२०८१ श्रावण १२
                           

हामी नारी

कानुनको हिसाब किताबमा
नदेखिएको म
समाजको पुरानो आवरणले
छेकीएकी देख्छु म
तिमी त भन्छौ भाग्य खोटो हो मेरो
खुशी छोटो हो मेरो
म देख्छु पुरुषको अहमताले
आफ्ना विचारमा
स्वाधिनता अप्नाउँदै समाजले दिएको साथ
त्यही धरातलमा मात्र परेको तिमी ।

जन्मनु पूर्व भ्रुणमै
छोरीको आकार लिएर
त्याग्नु परेको सास
हुर्कँदै गर्दा गलत नजर लगाउँदै
जीवनको कोपिलैमा झर्नेहरु माझ
अहँ देख्दिन यहाँ
सम्मान छोरी जन्माएको भरमा
र, त सधैं भोगि रहन्छु अपमान
जुन पीडामा बाँचिरहेका हुन्छन् आमाहरु
त्यही बेला मरिरहेको देख्छु नारीहरु ।

जन्म पूर्व मारिए कति
जन्मिएर अनि अन्मिएर पनि
कसरी फरक देख्छौ ए ! नर पशुहरु
अस्मिता लुट्दै अरुको खुशी चुँडदै
कुन आधारमा देख्छौ
तिमी जस्तै त हुन् नारी
कसरी सोँच्छौ
अबला र कमजोर तिमीले भारी ?

आधा आकाश ढाक्ने हे ! नारीहरु
तिमीले युगको संवाहक बनेर
समाज परिवर्तन गर्नुछ
लैङ्गिक विभेद उखेल्दै
नयाँ यात्राको थालनी गर्नुछ
सामाजिक विभेद निर्मुल गर्दै
नयाँ बिहानी ल्याउनु छ
त्यसैले आऊ बाचा गरौँ
हामीले यो यात्रा एक साथ गर्नुछ ।
०००

प्रतिक्रिया दिनुहोस्