२०८१ श्रावण १२
                           

१ लाख ६३ हजार जनाको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन

जीवन श्रेष्ठ, जेठ ८ । राष्ट्रिय परिचय पत्र विवरण दर्ता अभियान अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा १ लाख ६३ हजार ४ सय ४३ जना सेवाग्राहीले सेवा पाएका छन् । गएको मङ्सिर २ गतेबाट जिल्लाको १२ वटा पालिकाको १०३ वटै वडामा राष्ट्रिय परिचय पत्र विवरण दर्ता अभियान सञ्चालन भएको थियो ।

अभियान अन्तर्गत लक्ष्यभन्दा तीन प्रतिशत बढी विवरण दर्ता भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए। उनका अनुसार सबै भन्दा कम भोटेकोसी गाउँपालिकाबाट ६ हजार ८ सय ४८ र सबैभन्दा बढी मेलम्ची नगरपालिकाबाट २४ हजार ६ सय ३५ जना सेवाग्राहीले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गरेका छन् ।

त्यस्तै नियमित रुपमा जिल्ला प्रशासन कार्यालयबाट २० हजार जना भन्दा बढीले विवरण दर्ता गरेका छन् ।

डिजिटल नेपालको आधार स्तम्भ तयार गर्दै सुशासन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यका साथ सुरु भएको यो अभियानमा छुटेका र लिन बाँकीहरूका लागि भने जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकबाट नियमित रुपमा सेवा प्रवाह भइरहेको पनि अधिकारी खनालले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्