२०८१ श्रावण १२
                           

आउने भयो तातोपानीबाट सबै सामग्री

तातोपानी- चीनसँग सीमाना जोडिएको उत्तरी नाका तातोपानीबाट सबै व्यापारिक सामान भित्रिने भएको छ । यसअघि सरकारले स्वास्थ्य सामग्री र अत्यावश्यक खाद्यवस्तु भित्र्याउने निर्णय गरेको थियो ।

नाकाबाट अत्यावश्यक मेडिकल सामग्रीभन्दा अन्य सामान ल्याएको र त्यसबाट कोरोना संक्रमणको उच्च जोखिम रहेकोले स्थानीय जनप्रतिनिधिलगायत स्थानीयबासीले चामल, दाल, नून र मेडिकल सामग्री ल्याउन दिने तर स्याउ लसुन जस्ता सामान ल्याउन नदिने भन्दै विरोध गर्दै आएका थिए । भन्सार र स्थानीय जनप्रतिनिधिबीच तीव्र विवाद भएपछि भन्सारले सबैसँग बुधवार साँझ छलफल गरेको हो । व्यवसायी, स्थानीय तहका जनप्रतिनिधि र भन्सारबीच भएको छलफलमा नाकाबाट सबै प्रकारका सामान ल्याउने सहमति भएको हो ।

भन्सार प्रमुख लालबहादुर खत्रीका अनुसार सामान आयात गर्ने तर त्यसको लागि सुरक्षा पहिलो सर्त रहेकाले सोही अनुसार सुरक्षा अपनाइ सामान आयात गर्न दिने सहमति भएको छ । त्यसको लागि भन्सार कार्यालय र भोटेकोशी गाउँपालिकाले सुरक्षाका लागि आवश्यक समन्वय गर्ने जानकारी दिएको छ । नाकामा स्वास्थ्य सुरक्षाको उचित व्यवस्था गरि सामान ल्याएमा अवरोध नगरी सामान ल्याउन दिनेमा सबै सहमत भएको भन्सार प्रमुख खत्रीले भने ।

सहमति पछि आउँदो आइतवारबाट बजारमा विक्री हुने र आवश्यक सबै प्रकारका सामग्रीहरु आयात हुनेछ । स्थानीय जनप्रतिनिधि र व्ययसायी र व्यवसायसँग सम्बन्धित संघ संस्थासँग समन्वय गरेर सामग्री आयात गरिने सहमति भएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले बताए ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव होमनाथ तिमल्सिनाले नाका सहज रुपमा सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए । ‘चीनले सहज रुपमा सामग्री पठाइरहेको अवस्थामा नेपालले रोक्नुपर्ने कुनै कारण छैन’, उनले भने– ‘तर त्यसका लागि स्थानीय वडाध्यक्ष, गाउँपालिका प्रमुख र भन्सार प्रमुखले सुरक्षाको व्यवस्था गर्नुपर्दछ ।’

उद्योग वाणिज्य संघले भने कन्टेनर, सामान, त्यसमा संलग्न चालक र लोडरलार्ई क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नुपर्ने जानकारी दिएको छ । चीनको वुहानमा कोरोना देखिएपछि सरकारले तातोपानी नाका बन्द गरेको थियो । अत्यावश्यक सामानको आयात गर्ने भन्दै तातोपानी नाका खोल्ने सरकारको निर्णय पछि चैत २६ देखि तातोपानी नाका सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्