२०८१ श्रावण १२
                           

खाजा के खाने होला ?

-पार्वती श्रेष्ठ

मेरो थालमा पुरी तरकारी हुदा, मलाई नाक लागेको छ
ती परिवार सम्झदै जस्ले भरेको छाक टार्न विहान खोले खाए

आजको खाजा के खाने भन्दै फेसबुक हेर्दै गर्दा
परीकारहरुले जिस्काए झै लाग्छ
आज तारेको, भोली उसिनेको
पर्सी गे्रभि तरकारी चिउराको पालो छ
खीर, पुरी, मासु तरकारी, नेवारी स्टाईल
विदेसी स्टाईल आज मसालेदार भोली सादा
वाह बन्दाबन्दी, परिवारसंग क्वालिटी टाईम
बर्षौका पुरा नभएका रहर
सासुससुराको आज्ञाकारी बुहारी
छोराछोरीको प्यारा अलराउन्डर
श्रीमानको पुरा अर्धांगीनी
छत कौसी, बरान्डा, भान्छा, बगैचा
टिभी, फेसबुक, स्काईप, जुम, अनलाईन
अफिस नै घर, घर नै अफिस
वाह बन्दाबन्दी
यस्तै यस्तै गनथन मन्थन
दिन बित्दै छ वा हामी बित्दै छौँ
मान्छे घरमा सबै बाहिर, हिमाल देखियो प्रकृती देखियो
सरकार देखियो, सुचना आयो
जनहितमा जारी सुचना जो जहाँ छ त्यही बस्नुहोला
परिवार जो परिवार संगै बस्न सक्दैनन
संगै छन् तर संगै छैनन्
घर हिडेका विजोडी चप्पलहरु
एउटै कोठाका घरहरु
एक बोरा चामल, एउटा साबुनका कथाहरु
घर भन्दा बेघरका कथाहरु
छिमेकीका शंकास्पद हेराईहरु
घरबेटीको हरेक क्षणको टोकेसो
स्कुलका क्वारेन्टाईन अनि बेन्चका खाटमा बितेका डरलाग्दा रात हरु
आइसोलेसनको अत्यासलाग्दा क्षणहरु
आहत दिने राहतहरु
सामाजिक दुरीको दुरता
यस्तै यस्तै गन्थन मन्थनहरुले जिस्काईरहेका छन् मलाई
यस्तै यस्तै समाचारहरुले जिस्काईरहेका छन् मलाई
अहो तीन पो बजिसकेछ,
खाजा के खाने होला मिठ्ठो,
चटपटा, नाक नलाग्ने खालको ।

प्रतिक्रिया दिनुहोस्