२०८१ श्रावण १२
                           

सिन्धु पर्यटनमा कोरोनाको प्रभाव र कोरोना अन्त्यपछिको तयारी

सिन्धु पर्यटनमा कोरोनाको प्रभाव र कोरोना अन्त्यपछिको तयारी

 

मिलन तामाङ (पाख्रीन)

-मिलन तामाङ (पाख्रीन)

प्रत्येक हप्ताको ३ दिन २५ सय ग्रहकहरुसँग सदा झै सुकुटे बिचमा ब्यस्त हुने सुकुटे बिचको संचालक महेन्द्रसिं थापा यतिखेर काठमाण्डौको समाखुशी एकन्ताबासमा थुनिएको छ । पर्यटकका लागि उत्तम समय फेब्रुअरीदेखि मे महिनासम्म हिमालमा भ्याईनभ्याई हुनेपर्ने बेलामा हिमाल आरोही तथा पद् प्रदर्शक तुल्सीं गुरुङको पनि हालत त्यही छ । कोरोना अर्थात कोभिड–१९ ले विश्व मानव जगतलाई यसरीनै घरभित्र थुनिएर त्रासिद अवस्थामा जिउन बाध्य बनाएको छ । कोरोनाको कारण विश्वभरको बिभिन्न उद्योगहरुसँगै बिशेषतः पर्यटन क्षेत्रलाई बढि प्रभाव पारेको छ । यतिकैपनि पर्यटन ब्यवसायी एक जोखिमपूर्ण क्षेत्र हो र विश्वमा पर्यटन क्षेत्रको हालसम्मको अवस्था हेर्ने होभने १० देखि १५ बर्षको बिचमा यस्तो समस्याहरुलाई सामना गर्दै यो क्षेत्र अगाडी बढेको देखिन्छ । यो महामारीबाट विश्व पर्यटन क्षेत्रमा ५० खर्ब रपैयाको नोक्सानी हुने यूएनडब्लुयूटीओको अनुमान रहेको छ ।
यो महामारीबाट नेपालको पर्यटन क्षेत्रपनि अछुत रहेन । अधिराज्यभरि पर्यटन क्षेत्रसँग जोडिएका २० लाख मान्छे प्रभावित भएको छ । नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रबाट प्रत्यक्ष ४ प्रतिशत योगदान हुदै आएको थियो । यो आर्थिक बर्षको पहिलो ६ महिनामा मात्रै पर्यटन क्षेत्रबाट ३७ करोड ५७ लाख डलर आम्दानी गरेको थियो । बैंकिङ लगानीपनि त्यतिनै रहेको छ । राष्ट्र बैंको तथ्याकं अनुसार पर्यटन क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको रु. १ खर्व ३७ अर्बको लगानी भएको छ । २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षींसाथ सरकारले अगाडी बढाएको भ्रमण बर्ष २०२० कार्यक्रमले आम नागरिक तथा पर्यटन ब्यवसायीहरुलाई धेरै उत्सहित बनाएको थियो । यो महत्वकांक्षी कार्यक्रम स्थागितले नेपाललाई ठुलो धक्का पुगेको छ र सिन्धुपाल्चोकलाई पनि प्रत्यक्ष प्रभाव पारेको छ । समृद्ध जिल्ला निर्माणका लागि बिभिन्न क्षेत्रहरुमध्ये पर्यटन क्षेत्रलाई अगाडी बढाउने उद्देश्यका साथ जिल्लाका बिभिन्न ठाउँहरुमा स्थानीय सरकारहरुले पुर्वधार तथा प्रचारप्रसारका कार्यक्रमहरु अगाडी सारेका थियो । यसै गरि संघीय, प्रदेश र स्थानीय सरकार, नेपाल पर्यटन बोर्ड, भ्रमण बर्ष २०२० को सचिवालय लगायत अन्य सरोकारवलाहरुको सक्रियतामा भ्रमण बर्ष २०२० लाई लक्षित गरि थुप्रै महोत्सव तथा अन्य कार्यक्रमहरु तय गरिएको थियो ।
नेपालको आन्तरिक पर्यटकीय हबको रुपमा बिकास भएको सुनकोशी र भोटेकोशी नदि आसपासका सबै रिसोर्टहरु अहिले बन्द रहेका छन् । सुकुटे बिज रिसोर्टमा मात्रै अहिले ४० जना कर्मचारी बिना काम बसिरहेका छन् । ४० जना कर्मचारीलाई महिनाको ५० प्रतिशत तलब दिएर खाना खुवाउदा लकडाउन भरि अहिलेसम्म ५ लाख भन्दा बढि खर्च भइसकेको रिसोर्टका संचालक महेन्द्रसिं थापाको भनाइ रहेको छ । यस क्षेत्रमा सुकुटे बिच जस्तै अन्य १० ओटा रिसोर्टहरु रहेका छन् । भ्रमण बर्ष २०२० लाई लक्षित गरि बैैंकबाट करोडौ ऋण लिएर निर्माण गरिएका रिसोर्ट संचालकहरु यतिखेर रुनु न हाँस्नु भएका छन् । मेलम्ची, हेलम्बु, चौतारा, तातोपानी, बाह्रबिसे, मुढे र भोटेकोशी र सुनकोशी खोलाको किनारा गरि जिल्लाभरि ५० भन्दा बढि स्तरीय र सानाठुला गरि १०० भन्दा बढि होटल तथा रिसोर्टहरु संचालनमा रहेका छन् । लकडाउनपछि यि होटलहरु करिब ३ करोड घाटामा रहेको अनुमान लगाउन सकिन्छ भने ५ सय भन्दा बढि कर्मचारीहरु काम बिहिन भएका छन् ।

जिल्लामा निर्माणाधीन योजनाहरुको सुस्त :

जिल्लामा स्थानीय, प्रदेश र संघीय सरकारको लगानीमा महत्वकांक्षी पर्यटकीय आयोजनाहरु निर्माण क्रममा रहेका छन् । गन्जलापास पदमार्ग, हेलम्बु ग्रेट टे«ल, हिमालाय विद्यालय, ओम पार्क, त्रिपुरा सुन्दरीको बुद्ध पार्क, इन्द्रवती बुढी चौर पार्क, तातोपानी धारा ब्यवस्थापन, बाह्रबिसे सुनकोशी योगा केन्द्र, लिसंखु वाफल ताल, मुढे हिल स्टेशन, जुगल ब्राम्हयाणी र मुढे शैलुङ कम्प्लेक्श, नेपाल सरकारको सय ओटा गन्तब्यमा परेको पाँचपोखरी ताल, भैरबकुण्ड मोटरबाटो र भैरबकुण्ड पार्क, दुगुनागढि ब्यवस्थापन, गुफा डाँडा प्रबद्र्धन, गौरतीमाइ मन्दिर ब्यवस्थापन, ह्याङ्ला बुद्ध पार्क निर्माणसँगै जुगल हिमाल आधार क्षेत्रसम्मका पदमार्ग निर्माण क्रममा रहेका छन् । कुनै निर्माण क्रममा रहेका छन् भने कुनै निर्माणका लागि कागजी कामहरुमै रोकिएका छन् । सरकारले निर्माणाधिन योजनाहरु संचालनका लागि अनुमति दिइसकेको छ तसर्थ यि योजनाहरु छिट्ठै अगाडी बढ्नेमा विश्वस्त छौं ।

मिलन तामाङ (पाख्रीन)

कोरोना अन्त्यपछि पुनः त्यही अवस्थामा ल्याउन के गर्ने ?

अन्य जिल्लाहरुको तुलनामा सिन्धुपाल्चोकको पर्यटनमा खासै असर नपर्ने मेरो अनुमान रहेको छ । हालसम्मको अवस्था हेर्ने हो भने जिल्लाको पर्यटक भनेको आन्तरिक पर्यटकनै हो । सिन्धुपाल्चोकमा भ्रमण गर्ने पर्यटकहरु बिशेषतः काठमाण्डौका हुने गर्छन् । यतिखेर काठमाण्डौ उकुसमुकु्स अवस्थामा रहेका छन् । दिनचर्यामा सामन्य अवस्थामा आएपछि रमाइलो तथा मनोरञ्ननै मान्छेको पहिलो प्रथमिकतामा पर्दछ भने काठमाण्डौको उकुसमुकसबाट मुक्त चाहनेहरुको पहिलो गन्तब्य भनेको सिन्धुपाल्चोक नै पर्दछ । २०७२ को भुकम्प पछि जिल्लामा पर्यटनको अवस्था धेरै मानिसले अनुमान गरेको भन्दा फरक देखिएको थियो । भुकम्पपछि आम नागरिकको जिवन सामन्य अवस्थामा आएपछि सोचेको भन्दा धेरै मान्छेको भिडभाड बढेको थियो । त्यसैले सिन्धुपाल्चोकको पर्यटन त्यही अवस्थामा आउन खासै समय लाग्दैन । पर्यटकले जहिलेपनि २ कुरालाई बढि महत्व दिन्छ । त्यो हो सुरक्षाको ग्यारेन्टी र मनोबिज्ञान । स्थानीय सरकार, पर्यटन ब्यवसायी र अन्य सरोकारवलाहरुले यि २ कुरालाई ध्यान दिएर पर्यटनलाई मर्यादित, जिम्मेवार र जवाफदेहीका लागि अहिलेदेखि योजनाहरु बनाउन सकियो भने अन्य जिल्लाको तुलनामा जिल्लाको पर्यटन क्षेत्र रिकभर हुन त्यति निराश हुनुपर्ने अवस्था देखिदैन ।
यो समयमा पर्यटन क्षेत्रमा गर्न सकिने कामहरु
विश्व पर्यटन बजार पुनः सामन्य अवस्थामा आउन कम्तिमा २ बर्ष लाग्ने पर्यटन विज्ञहरुले अनुमान गरेका छन् । यो अवधीमा जिल्लाले निर्माणाधीन योजनाहरुलाई निरन्तरता दिदै बिशेष गरि ५ ओटा योजना तथा कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर पर्यटन गतिविधिहरु अगाडी बढाउन सकिन्छ ।
१. पुर्वधारको निर्माण तथा गन्तब्य पहिचान
२. पर्यटन बजारमा हट न्युज बन्न सकिने उत्पादनको पहिचान गर्दै भ्रमणका लागि आकर्षक योजनाहरु ।
३. कृषि पर्यटनमा जोड
४. मानव संसाधनको बिकास
५. आन्तरिक पर्यटक केन्द्रित कार्यक्रम
पुर्वाधार निर्माण तथा गन्तब्य पहिचान : निर्मणाधीन योजनालाई निरन्तरता दिदै बिशेष गरि ट्रेकिङ मार्गहरुको निर्माणका साथै नयाँ पद्मार्गहरुको पहिचान गर्न अहिले उत्तम समय रहेको छ । यतिखेर पर्यटन क्षेत्रका विज्ञ तथा पर्यटनसँग सम्बन्धित अन्य कर्मचारी (गाइड, सहयोगी) हरु फुर्सदमा रहेका छन् । उहाँहरुलाई रोजगारीपनि हुने बिकासका कामपनि हुने गरि नयाँ नयाँ गन्तब्यको पहिचान सँगै पुर्वाधारका कामहरु गर्न सकिन्छ । गन्जलापासको पदमार्ग, पाँचपोखरी हुदै विश्वको साहसिक पासहरुमध्ये उत्कृष्ट तीलमान पास पार गर्ने मदमार्ग निर्माण, गन्जलापास हुदै पाँचपोखरी जुगल हिमश्रृखंलाको आधारक्षेत्र हुदै भैरबकुण्ड सम्मको साहसिक पदयात्राको पहिचान र बिकास, हिमाल आरोहणका लागि पदमार्ग निर्माण, हेलम्बु क्षेत्रको प्रबद्र्धन, ओख्रेनी च्योच्योडाँडा पाँचपोखरी पदमार्ग निर्माण, मुढे–तौथलीे–टेकनपुरे–ठिङसाङे–घोरथलीे–भौलीकुण्ड, भोटेकाशीे–शेलङकट्टी हुदै तातोपानी निस्किने पदमार्गको निर्माण र बलेफी–शेल्तप डाँडा–नागी डाँडा–ओमपार्क–बुद्धपार्क–छुप्चे खर्क–अम्बखर्क–देउराली–गोलु हुदै भैरबकुण्ड जाने पदमार्ग निर्माण सँगै राफ्टिङका लागि भित्रिने र बाहिरीने स्थानहरुमा लुगा फेर्ने नुहाउने र शौचालयहरुको निर्माण गरिने ।
पर्यटन बजारमा हट न्युज बन्न सकिने उत्पादनको पहिचान गर्दै भ्रमणका लागि आकर्षक योजनाहरु ः जिल्ला तथा स्थानीय पालिकाहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमै हट न्युज हुने खालको गन्तब्य तथा उत्पादनको पहिचान गरि यसको बिकास र प्रचारप्रसार गर्न योजना तय गर्ने । जस्तै हेलम्बु क्षेत्रमा धार्मिक पर्यटकहरुलाई आकर्षक कार्यक्रमहरु ल्याउन सकिन्छ । पाँचपोखरी भैरबकँुण्डमा सहुलियत दरका प्याकेजहरु निर्माण गर्न सकिन्छ । कोरोनाको अन्त्यपछि सागरमाथा लगायत अन्य अग्ला हिमालहरु आरोहणका लागि सहज हुन धेरै समय लाग्ने भएकोले नजिकको गन्तब्यमा रहेको जुगल हिमश्रृंखलाका चुचुराहरु आरोहणका लागि भर्जिन हिमालको नाम दिइ राष्ट्रिय तथा अन्तराष्ट्रिय आरोहीहरुलाई निशुल्क आरोहण प्याकेजहरु निर्माण गर्न सकिन्छ । यसै गरि ने–पेमासालमा राष्ट्रिय अन्तराष्ट्रिय बजारका धर्मलम्बीहरुको सहभागीतामा धार्मिक यात्राहरु गराउन सकिन्छ । एउटै प्याकेजमा एउटा ब्यक्तिले बिग गेम अर्थात कुनै नाम दिएर हिमाल आरोहण, साइक्लिङ, बन्जी, कायाकिङ, राफ्टिङ गर्न सकिने विविध गतिविधिहरुको प्याकेज निर्माण गर्न सकिन्छ । स्थानीय स्तरमा रहेका मेलाहरुको बिशेष प्याकेज निर्माण गर्न सकिन्छ । गाउँहरुको पहिचान गरि साँस्कृतिक गाउँको प्याकेजहरु निर्माण गर्न सकिन्छ । स्थानीय तथा अर्गनिक खाना गाउँको रुपमा प्रचारप्रसार गर्न सकिन्छ ।
कुषि पर्यटनमा जोड : कोरोनाको अन्त्यपछि नेपालमा बिभिन्न क्षेत्रहरुमध्ये उत्पादानको क्षेत्र कृषिलाई प्रथमिकता दिनुपर्छ भनेर जताततै कुरा उठ्न थालेको छ । त्यसैले आउने आर्थिक बजेटमा कृषिलाई प्रथमिकताका साथ बजेट बिनियोजन हुनेमा लगभग पक्का जस्तै भइसकेको छ । सिन्धुपाल्चोकमा करिब ७० प्रतिशत जनता कृषिमा निर्भर रहेका छन् तर हालसम्म निर्वाहमुखी तथा परम्परागत कृषिको कारण अपेक्षित रुपमा कृषिमा ब्यवसायीकरण, अधुनिकिकरण तथा औद्यौगिकिकरण नहुदा कृषकको आयस्तरमा उल्लेख्य सुधार हुन सकेको छैन । कृषि र पर्यटन छुट्टाछुट्ठै क्षेत्रहरु हुन् । हालसम्म यसलाई एकै ठाउँमा समन्वय गरेर कुनै योजना बनेको पाइदैन । कोरोनाले उब्जाएको मात्र हैनकी यो दुबैलाई समन्वय गरेर बिकासको योजना बनाउन सकिएमा कृषि उत्पादनमा सुदृढिकरण र बजारमा प्रभाव पार्नका साथै प्राविधिक बिषय तथा कृषि सूचनाको समेत आदन प्रदान हुन्छ साथै मौलिक नेपाली संस्कृति र सामाजिक सद्भाव बढ्न सकिन्छ । कृषि मात्रै यस्तो क्षेत्र हो छोटो समय तथा कम लागनीमा आफ्नै गाउँ घरमा बसेर सजिलोसँग राम्रो आम्दानी गर्न सकिन्छ । यतिखेर बिदेशी भुमिमा रहेका धेरै नपाली युवाहरु नेपाल फर्किने सम्भावना बढेको छ । यहि अवसरमा नेपाल सरकारले बिशेष योजना सहित ‘‘कृषि पर्यटन र ब्यापार ब्यवसाय गरौ बिदेश नजाउ’’ भन्ने आकर्षक नाराहरु सहित युवा कृषकको कृषिमा सहभागितालाई प्रोत्साहित हुनका लागि कृषिलाई पर्यटनसँग जोड्ने अनिवार्य छ । जस्तै ब्यवसायिक गाइपालन, बाख्रपालन दुध उत्पादन, तारकारी खेति, जडिबुटी उत्पादन, माछापालन, मौरीपालन लगायतका क्षेत्रहलाई बिशेष जोड दिइ सामुहिक लगानीका कार्यक्रमहरु ल्याउने र बिकास विस्तारका लागि आवश्यक पुर्वाधार विकासमा सहयोग गर्ने, ढुवानीको ब्यवस्था, पुर्वाधार निर्माण गाइ गोठ टहरा, कम्पाउण्ड तारवार, उन्नत खालको बिउबिजनको अनुदान, घाँसखेतिमा सहयोग गर्दै यसको बजारको ग्यारेण्टी सरकारले ब्यवस्था गर्ने । रासायनिक मल र बिसादी रहितक गुणस्तरीय खाद्य उत्पादनमा जोड, आत्मनिर्भर सुव्यवस्थाका लागि कार्ययोजना, प्राङगारिक मलको सुब्यवस्था गर्दे सहज बितरण गर्ने, चक्रिय कृषि सडक निर्माण गर्ने । पकेट क्षेत्र घोषणा गर्ने जस्ता योजनाहरु गर्न सकिएमा खाद्य उत्पादन मात्र हैन त्यहाँ अध्ययनका लागि विद्यालय विश्व विद्यालयको विद्यार्थीहरुहरुको अध्ययन केन्द्र समेत बन्न सकिन्छ ।

मानव संसाधन र जनशक्ति

कुनै क्षेत्रको बिकासका बिभिन्न स्रोतहरुमध्ये पहिलो कुरा मानव संसाधान र जनशक्तिको कुरा आउछ । मनाव संसाधनको सही तवरबाट व्यवस्थापन गर्न सकेको खण्डमा मात्र त्यो क्षेत्र फस्टाउदछ । अहिले गाउँका उल्लेख्य युवा शक्ति बिदेशिएका छन् र यहाँ रहेकाहरुपनि अर्धदक्ष जनशक्तिको जमात रहेका छन् । त्यसकारण पर्यटन क्षेत्रमा आवश्यक पर्ने ट्रेकिङ गाइड, राफ्टिङ गाइड, कुक, सहयोगी र भाषामा दक्षता स्थानीय स्तरमा उत्पादन गर्न जरुरी छ । पर्यटन क्षेत्रको सम्बन्धित निकायहरुसँग सहकार्य गर्दै अहिलेको समयमा बिभिन्न तालिमहरुको आयोजना गरि दक्ष जनशक्तिको निर्माण गर्न सकिन्छ ।

आन्तरिक पर्यटक केन्द्रित कार्यक्रम :

कोरोनाको अन्त्यपछि सरकारले सम्पूर्ण सरकारी तथा निजी क्षेत्रका कर्मचारीलाई एक महिनाको तलब सहित घुम्न पठाउने योजना अगाडी सारेको छ । अहिले अन्नपुर्ण सर्किट, मुस्ताङ, म्याग्दी, घोरेपानी, पुनहिल लगायत अन्य पदमार्गहरुमा नेपाली पर्यटक ह्वत्तै बढेका छन् । यसैत सिन्धुपाल्चोक आन्तरिक पर्यटकका लागि महत्व गन्तब्य बनिसकेको छ । बिदा र फुर्सदको समयमा छुट्ठी मनाउन जिल्लाका हेलम्बु, पाँचपोखरी मेलम्ची आसपास, तातोपानी, सुनकोशी र भोटेकोशी नदिको छेउछाउ हजारौ पर्यटकहरु आउने गरेका छन् । कोलाहल काठमाण्डौ, कोरोनाबाट उकुस्मुकुस र ब्यस्त जीवनबाट केहि दिन टाढिएर पदयात्रा, गाउँ बस्ति घुमघाम र राफ्टिङ गर्न आउने कर्मचारी, ब्यवसायी र कलेजका विद्यार्थीहरुनै मुख्य पर्यटकहरु हुन् । कोरोनाको अन्त्यपछि सरकारले ल्याएको योजना अनुसारका पर्यटकहरुलाई जिल्लामा भित्र्याउन गन्तब्यहरुको पहिचान गरि त्यसको प्रचारप्रसार गर्न तत्पर हुनुपर्दछ । बिशेष गरि स्थानीय सरकारहरुले आ–आफ्ने पालिका भित्र रहेकन गन्तब्यहरुको पहिचान गरि होम–स्टे हरुको संचालन गर्ने स्थानीय खानपिन, मठ मन्दिर, मेला महोत्सवहरुको ब्रोशियरहरु प्रकाशित गर्दै घुम्न पर्यटकहरुका लागि बिशेष आकार्षित योजनाहरु ल्याउन सकिएमा सिन्धुपाल्चोक आन्तरिक पर्यटकहरुको महत्वपुर्ण गन्तब्य हुनेमा पक्का छ ।

कोरोना अन्त्यपछि नेपाल सरकारको तयारी

दुइ महिनाको छुट्ठी : अहिले महामारीबाट शिथिल भएको पर्यटनलाई पूर्ववत् अवस्थामा ल्याउन नेपाल सरकारले बिभिन्न सकरात्मक योजनाहरु सारेका छन् । महामारीको अन्त्यपछि सरकारले सम्पूर्ण सरकारी तथा निजी क्षेत्रका कर्मचारीलाई एक महिनाको तलब सहित घुम्न पठाउने योजना अगाडी सारेको छ साथै नेपाल भारतले आपसी सहकार्य समन्वयमा पर्यटन योजनाहरु अगाडी ल्याउने तयारी गरिरहेको छ । जसरी चीन पर्यटन क्षेत्रलाई राहत स्वरुप सरकारले हप्ताको २ दिन छुट्ठी दिएको छ ।
रिलिफ प्याकेज ः पर्यटन ब्यवसायीहरुले सबै होटल तथा रिसोर्टहरु बैंकमा ऋण लिएर संचालन गरेको हुन्छ । यो अवस्थामा होटल तथा रिसोर्टहरुले कमाउन सकिने कुरा भएन र ऋण तिर्न सक्ने कुरा भएन । त्यसैले यस्ता ब्यवसायीहरुको पहिचान गरि केहि समय ऋण, ब्याज तथा किस्ता तिर्ने समय अबधि लम्ब्याउने र अन्य ब्यवस्था सहित एक मुष्ठमा प्याकेज ल्याउने तयारी गरिएको छ ।
यसैगरि नेपाल पर्यटन बोर्डलेपनि लकडाउने खुल्ने बितिकै १ हजार ८ सय कामदारलाई रोजगारी दिने कार्यक्रमहरु ल्याउने तयारीमा रहेको छ । नेपाल सरकार, पर्यटनसँग सम्बधित संघसंस्था यसैगरि बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सामाजिक संघसंस्थाको सहकार्यमा पर्यटन क्षेत्रमा आवद्ध कर्मचारीहरुलाई हिमाल सरसफाइ लगायत अन्य कामहरु लगाउने योजना रहेको नेपाल पर्यटन बोर्डका निमित्त निर्दशक लिला बाँनियाले जानकारी दिएको छ र यहि लकडाउनको समयमा फोन र इमेल मार्फत सिन्धुपाल्चोक पर्यटन उत्पादन पहिचान र बिकास प्रोफाइलहरु निर्माण भइरहेको छ ।

पर्यटन विज्ञहरुको सुझाब :

१. तत्काल पर्यटन रिकभरी कमिटीको निर्माण गर्ने ।
२. तत्काल कम्तिमा ६ महिनाको स्पष्ट योजनाको आवश्यक ।
३. अन्तराष्ट्रिय समाचार बन्नसक्ने उत्पादनहरुको पहिचान गरि अन्तराष्ट्रिय बजारमा आक्रमक योजनाहरुको तयारी गर्ने ।
४. ब्यवसायीलाई २० लाख भन्दा माथी सहुलियत ब्याज सहितको ऋण उपलब्ध गराउने ।
५. कतिपय उद्योगहरुमा कर छुट गरि ब्यवसायीलाई प्रोत्साहित हुने खालको कार्यक्रमहरु ल्याउने ।
६. ब्यवसायीहरुलाई पर्यटनलाई पहिलाकै अवस्थामा ल्याउन कोरोनाको संक्रमणबाट बिचलित नभइ आन्तिरक पर्यटनको प्रर्बद्धनमा लाग्न अनुरोध ।
७. चीनमा अहिले कोरोना कम हुदै गएको छ र युरुपियन राष्ट्रहरुमा चीनिया पर्यटकहरु जाने अवस्था तत्काल नरहेकोले चीनियाँ पर्यटकलाई नेपाल भित्र्याउन तत्काल योजना तथा कार्यक्रम तय गर्नुपर्ने ।अबका आउने दिनहरुमा ब्यवसायीहरुले अनिवार्य मास्क, पन्जा, स्यानिटाइजजरको ब्यवस्था गर्ने होटल सुरक्षित छ भन्ने सन्देश दिने, आवश्यक सुरक्षाको ग्यारेन्टी र मनोबिज्ञानलाई ध्यान दिइ पर्यटनलाई मर्यादित, जिम्मेवार र जवाफदेहीका लागि अहिलेदेखि योजनाहरु बनाउन सकियो भने अन्य जिल्लाहरुको तुलनामा सिन्धुपाल्चोकको पर्यटन क्षेत्र रिकभर हुन त्यति निराश हुनुपर्ने अवस्था देखिदैन । जय पर्यटन ।
        सुरक्षित रहनु । ब्यस्त रहनु । आनन्दित रहनु ।

प्रतिक्रिया दिनुहोस्