अर्को मुख्य कारण हो । केही रिपब्लिकन दृष्टिकोण राख्ने साथीहरूसँग पनि वार्तालाप भएको थियो । “हामीले दुःख गरेर कमाएको सम्पत्ति काटेर अरूका निम्ति कति दिने (कर तिर्ने) ? कतिन्जेल आफ्नो टाउकोमा बोक्ने यो बोझ ?” डेमोक्र्याटिक पार्टीप्रतिको असन्तुष्टि यसरी प्रकट गरे उनीहरूले । “सक्नेले बाँच्ने (Survival of the Fittest) सिद्धान्तको पक्षमा वकालत गर्न खोजेजस्तो लाग्यो मलाई ।

नेपाली डायस्पोराले स्थायी बसोबासको निमित्त राज्यको छनोट गर्दा ‘उदार हो कि अनुदार’ भन्ने कुरालाई पनि एउटा आधार बनाएको देखियो । राज्यमा उपलब्ध हुने सार्वजनिक सेवा र कर प्रणालीमा यसले धेरै  प्रभाव पार्ने भएकोले आप्रवासीहरू उदार राज्यमा आकर्षित हुँदा रहेछन् ।

सन् २००० को राष्ट्रपतीय निर्वाचनदेखि पार्टीहरूले प्राप्त गरेको भोटको आधारमा अर्थात् कहाँ कुन पार्टीको वर्चस्व छ भन्ने आधारमा राज्यहरूलाई रातो, नीलो र पर्पल (स्विंग) स्टेटको रूपमा विभाजन गरिंदोरहेछ । डेमोक्रेटको पकड भएको राज्यलाई नीलो, रिपब्लिकनको वर्चस्व भएकोलाई रातो र कसैको पनि दरो पकड नभएकोलाई पर्पल (स्विंग) राज्य भनेर चिनाइन्छ । स्विंग स्टेटले नै राष्ट्रपतिको निर्वाचनमा जीतहारको फैसला गर्ने भूमिका खेल्दा रहेछन् ।

सेप्टेम्बर २०२३ देखि फेब्रुअरी २०२४ सम्म आइपुग्दा अमेरिकी मिडियालाई आउँदै गरेको ‘राष्ट्रपति निर्वाचन २०२४ को ज्वरोले बिस्तारै तताइरहेको अनुभूति भएको थियो मलाई । निर्वाचनलाई लक्ष्य गरेर रेडियो टेलिभिजन आदिले आफ्ना कार्यक्रम प्रसारण गरिरहेका थिए । सम्भावित उम्मेदवार, राजनीतिक विश्लेषक, बुद्धिजीवीहरू सँगका बहस, संवाद र प्रश्नोत्तर कार्यक्रमहरू नित्य भैरहेको पाइन्थ्यो । राजनीतिक दलहरू आफ्ना उम्मेदवार तय गर्ने लामो प्रक्रियाबाट गुज्रिरहेका थिए । प्राइमरी र ककसको निर्वाचनले मानिसहरूको ध्यान खिचेको थियो । प्राइमरी र ककसको निर्वाचन पछि दलहरूले आआफ्ना पार्टीको राष्ट्रिय अधिवेशन गरेर उम्मेदवारको औपचारिक घोषणा गर्ने परम्परा रहेछ अमेरिकामा ।

प्राइमरी र ककसको निर्वाचन प्रणालीले अमेरिकाको उन्नत लोकतान्त्रिक अभ्यासलाई बलियो बनाएको छ । मतदाताकै छनोटको आधारमा पार्टीको आधिकारिक उम्मेदवार बन्ने बनाउने परम्परा स्थापित छ । अमेरिकी निर्वाचन प्रणालीको विषयमा नेपाली युवाहरू सँग कुरा हुँदा उनीहरूले भनेका थिए “हामीकहाँ जस्तो पार्टीको टिकट लिन नेतृत्वको खुसामद गर्नु पर्दैन । अर्को कुरा, मतदाताले नरुचाएको व्यक्तिले पार्टीको टिकट पाउने र उम्मेदवार बनेर निर्वाचित हुने कल्पना गर्न सकिंदैन यहाँ । निर्वाचन लडेर महत्त्वपूर्ण जिम्मेवारीको पद अपेक्षा गर्ने व्यक्तिका निमित्त लोकप्रियता र लोकतान्त्रिक चरित्र निर्णायक हुन्छन् । प्राइमरी निर्वाचनमा सबैभन्दा धेरै लोकप्रिय मत प्राप्त गर्ने व्यक्ति मात्र उम्मेदवार हुन सक्छ । नेतृत्वले चाहँदैमा पार्टीको उम्मेदवार बन्न सक्दैन ।”

सार्वजनिक स्कूलमा नि:शुल्क शिक्षा दिइन्छ । प्राइवेट स्कूलले शुल्क लिन्छन् । प्राइवेट स्कूल धार्मिक संस्थाद्वारा सञ्चालित स्कूलभन्दा पनि महँगा हुन्छन् । यहाँ नगरहरू स्कूल जोनमा विभाजित छन् र स्कूलले आफ्नो क्षेत्र (जोन) भित्रका विद्यार्थी भर्ना गर्नु पर्छ । स्कूलहरूले निश्चित प्रतिशत संख्या जोन बाहिरका विद्यार्थीको लागि पनि खुल्ला गर्न सक्छन् । तर त्यसरी स्कूल छानेर गएकाहरूले गाडीलगायतका अन्य व्यवस्था आफैले गर्नु पर्छ । राम्रो विद्यालय छान्दाखेरि अभिभावकहरूले आफ्ना छोराछोरीलाई तोकिएको स्कूल जोन बाहिर पनि लग्ने स्थिति आउँदो रहेछ ।

आफू बस्ने समुदायको जनसंख्याको बनोटमा पनि ध्यान दिन आवश्यक ठान्दा रहेछन्, आप्रवासी अभिभावकहरू । उनीहरूको निमित्त विभिन्न वर्ण, धर्म, र राष्ट्रियता भएका मानिसले बसोबास गरेको समावेशी समुदाय रोजाइका प्राथमिकतामा पर्ने गरेको देखिन्छ । एक थरीको मात्र बाहुल्यता भएको समुदाय भन्दा विविधतायुक्त समावेशी समुदाय बालबालिकाको समग्र विकासको निमित्त उपयोगी हुने नेपाली डायस्पोरा सँगको अन्तरक्रियाबाट प्रष्ट भयो ।

“ड्याडी, हामीले पढिसकेका किताब नजीकको लघु स्वतन्त्र पुस्तकालय (Little Free Library) लाई डोनेट गर्ने गरेका छौं । अहिले युवकले पढेका केही किताब डोनेट गर्ने बेला भएको छ ।” एक दिन कुरैकुरामा ज्वाइँ योगेशले भन्नुभयो ।

‘लघु स्वतन्त्र पुस्तकालय’ मेरो निम्ति नौलो कुरा थियो । तसर्थ यस विषयमा जिज्ञासा राखें र हाम्रो वार्तालाप यसरी अगाडि बढ्यो :

”कस्तो हुन्छ लघु स्वतन्त्र पुस्तकालय ?”

“यो धेरै सानो पुस्तकालय हो । यहाँ आफूखुशी पुस्तक आदानप्रदान गर्ने काम हुन्छ । जो कोही यस्ता  पुस्तकालयबाट लाभान्वित हुन सक्छन् । आफूले चाहेको किताब ल्याएर पढ्न सकिन्छ । पढिसकेका किताब डोनेट गर्न पनि मिल्छ ।”

“कहाँ कसरी सञ्चालन हुन्छन् त यस्ता पुस्तकालयहरू ?”

“सडक दायाँबायाँका वाकवेमा लेटरबक्स जस्तै देखिने स्क्वार आकारका काठको बाकस अलि अग्लो पारेर राखिएको हुन्छ । ती बाकसमा किताब हुन्छन् । पढ्न चाहने जोसुकैले ती किताब लगेर पढ्न सक्छन् र पढेपछि फिर्ता ल्याएर राखिदिन्छन् । स्वसञ्चालित हुन्छन् यस्ता पुस्तकालयहरू । स्थानीय समुदायको सहयोगमा My Little Library नाम गरेको स्वयंसेवी संस्थाको पहलमा अमेरिकाका विभिन्न राज्यमा यी पुस्तकालय सञ्चालित छन् ।”

नभन्दै एक दिन घुम्दैजाँदा पारि सडकमा योगेश बाबुले भनेजस्तै स्क्वायर आकारको काठको बाकसमा मेरो नजर पर्‍यो र त्यसलाई ठम्याउन भनेर सडक क्रस गरें । बाकस बन्द थियो तर ताल्चा थिएन । खोलेर हेर्दा राम्ररी मिलाएर राखिएका किताबका चाङ देखें । लघु पुस्तकालय यही हो भन्ने पक्का भयो । १५- २० मिनेटको दुरीमा अर्को त्यस्तै पुस्तकालय भेटें । नगरका ठाउँ ठाउँमा स्थानीय समुदायको सहयोगमा सञ्चालित हुने लघु पुस्तकालयलाई नगर पालिकाको तर्फबाट पनि सहयोग हुने रहेछ । समुदायको केन्द्रमा सर्व साधारणको सहज पहुँच हुनेगरी सडक बत्तीको नजिक यस्ता पुस्तकालय राखिएका पाइन्छन् । लघु पुस्तकालयले समुदाय स्तरमा पाठकहरूलाई पुस्तक पढ्न सहयोग गरेको महसुस गरें ।

भोलिपल्ट मैले नै नाति युवकले पढेका र अन्य राम्रो अवस्थामा रहेका पुस्तकहरू लगेर नजीकको लघु-पुस्तकालयमा राखिदिएँ । गैर सरकारी संस्थाले साना साना भए पनि समाज उपयोगी काम गर्न सक्छन् भन्ने एउटा राम्रो उदाहरण भेटिए जस्तो लाग्यो । यस्ता पुस्तकालयले अमेरिका जस्तो विकसित समाजमा पनि समुदाय स्तरमा पठन संस्कृति विकासमा सहयोग गरेको रहेछ । पढ्ने पुस्तक सितिमिति नपाइने हाम्रा गाउँघरमा यस्ता लघु पुस्तकालयको व्यवस्था गर्न सके कति राम्रो हुन्थ्यो जस्तो लाग्यो । सके हाम्रा हरेक गाउँबस्तिमा, नसके पनि बजार क्षेत्रमा पालिकाहरूको सहयोगमा यस्ता पुस्तकालयको प्रबन्ध गर्न सके साक्षरता वृद्धि र पठन संस्कृतिको विकास गर्न अवश्य सहयोग पुग्थ्यो होला ।

एक दिन योगेश बाबु र म कार्यालय समयमा फोर्ट स्नेलिङ (Fort Snelling) पार्कको भ्रमणमा जान्छौं । फोर्ट स्नेलिङ हेर्न र त्यसको जीवित कहानी सुन्न लालायित जिज्ञासुहरूको एक समूह प्रतीक्षालयमा पालो कुरेर बसेका हुन्छन् । हामी पनि उनीहरू सँगै प्रतीक्षालयमै बस्छौं । केही क्षणपछि आगन्तुकलाई पार्कको टुर गराउन एकजना महिला कर्मचारी प्रतीक्षा कक्षमा हाम्रा सामुन्ने उपस्थित हुन्छिन् र हामीलाई सर्वप्रथम डकोटा जातिको सभ्यता र संस्कृतिको परिचय दिने बस्तुहरूको संग्रहालयतर्फ डोहोर्याउँछिन् । डकोटा युद्ध, अमेरिकी गृह युद्ध, पहिलो विश्व युद्ध र दोस्रो विश्व युद्धताका सो किल्लामा भएका महत्त्वपूर्ण गतिविधिको जानकारी पनि दिइन्छ । दोस्रो चरणमा सैनिक ब्यारेकको टुर गर्नु पर्छ ।

जनवरी महीनाको मध्यान्ह । तर घाम देखिंदैन । झल्याकझुलुक देखिहाले पनि राप छैन । हिउँले सडक. चौर, घरका चोक र छाना छपक्क ढाकेको छ । भो, जाडोको त कुरै नगरौं । मुटु छेड्ने चीसो हावा वेगले चलेको छ । एयर कन्डिसनवाला न्यानो कोठाबाट फुत्त बाहिर निस्कँदा सारा जीउ शीताङ्ग  हुन्छ । गाइडले किल्लाको दुई सय वर्षको इतिहासमा यसले खेलेको भूमिकाको कथा सारांश सुनाउँदै किल्ला घुमाइन् । थोरै न्यानो हुँदै गयो । किल्ला भित्रका भौतिक संरचनाहरू पुनर्निर्माण भएका रहेछन् । सिपाही र अफिसरका  कोठा, मेस, लगाउने पोशाक, जुत्ता, किल्ला बाहिरको वातावरण निगरानी गर्ने पोस्ट, हतियार भण्डार सबैतिर डुलाइन् । करिब डेढ घण्टा लाग्दो रहेछ त्यहाँको सूचना केन्द्र, म्युजियम र ब्यारेक अवलोकन गर्न र गाइडको ब्रिफिङ सुन्न ।

“उस समयमा ब्यारेकमा बस्ने अफिसर र सिपाहीमाथि अति भेदभावपूर्ण व्यवहार हुन्थ्यो । बस्ने ठाउँ, खाने पिउने बस्तु र सामाजिक व्यवहारमा धेरै ठूलो असमानता थियो । अफिसरको लागि ठूला र सुविधायुक्त छुट्टाछुट्टै कोठा थिए तर १० जनासम्म सिपाहीलाई एउटा साँघुरो कोठामा कोचाकोच गरी राखिन्थ्यो । यसरी कोचाकोच गरेर राख्दा एक पटक त सिपाहीहरूमा क्षयरोग फैलिएर आतङ्क मच्चिएको थियो ।

मेस पनि फरकफरक थिए उनीहरूका । अफिसर र सिपाहीहरूलाई आपसमा भेटघाट गर्न र सामाजिक सम्बन्ध राख्न पनि प्रतिबन्ध थियो । यहाँसम्म कि ब्यारेक भित्रको ग्रोसरी स्टोरमा किनमेल गर्ने समय पनि छुट्टाछुट्टै तोकिएको थियो दुई थरिका निम्ति । एक पटक सिपाही सँग बसेर ‘सोसल ड्रिंक’ गरेको भनी एकजना अफिसर माथि कारबाही भएको थियो ।” गाइडले ब्यारेक घुमाउँदै गर्दा बताएकी थिई ।

मिनेसोटा रिजन आदिवासी डकोटाको मातृभूमि भएको, उनीहरूको उत्थान र विस्थापन सम्बन्धी कथाबाट  फोर्ट स्नेलिङको इतिहास बुनिएको र यहीं ठूलो सामूहिक नरसंहार (Largest Mass Execution) भएको कान्छा ज्वाइँ योगेश भण्डारीबाट सुनेदेखि नै सो किल्ला र ती घटनाप्रति मेरो दिलचस्पी बढेको हो र त्यहाँ  जाने हुटहुटी जागेको हो । एक पटक हामीहरू टाढैबाट सैनिक किल्ला, मिसिसिपी र मिनेसोटा नदीको दोभान र वरपरको ठाउँहरू हेरेर फर्केका थियौं । यस पटक कार्यालय समय भित्रै जानुको उद्देश्य किल्ला भित्रको जानकारी लिनु र पहिले पढे बुझेका कुराको पुष्ट्याइँ

गर्नु थियो । यो किल्लाले धेरै ऐतिहासिक महत्त्व बोकेको रहेछ । अमेरिकाको मध्य उत्तरमा पर्ने यो किल्ला निर्माण भएदेखि सो प्रदेशमा अमेरिकी सरकारको सम्प्रभुता औपचारिक ढङ्गले स्थापित भएको बुझियो ।

“मिसिसिपी र मिनेसोटा नदीको सङ्गममा विकास भएको सभ्यता १० हजार वर्ष पुरानो हो । डकोटा आदिवासीहरूको निमित्त यो भूमिलाई अत्यन्त प्रिय र पवित्र छ । ती नदीको सङ्गममा रहेको यो फोर्ट स्नेलिङले  अमेरिकाको स्वतन्त्र संग्राम अगाडि र पछाडिको लामो इतिहासलाई आफूभित्र जीवन्त राखेको छ । यसको कथा भन्दै जाँदा झन्डै झन्डै सिङ्गो अमेरिकाको कथा समेटिन्छ । यसको आत्मकथा करिब दुई सय वर्षको अमेरिकी इतिहाससँग जोडिएको पाउँछौं,” गाइडले भन्दै गएकी थिई ।

फोर्ट स्नेलिङ सेन्टपल डाउनटाउन बाट झन्डै साँढे १३ किलोमिटरको दूरीमा पर्छ । यो किल्ला डकोटा सभ्यता, युरोपेली आप्रवासन र डकोटा युद्ध इतिहासको ज्युँदो साक्षी मात्र होइन यसले अमेरिकी गृहयुद्ध तथा पहिलो र दोस्रो विश्व युद्धताका पनि रणनीतिक भूमिका निर्वाह गरेको रहेछ । वास्तवमा फोर्ट स्नेलिङको इतिहासले मिनेसोटाको विकास र अमेरिकाको सैन्य इतिहासकै प्रतिबिम्ब प्रस्तुत गर्दो रहेछ । यो सत्य हो कि यसलाई पढ्दै जाँदा आदिवासी अमेरिकीको सभ्यताको विकास, युरोपेलीहरूको घुसपैठ, आदिवासीको सङ्कट र विस्थापन, आदि घटनाक्रमको जानकारी हुने रहेछ ।

गाइडको थप भनाइ थियो, “सन् अठार सयमा यु एस सरकार र डकोटा बीच भएको सन्धिबाट डकोटाहरूले अमेरिकी सरकारको अधीनमा रहन स्वीकार गरेको र सकारले पनि आप्रवासीहरूबाट उनीहरूको भूमि रक्षा गर्ने र वार्षिक रूपमा उनीहरूलाई निश्चित रकम र खाद्यान्न दिने कबुल गरेको थियो । सन् १८६१ मा ठूलो सुख्खा परेर बालीनाली बिग्रेपछि अर्को वर्ष सो क्षेत्रमा भयानक भोकमरी पर्‍यो । गृह युद्धमा फसेको संघीय सरकारले तत्काल भोकमरी पीडितका लागि प्रभावकारी कदम चाल्न सकेन । कबुल गरेको रकम र खाद्यान्न समयमा नपाएपछि डकोटा युवाहरूले ब्यारेकमा हमला गरेर सेनालाई मार्नु साथै सीमामा बसोबास गरेका यूरोपियन अमेरिकन परिवार माथि आक्रमण गरेर मारकाट मच्चाए । १८६२ सो लडाई इतिहासमा “डकोटा युद्ध” को नामले चिनिन्छ ।”

अमेरिकी फौजले डकोटा विद्रोहलाई निर्मम दमन गरे पछि हजारौँ युद्ध बन्दीहरूलाई फोर्ट स्नेलिङको कन्सन्ट्रेशन क्याम्पमा यातना दिएर राखियो । बन्दी बनाइएका मध्ये १६ सय भन्दा बढी महिला, बालबालिका र वृद्धवृद्धा रहेछन् । कति निरापराध पनि क्याम्पमै थुनिएका थिए । सयौं थुनुवा त्यही वर्षको जाडोमा क्याम्प भित्रै मरेका रहेछन् । ३८ जनालाई मृत्युदण्ड दिइएछ । यो घटनालाई इतिहासमा longest mass Execution को रूपमा चर्चा गरिएको छ ।

युद्धमा परास्त भएपछि आदिवासीले अमेरिकी सरकारबाट पाइरहेका सबै विशेष सुविधाहरू खोसिए । एक लाख भन्दा धेरै डकोटालाई नर्थ डकोटा, साउथ डकोटा र भर्जिनिया आदि राज्यमा ठाउँसारी गरियो । अन्यत्र बसाउने क्रममा हजारौँ आदिवासीले ज्यान गुमाए ।

‘फोर्ट स्नेलिङ’ अमेरिकी सेनाले सन् १८२० देखि १८२५ को बीचमा निर्माण गरेको हो । त्यस समयमा अमेरिकामा बेलायतीहरूको दबदबा बढिरहेको थियो । शुरूमा बेलायतीहरूलाई उत्तर, पश्चिमतर्फ बढ्न नदिन र त्यस क्षेत्रमा उनीहरूको प्रभाव घटाउने कार्य गर्ने जिम्मा त्यहाँ तैनाथ सेनालाई दिइएको थियो । यसले फष्टाइरहेको छालाको व्यापार (फर ट्रेड) को नियमन पनि गर्थ्यो । साथै यूरो-अमेरिकन आप्रवासीलाई आदिवासी डकोटा राष्ट्र र जनताको भूमि हडप्नबाट रोक्नु पनि थियो ।

डकोटासितको युद्धमा मात्र होइन अमेरिकी गृह युद्धताका पनि यो किल्लाको भूमिका महत्त्वपूर्ण रहेछ । अमेरिकी सेनामा काम गर्न चाहने स्वयं सेवकहरूलाई यहाँ प्रशिक्षण दिइन्थ्यो । त्यसैगरी पहिलो र दोस्रो विश्व युद्धको बेलामा पनि यसलाई सैनिक प्रशिक्षण केन्द्रको रूपमा प्रयोग गरिएको थियो । द्वितीय विश्व युद्धको समयमा यो ठूलो सैनिक भर्ती केन्द्र पनि थियो र दिनहुँ हजारौँ युवाहरू सेनामा भर्ती हुन्थे ।

हाम्रो देशमा पनि अनेकौं ऐतिहासिक गढीहरू विद्यमान छन् । नेपालको अस्तित्व र स्वाभिमान रक्षा गर्नमा तिनको अविस्मरणीय भूमिका छ । ती गढीहरूको संरक्षण र सम्भार गरेर नयाँ पुस्ताको निमित्त आकर्षणको केन्द्र बनाउन सके उनीहरूमा देश प्रेम र स्वाभिमान जगाउन सहयोग हुन्थ्यो । पर्यटन विकासमा प्रत्यक्ष योगदान पुग्ने कुरा त छँदैछ । यस्ता सम्पदाले राष्ट्रको महिमा र गौरव पनि बढाउने थिए । फोर्ट स्नेलिङबाट फर्किंदा बाटोभरी मेरो मनमा यस्ता कुरा खेलिरहे ।

प्रतिक्रिया दिनुहोस्