२०८१ श्रावण १२
                           

जनचेतना जगाउँदै कांग्रेस गाउँमा

जनचेतना जगाउँदै कांग्रेस गाउँमा

चौतारा – प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसविरुद्ध लड्न पार्टी संगठनलाई गाउँगाउँमा परिचालन गरेको छ । सिन्धुपाल्चोक कांग्रेसले आफ्ना मातहतका सबै कमिटीलाई योजनाबद्ध रुपमा कार्यक्षेत्रमा खटाएको हो ।
जिल्ला सभापति विकास लामा स्वयम् गाउँमा खटिएका छन् । १० दिनअघि जिल्ला कमिटी सदस्य र सबै भ्रातृ संगठनका प्रमुखहरुसँग भिडियो कन्फेरेन्समार्फत् निर्देशन जारी गर्दै महामारीको दुःखद समयमा जनतासँग मिलेर काम गर्न जिल्ला पार्टीले सबैलाई काममा खटाएको सभापति लामाले जानकारी दिए ।
जिल्ला सभापति लामा नवलपुर क्षेत्रमा रहेर कार्यकर्तालाई परिचालन गरिरहेका छन् । ‘हाम्रो पार्टीले अलपत्र परेका जिल्लावासीलाई घर ल्याउने काम गरेको छ । हामीले अन्यत्र रहेकालाई खानबस्नको प्रवन्धसमेत गरेका छौं,’ उनले भने, ‘सिन्धुवासी जुन जिल्लामा भएपनि त्यहाँको पार्टी कमिटीसँग समन्वय गरेर उनीहरुको समस्या समाधान गरिएको छ ।’ हुम्ला, जुम्ला, जाजरकोटलगायत जिल्लामा डोजर चलाउने र विभिन्न काममा रहेर अलपत्र परेका सिन्धुवासीलाई जिल्ला फर्काउन सहयोग गरेको उनले खुलाए ।
त्यसैगरी नेपाली कांग्रेसले जिल्लाभर जनचेतना जगाउने, कोरोना कहरसँग जुध्न विभिन्न उपाय सिकाउने काम गरेको छ । सभापति लामाले दिएको जानकारीअनुसार जिल्लाभर रहेका सबै कमिटीलाई सामाजिक दूरी कायम गर्दै जनताको दुःखमा काम गर्न परिचालन गरिएको छ । कांग्रेसले जिल्लाका विभिन्न स्थानमा पार्टी कमिटीका नेताकार्यकर्तालाई परिचालन गरेर स्थानीय तहले गरिरहेको कामको स्थितिलाई नियालिरहेको छ ।
प्रतिनिधिसभा–१ मा कांग्रेस बढी सक्रिय
नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं. १ का सभापति बालकृष्ण बस्नेतले दिएको जानकारीअनुसार बाह्रबिसे केन्द्रबिन्दु बनाएर कांग्रेसले थुप्रै काम गरेको छ । सबैभन्दा पहिला राज्यले नै उपलब्ध गराउन नसकेको पीपीइ सेट, थर्मल गनलगायत कोरोना भाइरसबाट सुरक्षित रहन आवश्यक स्वास्थ्य सामग्री पार्टी केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले जिल्ला भित्र्याएका थिए । केन्द्रीय सदस्यले गरेको काममा क्षेत्रीय कमिटी परिचालित भएको बस्नेतले बताए । ‘बाह्रबिसे नगरले पूर्वतयारीका लागि काम नथाल्दै हामी जनताको बस्तीबस्तीमा पुगेर सानिटाइजर, मास्क, साबुन वितरण गरेर जनचेतना जगाउने काममा क्रियाशील भयौं,’ बस्नेतले भने, ‘हाम्रो पार्टी कोरोना भाइरसविरुद्ध संघर्ष गर्न फ्रन्ट लाइनमै छ र सँधै रहिरहन्छ ।’
क्षेत्र नं. १ मा स्वास्थ्य सामग्री र अतिविपन्न अवस्थामा रहेका ५१ मजदूरलाई राहत वितरण गर्दा नेकपा सरकारले विभिन्न आरोपमा लखेट्न खोजेको प्रति दुःख लागेको उनले बताए । ‘मानवीयताको आधारमा अत्यावश्यक काम गर्दा सरकारी पक्षले त्यसो गर्न नहुने थियो,’ उनले भने । स्वास्थ्यकर्मी, सुरक्षा निकाय, सञ्चारकर्मी र एम्बुलेन्स चालकलाई पीपीइ सेट प्रदान गरेको उनले जनाए । कोरोना भाइरस संक्रमणबाट बच्न सरकारले जारी गरेको लकडाउनलाई सबैले पालना गर्नुपर्नेमा उनले जोड दिए । क्षेत्रभर रहेका सर्वसाधारणको अवस्था हेरेर समस्यामा परेका जोकोहीलाई पार्टीले आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग गर्ने रणनीति रहेको उनले जनाए । ‘जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको छैन यो सुखद पक्ष हो,’ उनले भने, ‘कोरोनासँग जुध्न हाम्रो पार्टी तयार छ । कम्तीमा १५ वटा गाडी स्ट्याण्डबाइ राखेका छौं ।’

प्रतिक्रिया दिनुहोस्