२०८१ श्रावण १
                           

एक बलात्कृत बारे आमा याङ्ग्रीको बकपत्र

,

बिहिबार, जेष्ठ २६  प्रकृतिका आफ्नै नियम हुन्छन् । प्रकृति आफ्नै गुणले भरिपूर्ण छ । यही प्रकृति भित्रको शक्ति तत्वले जगत्को निर्माण र विकास भएको छ । जल, जमिन, जङ्गल, जनावर, पक्षी, मानवलगायत चराचर जगत् नै प्रकृतिले उत्पादन गरेको हो। तर, प्रकृतिको स्वरुप नै गिजोल्न खोज्ने मानव प्रवृत्तिका कारण अहिले प्रकृति र मानवबिच द्वन्द्व चर्किएको छ ।

२०७९ साल जेठ महिनाको १४ गते शनिबार मैले सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाँउपालिका जाने अवसर पाएँ । पत्रकार रघु मैनाली र मलाई लिएर जानका लागि रेडियो सिन्धुका स्टेशन मेनेजर रत्न श्रेष्ठ आउनु भएको थियो । पाँचपोखरी थाङपाल गाँउपालिकाको निमन्त्रणा र रत्न श्रेष्ठको अनुरोधमा हामी त्यहाँ जाँदै थियौं । मान्छेले गिजोल्न नभ्याएको प्रकृतिमा रमाउन पाउने लालचले मलाई पुलकित बनाएको थियो । अहिले भन्दा एक वर्ष अघि मेलम्ची बजारसम्म पुगेको थिएँ, सायद मेलम्चीमा ठूलो बाढी आउनुभन्दा एक दुई महिना अघि ।

र, आज फेरि मेलम्ची बजार हेर्दै माथिल्लो भेग जाने मौका मिलेको छ । हामीलाई मेलम्ची बजार पुग्नुभन्दा अघि नै पाँचपोखरी थाङपाल गाँउपालिका अध्यक्ष टासी लामा काठमाडौं आउँदै गरेको खबर प्राप्त भयो । उहाँ पाँचपोखरीबाट आउँदै र हामी पाँचपोखरी जाने क्रममा मेलम्ची बजारमा हाम्रो भेट भयो । अध्यक्ष टासीले हाम्रो स्वागत र विदाइ गर्नु भयो । काठमाडौंबाट हामीलाई बोकेर ल्याउने रत्नजीको सानो कारले हामीलाई माथि लान नसक्ने रहेछ । अब हामीलाई लिएर जान रत्नजीले बन्दोबस्त गरेको अर्को गाडी मेलम्चीमा आई पुग्यो । हामी गन्तव्यतिर लाग्यौं ।

अलि तल झरेपछि चारैतिर आँखा दौडाएँ । बाढी आउनु भन्दाअघि पोहोर मैले देखेको मेलम्ची बजार अहिले थिएन । बढेमानका ढुङ्गाले ठेलिएका र बालुवाले पुरिएका मानवरहित घरहरू यत्रतत्र देखिन्थे । यी घर र खेत बगाउने काम मेलम्चीले गरेको हो । हामीले अब इन्द्रावती तर्नु थियो । यहाँ आइपुग्नु भन्दा थोरै माथि नै मेलम्चीलाई इन्द्रावतीले कप्लक्क निलेर अस्तित्व समाप्त पारिदिएको छ । मेलम्चीले रौद्ररुप धारण गर्दा पनि इन्द्रावतीले उसको अस्तित्व स्वीकार्न सकेको छैन । अलि अगाडि बढेपछि वायाँतिरबाट आएको मेलम्ची र दायाँतिरबाट आएको इन्द्रावतीको सङ्गम स्थल देखियो । हो यहीँसम्म हो मेलम्ची । यहाँभन्दा तल आफ्नो नाम मेटाएर मेलम्ची पनि इन्द्रावती भएर बग्छ । मेलम्ची र इन्द्रावतीको सङ्गम स्थलको फोटो खिच्ने इच्छा थियो । तर, साथीहरूको सल्लाह अनुसार फर्किदा खिच्ने निर्णय गरियो । अब हामी केही माथिसम्म इन्द्रावतीको किनारै किनार जाने कुरा रत्नजीले गर्नु भयो ।

हामी माथि माथि उचालिदै गयौं । मेलम्ची नगरपालिका छाडेपछि पाँचपोखरी थाङपाल गाउँपालिकाले हामीलाई स्वागत ग¥यो । र, हामीले इन्द्रावती पनि छाडिदियौं । रत्नजीले हामी जाने बाटैमा घर पर्ने कुनै मित्रलाई फोन गर्नु भयो । जो मित्रलाई रत्नजीले फोन गर्नु भयो, उहाँको नाम उत्तममणि पौडेल थियो र उहाँ रघुजीको पनि परिचित हुनुहुन्थ्यो । केही माथि गएपछि बाटैमा एउटा स्कुल सँगै एउटा घर देखियो । साथीहरूको कुरा गराइले त्यो घर उत्तमजीको हो भन्ने बुझिन्थ्यो । म थकित थिएँ, गाडीबाट ओर्लने पटकै मन थिएन । तर, मलाई गाडीबाट ओराल्न लघुशङ्काले जोड गर्दै थियो । त्यसैबेला रघुजी र रत्नजीलाई परैबाट नमस्कार गर्दै एकजना हँसमुख बाख्रा गोठालो आइपुग्नु भयो । मसँग पनि परिचय भयो । उहाँ नै हुनुहुन्थ्यो बुद्धिजीवी शिक्षक उत्तममणि पौडेल । उत्तमजीसँग भोलि माथि ‘टालटुले’ मा नै भेट्ने प्रतिबद्धतासहित हामी लक्षतिर उन्मुख भयौं ।

टालटुले भन्ने ठाउँ पुग्नुभन्दा अलि तल सडककै किनारमा प्रकृतिको उपहार चुत्रो र ऐंसेलु लटरम्म फलेको देखियो । रघुजीले ‘चाखेरै जाने’ भनेपछि हामी सबै गाडीबाट ओर्लिएर चुत्रो र ऐंसेलुको झ्याङमाथि झम्टियौ । साँझ परिसकेपछि टालटुले स्कुलभन्दा अलि माथि रत्नजीको घर भएको ठाउँ मिलन चोक पुगेर हाम्रो आजको यात्रा टुङगियो । सात दिनसम्म रत्न श्रेष्ठजीको परिवारले गरेको हार्दिकता पूर्ण आतिथ्य सत्कारले जिन्दगीमा भुल्न नसक्ने ठाउँ ओगट्यो ।

भोलिपल्ट बिहानको खाना खाएपछि हामी टालटुलेतिर लाग्यौं । मनमा तर्कना चल्न थाल्यो । यो सिन्धुपाल्चोक जिल्लाले एक दशक भित्रै ठूलाठूला प्राकृतिक विपत्ति भोगेको छ । २०७२ सालको भूकम्पले सबैभन्दा बढी क्षति पु¥याको जिल्ला । त्यसपछि गएको बाढी र पहिरो । अनि पोहोर मात्र उ… यहाँ नजिकै मेलम्चीले देखाएको रौद्ररुप । साँच्चै मेलम्ची किन त्यसरी रिसायो ? आज उत्तममणि पौडेलजीलाई सोध्नैपर्छ । सायद यस बारेमा उहाँले केही बताउन सक्नुहुन्छ ।

हामी पुग्दा टालटुले स्कुल सुनसान थियो । यहाँका चारवटा स्कुल गाभेर नजिकै बनाएको नयाँ भवनमा पढाउन थालिएको रहेछ । हामी पुगेको केही समयपछि छवटा स्कुलका एक एकजना शिक्षक र छवटै स्कुलका तीन चार जनाका दरले विद्यार्थी भाइबहिनी आइ पुग्नुभयो । त्यसको केही छिन पछि नै उत्तममणि सर पनि आइ पुग्नु भयो । हामी भेला भएकाहरूका बीचमा भलाकुसारी र परिचय आदान प्रदान भयो । खाजा खाने बेलामा म उत्तमजीसँग गफिन थाले । मैले उहाँलाई गत वर्ष मेलम्ची बाढी आउनुको कारण बताउन अनुरोध गरे । उत्तमजीले त्यसबारे आफूलाई जानकारी नभएको र यसको जानकार ‘आमा याङ्ग्री’ बाहेक अरु हुनै नसक्ने स्पष्ट पार्नु भयो । त्यो दिन हामी कार्यक्रममा नै व्यस्त भयौं ।

भोलिपल्ट बिहान चिया पसलमा मेरो र स्थानीय किसान दाजुभाइबीचमा विविध विषयमा लामै कुराकानी भयो । विउविजन र मल खादको समस्याले किसान पिरोलिएका थिए । कुराकानीको अन्त्यमा मैले ‘आमा यङ्ग्री’ सँग भेट गराइ दिन अनुरोध गरेँ । मेरो कुरा सुनेर किसान दाजुभाइ मुखामुख गर्न थाले । म छक्क परेँ । त्यसपछि एकजना किसानले ‘आमा यङ्ग्री भनेको मानिस होइन मेलम्चीको शिर पहाड हो’ भनेर मलाई जानकारी दिनु भयो । म अल्मलिएँ, दिमाग बिथोलियो ।

त्यो रात सुतीसकेपछि मैले आमा यङ्ग्रीलाई फकाएँ र मेलम्चीले रौद्ररुप धारण गर्नुको कारण बारे सोधेँ । पहिला त आमा यङ्ग्रीले मान्छेसँग बोल्न मन नलागेको र सवालजवाफ गर्ने बानी पनि नभएको भन्दै टार्न खोजिन । निकै बेरको अनुरोध पछि आमा याङ्ग्रीले मेलम्ची रिसाउनुको कारण कथात्मक शैलीमा एकोहोरो वखान सुरु गरिन ।

“… कुनै कुनै वर्ष यो मेलम्ची उर्लिएर आउँथी । कुनै वर्ष उ.. परपरको फाँटसम्म बाढी हुलेर मलिलो माटो छोडेर जान्थी । कुनै वर्ष बालुवा थुपारेर बिमाख गर्थी । यस्तो बाढी आएको बेला यहाँका मान्छे मेलम्चीको नयाँ नाम राख्न तँछाडमछाड गर्थे । कोही ‘बहुलाही’ भन्थे, कोही ‘सन्काही’ भन्थे, कोही ‘सर्वनासी’ भन्थे भने कोही ‘धन्धुकारी’ भन्थे । जस्ले जेसुकै भनुन, मेलम्चीलाई त्यसको कुनै मतलव थिएन । मेलम्ची पीडा लुकाएर भए पनि आफ्नै लयमा गतिशील भएर निरन्तर र अविरल बगीरहेकी थिई ।

तर, अहिले मेलम्ची पहिला जस्ती छैन । सग्ली र सिङ्गो छैन । मुनाहरू चुडिएका छन्, चिउलाहरू लाछिएका छन् पाउलाहरू भाँचिएका छन् । हेर त उ पर… कतै भङ्गालो बनाइएको छ, कतै भङ्गालो थुनिएको छ । के मेलम्चीले प्राकृतिक रुपमा बाँच्न पाउदिन ? किन मेलम्चीले छुनुमुनु गर्दै आफ्नै सङ्गितमा नाच्न नपाउने ? मेलम्चीले अथाह पीडा भोगेकी छ, मेलम्ची हेप्पिएकी छ, थिचिएकी छ, किच्चिएकी छ, टुक्रिएकी छ, भाँच्चिएकी छ र बलात्कृत भएकी छ ।

यो कुरा मलाई मात्र थाहा छ । मेरो नाम ‘आमा याङ्ग्री’ हो । मेरो पीडाको बारेमा मेलम्चीलाई थाहा छ भने मेलम्चीको पीडाको बारेमा मलाई थाहा छ । अब मैले मेलम्चीको बारेमा बोल्नैपर्छ र उसको पीडाको पोको खोल्नै पर्छ । मेलम्चीलाई इन्द्रावतीले हेपेको कुरा, मेलम्चीलाई मान्छेले गिजोलेको कुरा अहिलेसम्म गोप्य राखिएको छ । अब यो गोप्य रहनु हुँदैन । म चिच्च्याइ चिच्च्याइ भन्छु मेलम्ची माथि अन्याय भएको छ, मेलम्ची माथि बलात्कार भएको छ । ओ.. पापी हो ! मेलम्ची पीडाले पोलिएर पसारिएकी छ, मेलम्ची बलिन्द्र धारा आँसु झार्दै घस्रिएकी छ । मतिर फर्किएर बलिन्द्र धारा आँशु झार्दै ‘आमा याङग्री मलाई बचाउ’ भन्दै छे । अनि म कसरी चुपचाप बस्न सक्छु ?

मलाई थाहा छ,, म मेलम्चीको बचाउ गर्न सक्तिन । तर, चिचच्याई चिचच्याई उसको पीडा सुनाउन सक्छु । मान्छेले नसुने पनि यहाँका ढुङ्गा–माटो, रुख र बुट्यानहरूले सुन्लान्, मलाई र मेलम्चीलाई सुमसुम्याउदै दौडिने भुइँकुइरो र मेरो थाप्लोमा झरेका हिमकणहरूले सुन्लान् । र, सुन्ला ‘शीरमेलम्चिम’को जल, जमिन र जङ्गलले ।

धेरै समय भएकै छैन, केही वर्ष अघिको मात्र कुरा हो । अनौठा मान्छे यहाँ आए । उनीहरू कोही निकै गोरा थिए, कोही निकै काला थिए र कोही हाम्रै वर्णका थिए । पहिला त उनीहरूको उद्देश्य हामीलाई थाहा थिएन । जब उनीहरूले फित्ता र अङ्क लेखिएका भाटाहरू निकालेर मेलम्चीको शरीर नाप्न थाले तब हामी आत्तियौं । मेलम्चीको तिघ्रा नापे, पाखुरा नापे, कमर र बक्षस्थल नापे । अनि उनीहरूले आपसमा मुखामुख गरे र खुशी भएको भाव प्रकट गरे । यता मेलम्ची भने अर्धमूर्छित बनेर छटपटाउन थाली । साँच्चै दारुण थियो त्यो अवस्था, कारुणिक थियो वातावरण । बलात्कारमा पर्न लागेकी मेलम्चीतिर हेर्दै म किंकर्तव्यविमूढ भइरहेकी थिएँ।

‘आमा याङग्री ! यता हेर ! पशुत्वमा ओर्लिएर मेरो अवयवहरू छाम्दैछन् । मेलम्चीको यो आवाजले, यो आर्तनादले मलाई झस्क्यायो । कठै मेलम्ची ! ममा रिसको पारो चढ्यो । आततायीहरूप्रति घृणाको पहाड चुलियो । मेरो टाउको फनफनी रिंगायो । आक्रोस विस्फोट भयो र बादलको रुप लिएर थाप्ला माथि फैलियो । अफसोस म हिड्न सक्ने भएको भए, उसको पीडा समन गर्न अघिनै हाम फाल्दै शीरमेलम्चीममा पुगी सक्ने थिएँ । म एउटी अचल पहाड । के नै गर्न सक्छुर!

जो आएर मेलम्चीलाई गिजोल्दै थिए, ती मान्छे थेत्तरा मात्र होइन नकचरा पनि थिए । प्राकृतिक सभ्यता र विकसित मानव सभ्यता भित्र अटाउन नसक्ने खालका थिए ती मान्छेहरू । त्यसताका प्रकृतिको स्निग्ध गतिविधि नरुचाउनेहरूको भिड भित्र मेलम्ची निसासिदै थिई । उनीहरूले मेलम्चीलाई थिचे, उचाले, पछारे, लतारे, थेचारे । नढाँटी भन्ने हो भने अमानवहरूले मानव सभ्यता र प्रकृति विपरीत प्रवृत्ति देखाए । जब उनीहरूले मेलम्चीलाई रिष्टपुष्ट र भरिपूर्ण देखे तबदेखिनै मेलम्ची माथि गिद्देदृष्टी लगाएका रहेछन् । यसलाई नै उपयोग गरेर आफ्नो वर्षौ)देखिको अतृप्त प्यास मेटाउने सोच बनाएका रहेछन् । काठमाडौंका तारे होटलमा बसेर मेलम्ची उपभोगको योजना बनाएछन् । धिक्कार छ, प्रकृति संरक्षणको भाषण गर्छ मान्छे ।

के सुन्छौ निर्दयी मनुवा ! मेलम्चीको अंगप्रत्यङग सबै छामे । माथि तल, दायाँ बायाँ सबै नापे । विभिन्न खालका औजारहरू लिएर हुलका हुल नयाँ मान्छेहरू आए । ट्याक्टर, स्काइभेटर, ट्रक र गाडीहरूको ताँती लाग्यो । वरिपरिका रुख बिरुवाहरू सबै फाँडिए । हेर त उ… पर… हाम्रै पहाड कोपरेर क्षतविक्षत बनाए । उ त्यहाँ देखेनौ ! पहाड खोपेर सुरुङ बनाएको । कारापकुरुप पारेर मेलम्चीलाई त्यहीँ भित्र खाँदेका छन् । शान्त र स्निग्द मेलम्चीलाई २५ औं वर्ष लगातार गिजोलीरहे । आफ्नै बाटोमा मेलम्चीले हिड्न पाइन । आफ्नै उदात्त ताल र धुनमा मेलम्ची नाच्न पाइन । यहाँका खेतका गरा र फाँटहरूलाई हराभर बनाउदै, किसानसँग प्रित लगाउदै, कुलकुलाउदै र छुनमुनाउदै मेलम्ची दौडिन पाइन।

यही कारणले गत वर्ष मेलम्चीले विद्रोह बोली । हो ! मेलम्ची भित्र उकुसमुकुस भएको ज्वालामुखी पोहोर साल विस्फोट भयो । ढुङ्गाहरू लिएर आइ, रुख र बुट्यानहरू उखेलेर ल्याइ, पहाड र गेग्र्यानहरू हुत्याउदै आइ । विद्रोह गर्न पाउने अधिकार मेलम्चीसँग सुरक्षित थियो र छ । त्यही अधिकारको दफा टेकेर विद्रोह गरी । प्रकृतिलाई गिजोल्ने मान्छेहरूको सातो लिदै, हुँङकार र फुङकार गर्दै बस्तीहरूमा पसी । खेतका गरा र बारीका पाटाहरूमा पसेर मान्छेलाई ललकारदै घरहरूसमेत हुत्याइ दिइ । ओ मनुवा के टोलाउँछौ ! हेर ! हाम्रा पीडा तिमीहरू बुझ्दैनौ । जब प्रकृतिले विद्रोह गर्छ तब मात्र केही छिनका लागि तिमीहरूको चेत खुल्छ । अति भएपछि खति हुन्छ । जबसम्म मान्छेले प्रकृतिलाई कजाउने असफल प्रयास गर्छ तबसम्म प्रकृतिले विद्रोह गरिरहन्छ । मान्छेले सबैतिर विजय प्राप्त गर्ला तर प्रकृतिसँग सक्ने छैन । मान्छेका बस्तीमा यही सन्देश सुनाउदै जाउ मनुवा आफ्नो गन्तव्य तर्फ… ।”

आमा याङ्ग्री बोल्दा बोल्दै टक्क रोकिइन । उनले मेलम्चीले विद्रोह गर्नु परेको कारण बताउदै गर्दा म भने भावनामा वहँदै थिएँ । आमा यङ्ग्रीले आफ्नो भनाइ टुङ्ग्याएपछि म झस्के । र, नतमस्तक हुदै दुई हात जोडेर आमा यङ्ग्रीलाई नमस्कार गरेर म आफ्नो बाटो लागें ।

प्रतिक्रिया दिनुहोस्