२०८१ श्रावण १२
                           

भोटेकोसी चेम्बर अफ कमर्स गठन

भोटेकोसी चेम्बर अफ कमर्स गठन

तातोपानी- छिमेकी देश चीनसँग सीमाना जोडिएको अन्तर्राष्ट्रिय नाका तातोपानीमा नेपाल चेम्बर अफ कमर्सको भोटेकोसी शाखा गठन भएको छ । यहाँको व्यापार र सामाजिक विकासमा क्रियाशील युवालाई फेमेली गेष्ट हाउसमा भेला गरेर चेम्बर गठन गरिएको हो ।
भेलाले लामो समयदेखि नाकाको व्यापारमा सक्रिय स्थानीय फुर्पा शेर्पा (फुनु) को अध्यक्ष रहेको १७ सदस्यीय भोटेकोसी चेम्बर अफ कमर्स गठन गरेको छ । चेम्बरमा राकेश शेर्पा उपाध्यक्ष, लाक्पा शेर्पा सचिव, पेम्बा शेर्पा सहसचिव, विजय शेर्पा कोषाध्यक्ष र हेम गुरुङ सहकोषाध्यक्ष रहेका छन् । त्यसैगरी सुन्तलीमाया थिङ, अर्जुन श्रेष्ठ, फुर्पा शेर्पा, कैलाश रजैली, निमादोर्जे शेर्पा, सुब्बा तामाङ, गणेश श्रेष्ठ, ठिण्डु शेर्पा, चेङा शेर्पा, आशा गुरुङ र अजय गुरुङ चेम्बरका सदस्य छन् ।
भेलामा भोटेकोसी गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पा र नेकपा भोटेकोसीका अध्यक्ष आङ्छिरी शेर्पाले व्यापार–व्यवसायलाई विकास गरेर सहजीकरण गर्न चेम्बर शाखा सफल हुने विचार व्यक्त गरे । नेकपा जिल्ला सदस्य राजु घतानी र नेतृ सुन्तलीमाया श्रेष्ठले कार्यसमितिलाई शुभकामना दिँदै व्यापार व्यवसाय विस्तारका बारेमा धारणा व्यक्त गरेका थिए । भेलाले तातोपानीमा क्रियाशील विभिन्न व्यापारिक संघसंस्थाले बिगत र अहिले गरिरहेको गतिविधिको पनि चर्चा र आलोचना गरेको थियो । युवाद्वय फुर्निमा शेर्पाको सञ्चालन र निमासोना शेर्पाको स्वागत भाषणमा भेला सम्पन्न भएको थियो । चेम्बरले सीमाको व्यापार सहजीकरण र स्थानीय सरकारको राजस्व परामर्श समितिमा रहेर काम गर्ने छ । भेलालाई सिन्धुपाल्चोक चेम्बर अफ कमर्सका अध्यक्ष दिनेश श्रेष्ठ र कोषाध्यक्ष ग्याल्साङ शेर्पाले पत्रमार्फत् बधाइ तथा शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्