२०८१ श्रावण १२
                           

जुगलमा बाल विवाह विरुद्ध न्यायिक समिति सक्रिय

जुगलमा बाल विवाह विरुद्ध न्यायिक समिति सक्रिय

ढाडे- सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा दुर्गम हिमाली गाउँपालिका हो जुगल । स्थानीय नयिक समितिले आफुलाई प्राप्त न्यायिक अधिकारको प्रयोग गर्न नसकेको गुनासो आईरहेका बेला जुगल गाउँपालिकामा भने दिन दिनैबाल विवाह र लैंगिक हिंसाका घटनाहरु बढ्न थालेपछि गाउँपालिकाको स्थानीय न्यायिक समितिले यस विरुद्ध २ महिना लामो व्यापक अभियानै बनाएर परिचालित भएको छ ।
गाउँपालिकाका सातवटै वडामा महिला हिंसा र दुव्र्यवहार छैन हामीलाई स्वीकार भन्ने मुल नाराका साथ स्थानीय न्यायिक समितिले जनचेतना फैलाउँने उद्देश्यका साथ यस्तो अभियान बनाएको पालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक सिर्जना तामाङको दावी छ ।
पालिकाका प्रत्येक वडामा हप्ताको शुक्रबार यस अभियान अन्र्तगत स्थानीय कलाकारहरुको नाटक सहितको सांस्कृति प्रस्तुति राखिएको छ । यस क्रममा पालिका भित्रका विद्यार्थी, आमा समुह, किशोर किशोरी समुह बीचमा बाल विवाह र लैंगिक हिंसाको विरुद्धका सन्देश सहितको बृहत प्रतियोगितात्मक सांकृतिक कार्यक्रम समेत समावेश गरिएको छ । कार्यक्रमका क्रममा लैंगिक हिंसा र बाल विवाह बिरुद्ध नेपालमा हाल प्रचलनमा रहेका कानुनी व्यवस्थाहरुको विषयमा सिन्धुपाल्चोक जिल्ला वारका सदस्य अधिवक्ता शशिनाथ आचार्यले चर्चा सबै वडामा बताउँने गरेका छन् । उक्त अभियानमा कलाकार इश्वरीप्रसाद अधिकारी, सुरेन्द्र गिरी लगायतले सडक नाटक तथा लोक गितहरु मार्फत बाल विवाह र लैंगिक हिंसा अन्त्यको आवाज उठाउँदै आएको बताईन्छ ।
बालबालिकाको आफ्नै सहभागिता र संलग्नताले मात्रै बाल विवाह विरुद्धको यो अभियान सफल हुने उपाध्यक्ष तामाङको भनाई छ । मुलतः तामाङ समूदायको बाहुल्यता रहेको यो गाउँपालिकामा सानै उमेरमा आफ्ना छोराछोरीको विवाह गरिदिने, स्कुल पढ्दापढ्दै केटाकेटीहरु बीचैमा विवाह गरी भाग्ने घटना दिनानुदिन बढ्दै जान थालेकाले स्थानीय सरकारकै तफैबाट यो अभियान अघि बढाउँनु परेको स्थानीय शिक्षकहरुको भनाई छ ।
जुगल गाउँपालिका स्थानीय न्यायिक समितिको आयोजनामा वडा कार्यालय र वडा स्तरका सामुदायिक मेलमिलाप केन्द्रको समन्वयमा गत पौष ४ गते शुक्रबार पालिकाको वडा नं. १ सेलाङबाट सुरु गरिएको कार्यक्रममा स्थानीय राजनीतिक दलका नेता कार्यकर्ता, विभिन्न संघसंस्था, आमा समुह, बाल, किशोरी र युवा समुहले समेत यस अभियानप्रति आफ्नो ऐक्यबद्धता जनाउँदै आएका छन् । फरक फरक वडामा फरक शैलि सहित सु भएको कार्यक्रम अन्तरगत हालसम्म पालिकाका ७ मध्ये ४ वटा वडामा यस्तो प्रकृतिको कार्यक्रम सञ्चालन भईसकेको उपाध्यक्ष तामाङको भनाई छ । उनका अनुसार सामाजिक विभेद, विकृति, विसंगति, लैंगिक र घरेलु हिंसाको अन्त गरि बाल विवाह मुक्त गाउँपालिका निर्माणका लागि यो अभियान आवश्यक भएको हो ।
मेलमिलापका माध्यमबाट स्थानीय स्तरका सानातिना विवादको निरुपणमा सक्रिय जुगलको स्थानीय न्यायिक समितिले यसपटक भने विवादको मुल जरो अज्ञानता, अन्धविश्वास, सामाजिक विभेद र बाल विवाह भएको निष्कर्ष सहित त्यसलाई समाप्त नपारेसम्म सभ्य समाज निर्माण हुन नसक्ने भएकोले यो कार्यक्रम बनाएको हो । १२ स्थानीय तहमध्ये न्यायिक समितिको पहलमा यस प्रकारको अभियान सञ्चालन गर्ने जुगल पहिलो पालिका बनेको छ । जुगलमा बाल विवाह विरुद्ध न्यायिक समिति सक्रिय
अभियान अन्तरगत गत पौष ४ गते वडा नं. १ को सेलाङमा, ११ गते वडा नं. २ गोल्चेको बैगुण्ठेमा, १८ गते वडा नं. ३ गुम्बाको पाङ्गर्पुमा र २५ गते वडा नं. ४ पाङताङको कालिदेवी माविमा वृहत कार्यक्रम सम्पन्न भएका छन् । कार्यक्रमहरुमा नेकपाका स्थानीय र केन्द्रीय नेताहरुको समेत सहभागिता रहदै आएको छ ।
बाल विवाह र लैंगिक हिंसा विरुद्धको प्रतियोगितात्मक कार्यक्रम अन्तरगत वडा स्तरबाट छनौट भएका ७ टीमको बीचमा पालिका स्तरमा प्रतिस्पर्धा गराएर त्यहाँबाट उत्कृष्ट छनौट हुने टोलीलाई पालिकाका प्रत्येक बस्तीमा परिचालन गर्ने लक्ष्य रहेको पालिकाका न्यायिक समिति सदस्य भिमबहादुर सिलवाल बताउँछन् । यस प्रकारको चरणबद्ध कार्र्यक्रमले एकैपटक हजारौं मानिसका बीचमा एकसाथ जनचेतना छर्न सफल भएको र त्यो पनि आफ्नै छोराछोरी मार्फत प्रत्येक अविभावकका बीचमा । उपाध्यक्ष तामाङ कार्यक्रम आफुले सोचेभन्दा प्रभावकारी ढंगले अघि बढेको दावी गर्छिन ।
गाउँपालिकामा गतवर्ष कानुनी छलफलका क्रममा पुग्दा केटाकेटी सानै उमेरमा आफैआफैं विवाह गरेर कक्षा छोडि भाग्ने गरेको गुनासो आएपछि यो समस्या स्वयं विद्यार्र्थीलाई परिचालन गरेर मात्रै हल गर्न सकिन्छ भनेर आफुले त्यतिबेला दिएको सुझाव अनुरुप यसप्रकारको अभियान बनाएकोमा अधिवक्ता शशिनाथ आचार्य खुसी व्यक्त गर्दै अभियानमा आफुले सक्दो सयहोग गर्ने प्रतिबद्धता जनाए ।
अभियान अन्तगत बाकी ३ वडा मध्ये आगामी माघ ३ गते शुक्रबार बराम्चीको ढाडेमा, १० गते शुक्रबार वडा नं. ६ मा र १७ गते शुक्रबार वडा नं. ७ को याङ्लाकोटमा वडा स्तरीय कार्यक्रम सम्पन्न हुने गाउँपालिकाको कानुनी सहजकर्ता दिपा सिलवालले बताइन् । उनका अनुसार वडा स्तरीय कार्यक्रम सम्पन्न भएपछि पालिका स्तरीय कार्यक्रम तय गरिने छ । कार्यक्रममा प्रकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल सिन्धुपाल्चोकको समेत सहयोग रहेको बताइएको छ । कार्यक्रममा विद्यालयमा अध्ययनरत बालबालिका नै स्व स्फुर्त रुपमा परिचालित भएकाले पालिकाबाट छिट्टै बाल विवाह र लैंगिक हिंसा अन्त हुने विश्वास बढेको सबै कार्यक्रममा सहभागि कलाकार इश्वरीप्रसाद अधिकारीले बताए ।
उक्त कार्यक्रम अन्तरगत नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा, दावा लामा, प्रदेश सदस्य अमृता नेपाल, गाउँपालिकाका अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले सहभागिता जनाउँदै वाल विवाह र लैंगिक हिंसा अन्त गर्ने प्रतिबद्धता पत्रमा हस्तास्क्षर गरिसेका छन् । उक्त प्रतिबद्धता पत्रमा सयौं स्थानीय व्यक्तिहरुले समेत हस्ताक्षर गरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्