२०८१ श्रावण १२
                           

मेलम्ची नगरपालिकाको छटौं नगरसभा सम्पन्न

मेलम्ची नगरपालिकाको छटौं नगरसभा सम्पन्न

मेलम्ची नगरपालिकाको नगरको छैटौं नगरसभा सम्पन्न गरेको छ । आज मेलम्चीमा भएको छौटौं नगरसभाले आगमी योजना सहित ३ वटा कानुन निर्माण गरेको छ । नगरको हिउँदे अधिवेशनले संस्था ऐन, फोहोर व्यवस्था ऐन र स्वास्थ्य ऐन निर्माण गरिएको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले बताउनुभयो । ‘यो हाम्रो नियमित नगरसभा हो, नगरका आगमी योजना र केही ऐन पास गरेका छौं’, नगर प्रमुख अर्यालले बताउनुभयो ।
नगरले गर्ने केही योजनाहरुलाई क्रमागत आयोजनाको रुपमा लिएको नगर प्रमुख अर्यालले बताउनुभयो । उहाँका अनुसार नगरले नगरसभाबाट मेलम्ची ग्रिनसिटी निर्माण, फोहोर व्यवस्थापन र बसपार्क निर्माण लगाएतका योजनाहरु रहेको उहाँले जानकारी दिनुभयो । बहुवर्षीय नगरका उक्त योजनाहरुले नगरले क्रमिक रुपमा सुधार गर्ने उहाँले सुनाउनुभयो । उहाँका अनुसार नगरले आगमी ०७६÷०७७ भित्र १, २ र ५ नम्बर वडा कार्यालय निर्माणको चरणमा रहेको नगरप्रमुख अर्यालले जानकारी दिनुभयो । त्यस्तै नगरले वडा नम्बर ४ को सिन्धुकोटमा चारसय रोपनीमा एकीकृत बास्मति धानखेती तथा वडा नम्बर १३ मा एकहजार रोपनीमा सामुहिक खेती गर्न लागिएको समेत नगरसभामा जानकारी गराउनुभयो । छैटौं नगरसभाको नगर प्रमुख डम्बर अर्यालले उद्घाटन गर्नुभएको थियो । नगरसभामा नगर प्रमुख डम्बर अर्यालले आर्थिक वर्ष २०७६÷०७७ को संशोधित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।


नीति कार्याक्रम पछि नगर प्रमुख अर्यालले नगरका योजनाहरुलाई लागु गर्ने दायित्व नगरका सम्पूर्ण सदस्यहरुको भएकोले सो को दायित्व बोध गर्नुपर्ने धारणा राख्नुभएको थियो । सभामा नगरबासिका काममा जिम्मेवार र जवाफदेही भएर काम गर्न नगर प्रमुख अर्यालले जनप्रतिनिधिहरुलाइ आग्रह गर्नुभयो ।
यस्तै आगामी वर्ष कामको मूल्याङ्कनको आधारमा उत्कृष्ट वडाध्यक्ष तथा सदस्यहरुलाई एकलाख रुपैयाँ पुरस्कार प्रदान गर्नुको साथै सम्बन्धित वडामा २ लाख बराबरको योजना थपगरी पुरस्कृत गरिने कार्यक्रम रहेको समेत उहाँले जानकारी दिनुभयो ।
नगरसभामा वडाध्यक्ष रुद्रप्रसाद दुलालले विधायन समितिको अर्धबार्षिक प्रतिवेदन, वसन्त गुरुङले वन वातावरण तथा विपद ब्यबस्थापन समितिको अर्धबार्षिक प्रतिवेदन, वडाध्यक्ष सुदर्शन लुइँटेलले सँस्थागत विकास तथा सेवा प्रवाह समितिको अर्धबार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


त्यस्तै वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले सामाजिक विकास समितिको अर्धबार्षिक प्रतिवेदन , वडा अध्यक्ष जितराज थापाले पूर्वाधार विकास समितिको अर्धबार्षिक प्रतिवेदन र वडा अध्यक्ष कृष्ण प्रसाद चौलागाइले आर्थिक विकास समिति र लेखा समितिको अर्धबार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नगरसभा सदस्यहरुले राखेका जिज्ञासाका सन्दर्भमा नगर उपप्रमुख भगवती नेपालले आफ्नो धारणा राख्नुभएको थियो । नगरसभामा उपप्रमुख नेपालले आर्थिक वर्ष २०७६÷७७ को विनियोजन ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक संशोधन सहित पेश गर्नुभएको थियो ।

(रेडियो मेलम्चीबाट)

प्रतिक्रिया दिनुहोस्