२०८१ श्रावण १२
                           

कोरोनाबाट मृत्यु भएकी महिलाको सम्पर्कमा आएका १८७ को रिपोर्ट नेगेटिभ (सिन्धुपाल्चोकको जनजीवन सामान्य बन्दै)

कोरोनाबाट मृत्यु भएकी महिलाको सम्पर्कमा आएका १८७ को रिपोर्ट नेगेटिभ (सिन्धुपाल्चोकको जनजीवन सामान्य बन्दै)


विनोद शर्मा-

चौतारा/ कोरोना संक्रमणबाट पहिलो व्यक्तिको मृत्यु भएपछि त्रासमा रहेको सिन्धुपाल्चोकको जनजीवन सामान्य बन्दै गएको छ । एक सय ८७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि तथा बाह्रबिसे नगरपालिका र बलेफी गाउँपालिकाको ७ र ८ वडामा लगाइएको सिल खुल्ला भएपछि जनजीवन सामान्य बन्दै गएको हो । आइसोलसनमा उपचाररत महिलाका आफन्तहरुलाई धुलिखेल अस्पतालले डिस्चार्ज गरेसँगै सिन्धुबासीको त्राश अझै कम हुँदै गएको छ ।
नोबेल कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट निधन भएकी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ९ की २९ वर्षीया महिलाको सम्पर्कमा आएका एक सय ८७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । गएको सोमबार र मँगलबार गरी पहिलो मृतकको कन्ट्याक्ट ट्रेसिङ र सम्पर्कमा रहेका व्यक्तिहरूको थ्रोट स्वाबको नमुना संकलन गरि पिसिआर जाँचको लागि पठाइएको थियो । २ दिनको अवधिमा कुल एक सय ९५ जनाको एक सय ९७ नमुना संकलन गरी परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएकोमा शुक्रबारसम्ममा एक सय ८७ रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईंले जानकारी दिनुभयो ।
‘पुन परीक्षणका लागि पठाइएको ३ जनासहित शुक्रबारसम्म एक सय ८७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पहिलो दिन संकलन गरेका ५६ जनामध्ये ५३ जनाको रिपोर्ट मँगलबार नैं आएको थियो । बाँकी एक सय ३४ जनाको रिपोर्ट शुक्रबार आएको हो ।’ प्रमुख दुर्गादत्त चापागाईले भन्नुभयो, ‘ती महिलाको सम्पर्कमा रहेका यमुनाडाँडा र ठोकर्पाका गरी ८ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ । स्वाब संकलन, परीक्षण लगायतका कामका लागि अग्रपंक्तिमा खटिनुहुने स्वास्थ्यकर्मीहरु र सहयोग पु¥याउनु हुने सम्पूर्ण महानुभावप्रति सम्पूर्ण जिल्लाबासी आभारी छन् ।’
महिलाको सम्पर्कमा आएकाहरुमध्ये अधिकाँशको रिपोर्ट नेगेटिभ आइसकेकोले सिल गरिएको क्षेत्र बाह्रबिसे नगरपालिकाको वडा नम्बर ९, बलेफी गाउँपालिकाको वडा ७ र ८ वडा तथा बाह्रबिसे प्राथमिक स्वाथ्य केन्द्रमा लगाइएको सिल हटाउने निर्णय गरिएको चापागाईले बताउनुभयो । ‘जिल्ला स्तरीय कोरोना नियन्त्रण उच्चस्तरीय समितिको शुक्रबार बसेको बैडकले तीनवटै वडामा लगाएको सिल हटाउने निर्णय गरेको हो । बाह्रबिसे प्राथमिक स्वाथ्य केन्द्रबाट प्रदान गर्ने सुविधाका हकमा डिस्इन्फेक्सन गरेपछि सुचारु हुनेछ ।’ चापागाईले भन्नुभयो । जिल्ला स्तरीय कोरोना नियन्त्रण उच्चस्तरीय समितिको निर्णय अनुरुप संक्रमण फैलिने त्रासमा बाह्रबिसे नगरपालिकाको वडा नम्बर ९, बलेफी गाउँपालिकाको वडा ७ र ८ वडा तथा बाह्रबिसे प्राथमिक स्वाथ्य केन्द्रलाई सिल गरिएको थियो ।
आइसोलसनमा उपचाररत महिलाका आफन्तहरुलाई धुलिखेल अस्पतालले शुक्रबार नैं डिस्चार्ज गरिसकेको छ । आइसोलेसनमा रहँदा नवजात शिशुसहित आफन्तहरुमा गरिएको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ । उनीहरुलाई एक हप्ता जिल्लाकै क्वारेन्टाइनमा राख्न र एक हप्तापछि पिसिआर परीक्षण गरी घर पठाउन भनिएको अस्पतालका प्रसाशकीय निर्देशक डाक्टर रमेश माकजुले जानकारी दिनुभयो ।
वाग्मती प्रदेश सरकारको विज्ञ संलग्न ¥यापिड रेस्पोन्स टोली सहित जिल्लास्थित स्वास्थ्यकर्मीको टिमले बाह्रबिसे नगरपालिका ९ स्थित चालिसे गाउँकी २९ वर्षीया मृतक संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र सम्पर्कमा रहेका सबैको पीसीआर परीक्षणको लागि नमुना संकलन गरेको थियो । नमुना संकलनका लागि मन्त्रालय तथा प्रदेशबाट ल्याब विशेषज्ञ, डाक्टरसहित प्राविधिक, स्वास्थ्य, सुरक्षाकर्मी सहित दुई दर्जन बढी जनशक्ति परिचालन भएका थिए ।
२०७१ को जुरे पहिरो, भोटेकोशीको बाढी तथा २०७२ सालको भूकम्पमा सबैभन्दा धेरै क्षति व्यहोरेका सिन्धुपाल्चोकबासी कोरोना संक्रमणबाट पहिलो मृत्यु पनि आफ्नै जिल्लामा भएपछि त्रसित बनेका थिए । एक सय ८७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि र मृतक महलिाका आफन्तहरु अस्पतालबाट डिस्चार्ज भएसँगै सिन्धुबासीको दैनिकी सामान्य बन्दै गएको नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा सुवोधले बताउनुभयो ।
‘कोरोना संक्रमणबाट पहिलो मृत्यु भएपछि सिन्धुपाल्चोकका जनता त्रासमा थिए । जिल्लाका केहि क्षेत्र सिल गर्नु परेपछि उनीहरूको दैनिकी पनि प्रभावित बन्न पुग्यो ।’ सुवोधले भन्नुभयो, ‘अब सिन्धुबासीको दैनिकी सामान्य बन्छ । लकडाउन पालना गरेरै हामी कोरोना बिरुद्धको लडाई जित्न सक्छौं भन्ने विश्वास छ ।’

प्रतिक्रिया दिनुहोस्